डेंगु संक्रमण र प्रतिकुल माैसमबीच पाँच दिनमा दुई पटक मनास्लु चढे
यसपटक (२०२२) प्रतिकुल मौसमका कारण सयौँ आरोहीको मनास्लु आरोहण गर्ने सपना अधुरै रह्याे। तर, विश्वका १४ वटै ८ हजार माथिका हिमालकाे दाेहाेराे आराेहण गरेर कीर्तिमानी कायम गरेका चर्चित नेपाली आरोही सानु शेर्पाले भने डेंगु संक्रमण भएकै बेला प्रतिकुल मौसमका बाबजुत ५ दिनमा २ पटक मनास्लु हिमाल चढे। उनै चर्चित आरोही शेर्पाले प्रतिकुल माैसम र डेंगु संक्रमणकैबीच गरेकाे मनास्लु आराेहणकाे राेचक अनुभव बिएल नेपाली सेवासँग साटेका छन् :
मनास्लु हिमाल (८१६३ मि.) आरोहणको लागि सेप्टेम्बर १२ मा काठमाडाैँबाट गोरखाको सामागाउँ हेलिकप्टरबाट उडेँ। यसपटक ४ सयभन्दा बढी आरोहीले मनास्लु आरोहणको लागि अनुमति लिएका थिए।
मलाई डेंगु लागेको रहेछ, आलि-आलि सञ्चो थिएन, बेसक्याम्प पुगेँ। धेरै दिन (५-६) दिनसम्म पनि मौसम बिग्रियो र अन्य आरोहण दलसँग बेसक्याम्पमै बस्न बाध्य भएँ। चिनियाँ पर्यटक साथीलाई लिएर क्याम्प- १ गएँ। त्यहाँ डेढ-दुई सय जना जति विदेशी आरोहीसँगै शेर्पाहरु समिट टार्गेट गर्न तयारीमा थिए। तर, हिमालमा मौसम खराबीले धेरै मान्छेहरु फर्किए।
मैले चिनियाँ आराेहीलाई,‘ समिट चढ्ने हो ?’ भनेर साेधेँ।
‘तिमी सक्छौ भने म पनि सक्छु,’ उनले जवाफ फर्काए।
१-२ नाइटपछि कति मान्छेहरु निराश भएर फर्किए। मैले एक जना दिदी (हरिला) र २ शेर्पालाई जाउँ भनेँ। उनीहरु पछि–पछि आए र क्याम्प- ३ सम्म पुग्याैँ। त्यहाँ पनि धेरै साथीहरु समिटको लागि पर्खिरहेका रहेछन्। मौसम बिग्रिने डरले उनीहरु पनि अगाडि बढ्न मानेन्। हामी ८ जना मात्रै माथि गएको, एक जना भारतीय मुलका पर्यटक र शेर्पा चाहिँ फोर समिटबाट नै फर्किएछन्। हाम्राे टोली रियल समिटतर्फ उकालो लाग्याे।
क्याम्प- ३ बाट हिँडेको साढे २ बजेतिर हामी ६ जना समिट पुग्याैँ। समिटपछि मेरो चिनियाँ क्लाइन्ट हिँड्न सकेनन् र समिट ३ मै बस्न पर्यो। सेप्टेम्बर २४ मा क्याम्प- ३ र त्यसको भोलि २५ तारिखको दिन बिहान पर्यटकलाई काठमाडाैँ उडाएर म फेरि मनास्लु समिट गर्न फर्किएँ।
सेप्टेम्बर २५ को बेलुकी पौने ४ बजेतिर माथि हिमालतिर लागेँ। बिहान १० : ३० बजे फेरि समिट पुगेँ। फर्किदा अमेरिकी जोडी (हिलारी नेल्सन र जोडी जिम मोरिसन) बाटोमा भेटेँ। ठाउँ स्यानो थियो म अगाडि भिडियो र फोटो खिचेर अमेरिकन बुढा-बुढीलाई ठाउँ छोडेँ अनि लुखुर–लुखुर तलतिर झरेँ।
क्याम्प- ३ र ४ को बिचमा हिउँपहिरो आयो भनेर वाकी-टकीमा सुनेको थिएँ। क्याम्प- ४ भन्दा अलि माथि अमेरिकन बुढोलाई सोधेँ,‘म्यादम खोइ ?’ स्कि गरेर गयो उनले जवाफ फर्काए। एक/दुई शब्द मात्रै बोल्यो। आर्को बाटो घुमेर गयो कि भन्ने सोचेँ। क्याम्प- ४ मा १५/१६ जना अड्केर बसेको रहेछ। एभ्यालेञ्च (हिउँ पहिरो)ले सबै डोरीहरु लगेछ। साथीहरुले सानु दाइ येतै बसौँ, बाटो छैन भन्दै थिए। हामी केमा बस्ने, न खाना, न टेन्ट, न स्लिपिङ ब्याग छ, केही छैन सकिन्छ जान, जाऔँ, म त जाने हो भन्दै हिँडे।
लठ्ठी टेकेर खुरुखुरु अल्पाइनमा झरेर आउँदै थिएँ, क्याम्प- ३ मा अघि पहिरोले सोहोरेकोहरु बाटोमा भेटेँ। १ जनाकाे लास भेटेँ, अन्य घाइतेहरु धेरै भेला भएको देखेँ, १५/२० जना शेर्पासहित। म चाहिँ थाकेर आएको छु, ल राम्रोसँग क्लाइन्टलाई ल्याउनु भनेर सुइसुइ झरेँ। मैले चाहिँ हेल्प गर्न सकेनँ है ! भनेर कन्टिन्यु बेस्क्याम्प झरेँ।
