अर्घाखाँचीमा एमाले सचिव एवम् टाेपबहादुर रायमाझीले पटक–पटक आश्वासन दिएर काम पूरा नगरेकाे भन्दै असन्तुष्ट मतदाताले अन्य उम्मेदवारलाई लिखित प्रतिबद्धतामा हस्ताक्षर गर्न लगाएका छन्।
यसअघि अर्घाखाँचीबाट चुनाव जितेका टाेपबहादुर रायमाझीलगायतका नेताले विगतका चुनावमा दिएका आश्वासन पूरा नगरेकाे भन्दै छत्रदेव गाउँपालिकाका मतदाताले काँग्रेसकी उम्मेदवार पुष्पा भुसाललाई १० बुँदे लिखित प्रतिबद्धता हस्ताक्षर गराएका हुन्।
छत्रदेव गाउँपालिका ठुलापाेखराका स्थानीयले पाँच वर्षभित्र काम पूरा गर्नुपर्ने सर्तसहित लिखित प्रतिबद्धतामा हस्ताक्षर गराएका हुन्।
उनीहरुको १० बुँदे मागमा वडाभित्रको सडकलाई स्तरोन्नती गर्दै व्यवस्थित र कालोपत्रे गरिदिनुपर्ने, यस क्षेत्रकै ठुलो चौवाटार सिँचाइ कुलो सम्पन्न भएकाले त्यसलाई मर्मत सुधारको माग राखेका छन्।
त्यस्तै कोकलचारे–सेट्टारी सिँचाइ योजना, दुग्दी–सालबोट–बलीफाँट सिँचाइ योजना, गुठी–अरटारी–फुल्ली र सानीखोली–तौवाखोला सिँचाइ योजनामा बजेट पारेर सम्पन्न गर्ने प्रतिबद्धता भुसालले जनाइन्।
खेतबारीमा तटबन्ध, चौवाहको सरस्वती आधारभूत विद्यालयको भवन निर्माण, धार्मिक मठमन्दिर निर्माण गर्नेमा हस्ताक्षर गरेकी छन्। सालबोट–कोटफेरा लिफ्टिङ खानेपानी, अशिदश चौवाह–उरामथुम लिफ्टिङ खानेपानी योजना, दुग्दी, धैरेनी–धरमपानी योजना निर्माण सम्पन्न गरी एक–घर एक धारा बनाइदिनुपर्ने र उपल्लो टिकुरी, तल्लो टिकुरी खानेपानी योजनामा मिटर जडान गर्नुपर्ने माग छन्। जितेपछि ५ वर्षभित्र यी काम सम्पन्न गरिदिन्छौं भनेर भुसाललाई मतदाताले लिखित हस्ताक्षर गराए।
रायमाझीलाई पनि विकासका मागमा लिखित प्रतिबद्धता गराउने स्थानीयिले बताएका छन्। उनले लगातार तीन पटक चुनाव जिते पनि चित्तबुझ्दाे काम गर्न नसकेकाे स्थानीयकाे आराेप छ।