आदरणीय मन्त्रीज्यू नमस्कार !
मलाई यहाँ आराम नै छ। तपाईं पनि कुशलमंगल नै होइबक्सिन्छ होला। मैले त तपाईंलाई राम्रोसँग चिन्छु तर तपाईंले भने मलाई चिन्नुहुन्न।
चिन्नु पनि कसरी ? तपाईंको लागि त म केबल भोटर मात्रै हुँ।
सुनेको छु, आगामी मंसिर ४ गते हुने निर्वाचनमा तपाईंको पनि उम्मेदवारी रहेको छ अरे। तर, मन्त्रीज्यू यो पटक भने भोट हाल्ने छैन, म। कृपया तपाईंका ती आसेपासेहरुलाई भनिदिनुहाेला मेरो घरमा भोट माग्न नआउन भनेर।
०७४ को चुनावमा मैले भोट हाल्न नपाए पनि घर–घरमा भोट माग्न आउँदा के–के भनेर भोट मागेको स्पष्ट रुपमा याद छ। आफना घोषणापत्रमा फूलबुट्टा भरेर हामी तपाईंका समस्यालाई सुल्झाउँछौँ भनेर हात जोड्दौ भोट मागेकाे हाेइन ? कुन –कुन वाचा पूरा गरिबक्सियाे त।
गत चुनावमा तपाईंहको चुनावी घोषणापत्रको एउटै उद्देश्य तथा लक्ष्य नुवाकोटको पासाङ ल्हामु सडकको स्थरउन्नती गर्ने भन्ने कुराले सबै जनतालाई आकर्षित गर्याे र नतिजा पनि तपाईंकै पक्षमा आयो। तर, चुनाव जितेपछि मन्त्रीज्यू ! कता हराइबक्सनु भयो यतिका समयसम्म ? खै कताको बनाउनुभयो बाटो ? चुनावी घोषणापत्रमा सय आश देखाउने अनि पूरा गर्ने बेलामा कुनै पनि नगर्ने ?
तपाईंले आफ्नाे घोषणापत्रमा भनेअनुसार हुन त कि त तपाईंको आफन्त हुनुपर्ने रहेछ त कि तपाईंको घरतिर बसाइ सर्नुपर्ने रहेछ मन्त्रीज्यू।
तपाईंंले त चुनाव जितेर गइबक्सियो तर हामीले कति समस्या भोग्यौँ कहिलै सोचिबक्सियो ?
हुन त तपाईंले किन सोचिबक्सनु हुन्छ र तपाईंका त राजधानीमा नै चार तलाका चार ओटा घरहरु छन्। जनताका घर जाने बाटोको जस्तोसुकै होस्, बाँचेर घर पुगुन वा मरेर घर पुगुन। तपाईंले साेच्नु भएकाे हाेला, मेराे त राजधानीमा सात पुस्तालाई पुग्ने सम्पत्ति छ। अर्को पटक त जनताले बिर्सीसक्छन्। मासुभात रक्सी र पैसा बाडैँला मत मेरौ पक्षमा आउँछ।
ए भूपु मन्त्रीज्यू, अब तपाईंं यो भ्रममा बाँच्न छाड्नुस्। पुन: जनतालाई मुग्रा बनाएर आफ्नाे दुनाे सोझाउँछु भनेर।
पहिला सुरु गरौँ, सात वर्षदेखि भत्काएर छाडेको पासाङ ल्हामु सडक खण्डको। कुनै समयमा नुवाकोटको सबैभन्दा चल्तीमा रहेको उक्त सडक खण्ड हाल बन्द हुने अवस्थामा छ। बाटो फराकिलो बनाउने भन्दै सडक भत्काएको पनि एक दशक हुन लाग्यो।
पाँच वर्षमा दुई पटक गरेर दुई सरकार र दुई मन्त्री फेरिए। नुवाकाेटवासीले नै जिताएर पठाएका तपाईंहरुले हाम्रो समस्या कहिलै राख्नुभयो ? सत्तामा पुगेपछि कुन ठाउँमा घर जग्गा जोड्छु, छोराछोरीलाई कुन स्कुल पढाउँ र कुन देश पठाउँ भन्दै लागिबक्सियो।
हाम्रो पार्टी अरु पार्टी जस्तो होइन हामी अरुलाई नराम्रो भन्दैनाैँ काम गरेर देखाउँछौँ भन्दै प्रचार गरिएका तपाईंहरुका चुनावी अभियानका नाराहरू। तर, मन्त्रीज्यू सात वर्ष बितिसक्यो किन आज पनि स्तरउन्नति हुन सकेको छैन् मेरो घर जाने बाटो ? बाटो बनाउने ठेक्का लिएका ठेकदारले ठुलै नेताको संरक्षक पाएकाले बाटो बन्न नसकेको बताइबक्सिन्छ।
के तपाईंको कुनै दायित्व हाेइन र, जनताकाे भोटको कदर गर्ने ? पासाङ ल्हामुको सडकस्तर उन्नति गर्ने।
अब अर्को कुरा जोड्औँ। ०७४ को निर्वाचनमा तपाईंका वाचापत्रमा उल्लेख गरिएका एक घर एक रोजगारी। मन्त्रीज्यू खै कति जनाले पाए तपाईंका एक घर एक रोजगारी वाचाले। तपाईंको कुरालाई विश्वार मानेर मेरा गाउँका दाजु ३ वर्षसम्म गाउँमा नै बसिरहे तर पाखोबारी खनेर पुगेन खान, अनि हानिए कतारतिर।
विदेशमा दिनरात मेहेनत गरे तर भने जस्तो भएन उल्टै बिरामी भएर नेपाल फकिए।
मन्त्रीज्यू, अब भने जनताका घर–दैलोमा जाँदा विचार गर्नु हाेला। जनताले काम गर्ने नेता खोजेका छन्, आशा देखाउने होइन। र, कृपया यस्तै आश्वासन देखाउने हो भने मेरो घरमा नजानुहोला, मलाई यो सह्य हुने छैन।