काउन्सिल र महासंघका पूर्वअध्यक्षको सुझावः निर्वाचनको बेला सञ्चार माध्यम झन् अन्तरक्रियात्मक हुनुपर्छ

फाेटाेः प्रेस काउन्सिल, नेपाल

प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरूले निर्वाचनका समयमा सञ्चार माध्यम उम्मेदवार र दलका विषयमा अन्तरक्रियात्मक हुनुपर्ने सुझाव दिएका छन्। मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता अनुगमन सुझाव समितिसँग गरेको छलफलमा विज्ञहरूले प्रेस काउन्सिलले सञ्चार माध्यमबाट सम्प्रेषित सामग्रीको सन्तुलन, निष्पक्षता लगायतमा अनुगमन गर्नुपर्ने बताएका हुन्।

छलफलमा बोल्दै काउन्सिलका पूर्वकार्यवाहक अध्यक्ष सोमनाथ घिमिरेले सञ्चार माध्यमले उम्मेदवार र दलका विषयमा दिने सामग्री एकोहोरो र भ्रमपूर्ण हुन नहुने बताएका छन्। मतदातालाई सही उम्मेदवार छनोटका लागि सञ्चार माध्यमका सामग्रीले सघाउनुपर्ने उनको भनाइ छ। घिमिरेले नेपालका सञ्चार माध्यमले चुनावका बेला गर्ने मत सर्वेक्षणको विधि र मापदण्ड प्रष्ट हुनुपर्ने बताएका छन्।

यस्तै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष किशोर नेपालले काउन्सिलले जारी गर्ने आचारसंहितामा परिमार्जनसहित अघि बढ्नुपर्ने बताएका छन्। उनले सञ्चार माध्यमलाई आचारसंहिताको परिधिमा रहेर अन्तरक्रियात्मक गराउन काउन्सिलले भूमिका खेल्नुपर्ने बताएका छन्।

कार्यक्रममा बोल्दै काउन्सिलका पूर्वकार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले पत्रकारलाई स्वनियमनमा रहन र आचारसंहिता पालनामा सजग रहन सतर्कता अपनाउनुपर्ने बताएका छन्। उनले काउन्सिललाई स्रोत साधन सम्पन्न गराउन आवश्यक रहेको भन्दै काउन्सिल सञ्चार माध्यम र पत्रकारको अभिभावक रहेको स्मरण गराएका छन्।

काउन्सिलका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चार माध्यममा सन्तुलित सामग्री सम्प्रेषणका लागि सर्वप्रथम पत्रकारलाई नै सजग बनाउनुपर्नेमा जोड दिएका छन्। उनले सञ्चार माध्यमले गर्ने मत सर्वेक्षण पत्रकार आचारसंहिताको विपरित भएरनभएको अनुगमन गरी आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघका पूर्वसभापति बिष्णु निष्ठुरीले पत्रकार र सञ्चार माध्यम अराजक हुनसक्नेतर्फ सचेत रहँदै काउन्सिलले जिम्मेवार प्रेसका लागि निरन्तर भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्। सञ्चार माध्यमले स्वतन्त्र र स्वच्छन्दताको सीमा नाघ्न नहुने उनको भनाइ छ।

नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले निर्वाचनको समयमा जति धेरै अन्तरक्रिया हुन सक्यो त्यति नै सही उम्मेदवार निर्वाचित हुने भन्दै सञ्चार माध्यमले पूर्वाग्रहरहित रूपमा उम्मेदवार र दलका विषयमा मतदातालाई सुसूचित गर्नुपर्ने बताएका छन्। उनले प्रेस काउन्सिलले सञ्चार माध्यमबाट सम्प्रेषित साम्रगीको सत्यता, पक्षधरता, पुनरावृत्ति, दुष्प्रचारयुक्त आदि विषयमा अनुगमन केन्द्रीत गर्नुपर्नेमा जोड दिएका छन्।

यस्तै महासङ्घका पूर्वअध्यक्ष डा. महेन्द्र बिष्टले सञ्चार माध्यमले चुनावका सन्दर्भमा स्वतन्त्र बहस चलाउन सक्नुपर्ने बताएका छन्। निर्वाचनका समयमा दल र उम्मेदवारका विषयमा सामग्री सम्प्रेषणमै रोक लगाउन नहुने भन्दै बिष्टले स्वतन्त्र बहसबाट मतदातालाई स्पष्ट पार्नु मिडियाको दायित्व भएको उल्लेख गरेका छन्।

महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा सञ्चार माध्यमको आफ्नै निर्देशिका आवश्यक रहेको बताएका छन्। उनले निर्वाचन आयोगले बनाएको आचारसंहिता प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्नेगरी लागु भएको भन्दै सञ्चार माध्यममा निष्पक्ष बहस हुन रोक्न नहुने बताएका छन्। सञ्चार माध्यममा जति धेरै सम्पादकीय स्वतन्त्रताको उपयोग हुन सक्यो उति नै धेरै प्रेस स्वतन्त्रताको रक्षा हुने उनको भनाइ छ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले गर्ने अनुगमनका सन्दर्भमा सरोकारवालाको सुझाव महत्वपूर्ण भएको बताएका छन्। उनले सरोकारवाला तथा विज्ञको सुझावको आधारमा काउन्सिल अघि बढ्ने भन्दै स्वतन्त्र प्रेसको रक्षा र सञ्चार माध्यमलाई आचारसंहिताको पालनामा जिम्मेवार बनाउन काउन्सिल सधैँ सक्रिय रहने प्रष्ट पारेका छन्।

काउन्सिलले सञ्चार माध्यममा नियमित अनुगमनका साथै निर्वाचन लक्षित गरी वस्तुगत र विषयगत अनुगमन गरिररहेको छ। काउन्सिलको कात्र्तिक ६ गते बसेको बोर्ड बैठकले निर्वाचन अनुगमनलाई देशव्यापी र प्रभावकारी बनाउन अध्यक्ष बस्नेतको संयोजकत्वमा दुवै संस्थाका पूर्वअध्यक्ष सम्मिलित आचारसंहिता अनुगमन सुझाव समिति गठन गरेको थियो।

प्रकाशित मिति: : 2022-11-08 18:35:00

प्रतिकृया दिनुहोस्