विराट नर्सिङ होम प्रा.लि.ले समय अगावै जन्मिएका (प्रि टर्म) बच्चाहरुको उपचार विषयक सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
बिहीबार प्रि टर्म बच्चासम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा अस्पतालले सचेतना कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रमलाई उद्घाटन गर्दै विराट मेडिकल कलेजका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले समय नै नपुगी बच्चा जन्मनु आफैँमा जोखिम भएको बताए।
प्रकृतिले त्यस्ता बच्चाहरुलाई पनि यो संसार देख्न र केही गर्नकै लागि जन्म दिएको बताउँदै त्यस्ता बच्चाहरुको शारीरिक परिपक्क नहुने हुँदा राम्रो स्वास्थ्य उपचार आवश्यक हुने कार्कीले बताए।
समय अगावै जन्मिएको बच्चालाई राम्रोसँग उपचार गर्ने हो सजिलै बचाउन सकिने विराट नर्सिङ होमका बालरोग विशेषज्ञ डा. दिपराज उपाध्याय अधिकारीले जानकारी दिए।
अधिकारी प्रि टर्म बच्चासम्बन्धी सुपरस्पेसियालिष्ट डाक्टर हुन्। गएको १९ महिनाको अवधिमा विराट नर्सिङ होममा ३०० जना त्यस्ता बच्चाहरुको उपचार गरिएको उनले बताए। अस्पतालले ७०० ग्रामसम्मको बच्चाको सफलतापूर्वक उपचार गरेको उनको भनाइ छ।
अस्पतालमा प्रविधियुक्त लेभल फोर नवजात शिशु सघन उपचार कक्ष भएकाले त्यस्ता बच्चाहरुको उपचार सहज भएको डा. अधिकारी बताउँछन्। त्यसरी जन्मिएका सबै बच्चाहरुलाई भेण्टिलेटर आवश्यक नहुने उनको भनाइ छ।
भेन्टिलेटरको प्रयोगले कहिलेकाहीँ बच्चाहरुको आँखा तथा कानमा समस्या आउनसक्ने भएकाले भरसक भेन्टिलेटरको विकल्पमा अन्य उपचार विधिको मेहेनतका साथ प्रयोग गरिने उनले बताए।
उनका अनुसार त्यस्ता बच्चाहरुको उपचारमा डाक्टर तथा नर्सिङ स्टाफहरुले अन्यन्तै सावधानीपूर्वक मेहेनत गर्नुपर्दछ। विराटमा त्यस्ता बच्चाहरुको उपचारमा बच्चाको अवस्था र अस्पताल बसाइको अवधिका आधारमा २ देखि ३ लाख रुपैयाँसम्म खर्च हुनसक्ने अस्पतालले जनाएको छ।
समय अगावै जन्मिएका बच्चाहरुको मृत्युदर २०-२५ प्रतिशत भएपनि विराटमा भने ६ प्रतिशत मात्र रहेको डा. अधिकारीले बताए। उनले भने, ‘समग्रमा हामी सेफ छौँ।’
कार्यक्रममा आँखा रोग विशेषज्ञ डा. ललित अग्रवाल, नर्सिङ्गहोमका डाइरेक्टर डा. सुशिल तपरिया, प्रशासन प्रमुख पदम बिनाडीलगायतले मन्तव्य राखेका थिए।