बुधबार, १७ डिसेम्बर २०२५

प्रचण्डका ज्वाइँलाई चुनौती दिँदै एमालेकी रिता

प्रवेश बिष्ट

प्रवेश बिष्ट

विराटनगर
BreaknLinks
• • •

मोरङको निर्वाचन क्षेत्र नम्बर-६ बाट प्रतिनिधिसभा सदस्यमा दुई शक्तिशाली नेताबीच प्रतिस्पर्धा हुँदै छ। अघिल्लो निर्वाचनमा समेत प्रतिस्पर्धी रहेका नेकपा एमालेका लालबाबु पण्डित र कांग्रेसका डा. शेखर कोइराला चुनावी मैदानमा छन्।

प्रदेशसभा (१) मा भने माओवादीबाट प्रचण्डका ज्वाइँ जीवन आचार्य र एमालेबाट रिता न्यौपाने प्रतिस्पर्धामा छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ आचार्य दोस्राे पटक चुनावी मैदानमा छन्। अघिल्लो निर्वाचनमा एमालेको सहयोगमा उम्मेदवार बेनका उनी कांग्रेसका चुमनारायण तबदारसँग पराजित भएका थिए।

आचार्य कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग २ हजार ४३ मतान्तरले पराजित भएका थिए। तबदारले २३ हजार ५१३ मत ल्याउँदा आचार्यले २१ हजार ४७० मत ल्याएका थिए।

एमालेकी रिता न्यौपाने लामो समयदेखि सोही क्षेत्रको सामाजिक, राजनीतिक एवं शैक्षिक क्षेत्रको विकासमा लागेकी महिला हुन्। यता, आचार्य पनि आफू स्थानीय समस्याका बारेमा परिचित रहेको बताउँदै आएका छन्।

चुनावको मिति नजिकिएसँगै न्यौपाने र आचार्य दुवैको दौडधुप बाक्लिएको छ। यो क्षेत्रबाट स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी रहेको छ। तर, उनीहरु खासै प्रभावशाली देखिएका छैनन्।

यो निर्वाचन क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको छ । मोरङ-६ (१) मा विराटनगर महानगरपालिकाको वडा नम्बर ४, बूढीगंगा गाउँपालिकाको वडा नम्बर २ देखि ७ र सुन्दरहरैचा नगरपालिकाको पनि २ देखि ७ नम्बर वडा पर्छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!