निर्वाचन आयोगले प्यूठान जिल्लाबाट नेकपा (एमाले)का तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापालाई स्पष्टीकरण साेधेकाे छ।
मीनबहादुर बुढा (भेलुबाजे) लाई दुई हजार दिई आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने व्यहोराको समाचार प्रकाशन भएको प्रति आयोगको ध्यानाकर्षण भई स्पष्टीकरण साेधिएकाे हाे।
स्पष्टीकरणमा भनिएकाे छ: उपराेक्त बमाेजिम निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होइन ? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो ? यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना ecn.ppm@election.gov.np मा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार निर्देशन दिइएकाे छ।