संसदीय व्यवस्थाको अन्त्य चाँडै हुँदैछ : सन्तोष बुढा (अन्तर्वार्ता)

उमेश थापा

काठमाडौं

देश यतिबेला आम निर्वाचनमा केन्द्रित छ। पाँच वर्षपछि नेताहरु विभिन्न एजेण्डासहित चुनावी अभियान लिएर जनताको घर–घरमा पुगेका छन्।

तर, यही माहोलमा विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चुनाव बिथोल्ने औपचारिक निर्णयसहित मैदानमा उत्रिएका छन्।

अधिकांश नेपाली जनताहरु र राजनीतिक दलका नेताहरु निर्वाचनमा होमिएका बेला किन उनीहरूले बहिष्कार गरे ? किन उनीहरू चुनाव बिथोल्न चाहन्छन् ? यिनै विषयमा रहेर नेकपाका नेता सन्तोष बुढासँग बिएल नेपाली सेवाका लागि उमेश थापाले गरेकाे कुराकानीको सम्पादित अंश प्रस्तुत छ :


तपाईंहरु झिनाे मतले चुनाव रोकिन्छ र ?

हाम्रो मतको कुरा होइन, हाम्रो विचारको कुरा हो। हामीले जनतालाई भोट मात्र नहाल्न आग्रह गरेको हो। यो व्यवस्था ठिक छैन भनेकाे हाे। यो व्यवस्थाले नेपाली जनतालाई केही पनि दिँदैन। सही कुरा जनताहरुले बुझ्नुपर्छ। अहिलेका राजनितिक दलले जनताहरुलाई आश्वासन मात्र दिने काम गरेको छन्। हामीले जनतालाई भविष्य देखाइदिने हो। अहिले भएका नेताहरुले देश र जनताको स्वाधिनता हल गर्दैन।

बुझ्ने जनताले अहिलेदेखि नै भोट हाल्न छाड्छन्। नबुझ्नेहरुले पनि दुई/चार वर्षभित्र बुझ्छन्। अनि उनीहरु पनि भोट हाल्दैनन् र भन्छन्, हामीले त गल्ती पो गरेछाैँ।

चुनाव भनेकाे जनताले नयाँ नेता चुन्न पाउने अवसर हाे तर तपाईंहरुले बिथाेल्ने कुरा गर्नुहुन्छ, यसलाई जनताले कसरी बुझ्ने ?

हामीले बिथोल्न खोजेको होइन। यहाँ नेताले जनतालाई जहिले पनि भ्रममा राख्ने, ठुलो कुरा गर्ने र आश्वासन दिने काम मात्र भइरहेका छ। हामीले जनतालाई सजग बनाउन खोजेको हो। जनतालाई कसले ढाँटिरहेकाे छ, कसले भ्रममा राख्न आँटेको छ ? त्यो गलत हो भनेर हामीले बुझ्याउन मात्र खाेजेकाे हाे। यसलाई चुनाव नै बिथोल्ने भन्ने हुँदैन।

अहिले हामीले कसैलाई एक/दुई मत दिएर जितायाैँ भने पनि त्यो नेता फटाहा र देश लुट्ने मात्र काम गर्छ। भोलि जनतालाई नै लुट्ने हो। त्यही भएर जनतालाई सुरुमै सर्तक गराउन आँटेको हो। त्यही भएर यो जनता लुट्ने व्यवस्था टिकाउन हुँदैन। यो व्यवस्थाबाट जनताको समस्याको समाधन हुँदैन। यो व्यवस्थाबाट केही परिवर्तन हुँदैन, यो व्यवस्था परिर्वतन गर्नुपर्छ भन्ने हाम्रो माग हो।

कि तपाईंहरुसँग चुनाव लड्ने सार्मथ्य नभएर त चुनावमा नगएको होइन नि ?

हाम्राे सामर्थ्य हुँदैन्थाे भने राज्य त्यति आतंकित भएर त्यत्राे सेना परिचालन गर्ने थियाे हाेला र ? हामीलाई सरकारले पो सामर्थ्य देखेर रोकेको होला नि। हामीले जनतालाई पो शारिरिक रुपमा भेट नहाल्नु भनेका हाैँ। अहिले मिडियामा पनि म यो कुरा सुनिरहेको थिएँ, हाम्रो पार्टीको नाम काटिरहेका थिए। हामी जनताको लागि राजनीति गर्छाैँ। हामी जनतालाई जागरुक बनाउन खाेजिरहेका छौँ। भोलि हामीसँग सबै जनताहरु भए भने र उठे भने यो व्यवस्था फेरिन्छ र कसैको तागतले पनि रोक्न सक्दैन। जनताहरु हामीसँग हुने बित्तिकै हामी सबै उल्टाइदिन्छौं। हाम्रो विचार एजेण्डामा नै जनताहरु छन्। हमी सारा जनतामाझ नै छाैँ। हामीसँग सबै नेपाली जनताहरु एकजुट भएर आउँछन्।

नेपालमा कस्तो व्यवस्था आए विकास हुन्छ ?

हामीले भन्दै आएका छौँ, देशमा धेरै परिवर्तन भइसक्यो। हामी राजतन्त्र, पञ्चायत, गणतन्त्र, लोकतन्त्र सबै हेरिसक्योँ। अब अहिले भएको व्यवस्थाको आय कम छ। धेरै टिक्दा पनि टिक्दैन। जनता र युवाहरुले बुझ्दै छन्। यसपछि अर्काे व्यवस्था आउँछ, आँउछ, त्यो हो वैज्ञानिक समाजवादी राज्य व्यवस्था हो। संसदीय व्यवस्थाको अन्त्य चाँडो नै हुन्छ। यो व्यवस्था भएपछि चुनाव लड्न पैसाको खोला बगाउनु पर्दैन। अहिले चुनाव लड्ने करोडौं पैसा खर्च गर्छन्। वैज्ञानिक समाजवादी राज्य व्यवस्था भए भने जनताहरुले सबै आफ्ना हक अधिकार पाउँछन्।

अन्तयमा, आम जनतालाई के भन्न चाहनुहुन्छ ?

आम नेपाली युवालाई पुँजीवादी संसदीय व्यवस्थाले नेपालमा सम्पन्न खालको राज्य प्रणाली व्यवस्था कल्पान गर्न सकिँदैन। वैज्ञानिक समाजवादी व्यवस्था आए मात्र व्यवस्था परिवर्तन हुन्छ। त्यसैले यो दलाल संसदीय व्यवस्था खारेज गरौँ, आम निर्वाचन खारेज गरौँ। हाम्रो निर्वाचन बहिष्कारमा सहभागी हुन समेत आह्वान गर्दछु। हाम्रो लडाइँ सारा नेपालीको लागि हो र आम जनताले पनि बुझ्नु हुन्छ।

प्रकाशित मिति: : 2022-11-17 16:04:00

प्रतिकृया दिनुहोस्