नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोल्पा प्रदेशसभा (ख) मा बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका पूर्वजिल्ला इन्चार्ज दिपेन्द्र पुन 'सिजल'लाई भोट नहाल्न आग्रह गरेका छन्।
गृहजिल्ला रोल्पामा आयोजित एउटा संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले राजनीतिमा बेइमानी गर्न नहुने बताएका हुन्।
‘राजनीतिमा भित्र एउटा र बाहिर एउटा कुरा गरियो भने त्यो बेइमानी हुन्छ। राजनीतिमा नैतिकता र इमान चाहिन्छ’, उनले भने, ‘पार्टीको निर्णय नमान्ने मान्छे माओवादी हुन सक्दैन, हाम्रो उम्मेदवार अमरसिंह पुनजी हुनुहुन्छ, भ्रममा नपरी उहाँलाई जिताउन म सबै मतदाता र पार्टी कार्यकर्तालाई अपील गर्न चाहन्छु।’
पुनले सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई विजयी गराउनु आफूहरुको राजनीतिक धर्म भएको बताएका छन्। उनले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म जानेमा शंका नगर्न आग्रह गर्दै त्यसभन्दा अगाडि पनि गठबन्धन जान सक्ने औँल्याएका छन्।