गगन थापा भन्छन्- मैले जिते भने मात्रै देशको नेतृत्व परिवर्तन सम्भव छ

File photo
File photo

कांग्रेसका महामन्त्री तथा काठमाडौं ४ का उम्मेदवार गगनकुमार थापाले देशको नेतृत्व परिवर्तनका लागि काठमाडौं ४ बाट आफूलाई जिताएर पठाउन मतदातासँग आग्रह गरेका छन्।

काभ्रे-काठमाडौं क्षेत्र नम्बर ४ समन्वय समितिद्वारा चाबहिलमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन्। उनले निर्वाचनपछि अधिकांश दलमा संसदीय दलको नेता पुरानै रहने तर आफू निर्वाचित भए कांग्रेसको संसदीय दलको नेताका लागि निर्वाचन हुने दाबी गरे।

‘राजनीतिक नेतृत्वको बदलाव लिन धेरै ठूला परिवर्तन भए। तर राजनीतिक यर्थाथता यो छ कि यो पटक निर्वाचन पछाडि कुनै पनि राजनीतिक दलको संसदिय दलको चुनाव हुनेवाला छैन्।’ यदि काठमाडौं ४ बाट जिताएर नपठाए कांग्रेसमा पनि दलको नेताको लागि निर्वाचन नहुने उनले बताए।

उनले देशमा ठूलो परिवर्तन चाहिएको र यो परिवर्तन राजनीतिक परिवर्तनविना असम्भव रहेको बताए। उनले भने, ‘त्यो प्रतिस्पर्धा राजनीतिक दलको महाधिवेशन या संसदीय दलको नेतामा हुनुपर्छ। त्यसका लागि त लडाई लड्ने मान्छे पहिला चाहियो। मेरो प्रस्तावक झापाबाट जितेर आउनु पर्छ। उम्मेदवार बन्ने मान्छे पनि जितेर जानुपर्छ तब लडाई होला। यहाँ सिधैँ प्रधानमन्त्री हुने होइन संसदीय प्रकृयामा छ। पहिला संसदमा जितेर जानुपर्छ।’

केन्द्रीय सदस्य तथा कांग्रेस बागमती प्रदेश निर्वाचन परिचालन समिति संयोजक मधु आचार्यले थापाको नेतृत्वमा मुलुक परिवर्तन सम्भव रहेको जिकिर गरे। उनले थापा मुलुक परिवर्तनको भिजनसहित अगाडि आएकाले साथ आवश्यक रहेको बताए।

प्रकाशित मिति: : 2022-11-08 15:48:00

प्रतिकृया दिनुहोस्