भोलिपल्ट बिहानै हेलिकप्टर चढेर काठमाडाैँ फर्किएँ। त्यसपछि कति दिन वेदर बिग्रियो। त्यहाँबाट फर्केर फेरि धौलागिरि हिमाल चढ्न गएँ र बेस क्याम्पतीर हानिएँ। भोलिपल्ट क्याम्प- १ गएँ। त्यहाँ पुग्दा पुग्दै धेरै मान्छेहरु फर्किएकाे देखेँ।
मेरो क्लाइन्ट चिनियाँले भन्नुभयो– सानु फर्केर जाउँ, माउन्टेन जहिले नि यहीँ बस्छ, हामी फर्किउ भन्यो।
रातको ९ बजेतिर फर्केको थियाैँ। अब हुन्छ नि त तिमी नै सक्दैन भने त मैले बोक्नु सक्ने कुरा आएन भनेर फर्कियाैँ। क्याम्प- १ मा एक रात बसेर भोलिपल्ट काठमाडाैँ आएँ।
त्यसको लगत्तै आर्को ८ हजारको हिमाल चोयुतर्फ हानिएँ।
चीनतर्फ बन्द भएकोले नेपालतर्फबाट पायनियर कम्पनीको शेर्पा टिमले बाटो पनि खुलाउने र समिट पनि गर्ने योजनाअनुसार ८ जना शेर्पा साथीहरुसँग ७,२५० मिटरसम्म पुग्याैँ।
नाङपोइ पिक ७३५० रहेछ, साथीहरु अलिक तलसम्म पुगेर उहाँहरु वान नाइट बसेर फर्किनु भयो। उनीहरुलाई फ्लाे गर्दै गएको तर माैसम बिग्रिएर हामी फर्किनु पर्यो। एक तेज हावा (हाई विन्ड)को कारण क्याम्प वानबाट क्लाइन्ट लिएर फिक्सिङ टिम झर्यो।
बेस क्याम्पको साथीहरुले गिभ अप दियो, अब के गर्ने भनेर कुरा आयो। मैले चिनियाँलाई भनेँ- के गर्ने हामी, जाने कि फर्किने कि ? तिमिले जे भन्छ म त्यही गर्छु। हामी दुई जना मात्रै चाहिँ किन जाने भन्यो। त्यसपछि मैले पनि गिभ आप हानेँ।
क्याम्प- २ पुग्दा डेढ-दुई सय मान्छे रहेछ। हिउँ पानी निरन्तर परिरहेको थियो। चोयु हिमाल चढ्ने योजना थाँती राखेर काठमाडाैँ फर्केँ। प्रतिकुल माैसम र डेंगु संक्रमणबीच मैले यति गर्न सकेँ।
०००
पर्यटन विभागकाअनुसार सन् २०२२ काे अउटम्न सिजनमा ७ सय आरोहीमध्ये ४ सय जति विदेशी पर्यटकले मनास्लु आरोहण अनुमति लिएका थिए।
हरिलासहित नेपाली गाईडहरु पास्दावा र दावा ओङ्जु शेर्पा मनास्लु (८,१६३ मिटर)को रियल समिटमा दिउँसो नेपाली समयअनुसार २२ सेप्टेम्बर २००२२ को दिउँसाे २:३६ बजे पाइला टेकेका थिए।
त्यसको केही बेरपछि नेपाली समयअनुसार दिउँसो २:५० मा सानु शेर्पासहित चिनियाँ आरोही हु ताओ र मिङ्मा थिन्दुक शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए।
खराब मौसम र विगत दुई सातादेखि परेको भारी हिमपात बिचमा उनीहरु मनास्लुको शिखरमा टेक्न सफल भएका हुन्।
०००
कीर्तिमानी सानुको हिमाल आरोहण यात्रा
गत महिना पाकिस्तानकाे गाशेरब्रम- २ हिमालको सफल आरोहण गरेसँगै विश्वका १४ वटा हिमालका चुचुरोको दोहोरो आरोहण गर्ने विश्वको पहिलो आरोही बनेका छन्, सानु शेर्पा।
संखुवासभा जिल्लामा जन्मेका ४७ वर्षीय सानु शेर्पा सुप्रसिद्ध नेपाली पर्वतारोही हुन्। सानु शेर्पाले सन् २००६ मा पहिलो पटक चो ओयु हिमालबाट ८ हजार मिटर अग्ला हिमालको आरोहण सुरु गरेका थिए।
झण्डै दुई दशकअघि सानु शेर्पाले खाली खुट्टा र हाफ पेइन्टमा रू. एक हजार बोकेर काठमाडौँ आएको बताउँदै ट्रेकिङ कम्पनीमा छिरेको सम्झिएर भावुक भएका थिए। उनले ८ हजार माथिको हिमाल चढ्न सफल भएकोमा खुसी र दुःख दुवै लागेको बताउँछन्।
अरु देशमा भए एउटै हिमाल चढ्दा सरकारले कति धेरै सम्मान गरेको सुन्दा अच्चम लाग्ने गरेको बताउँदै उनले भने,‘त्यसको तुलनामा हाम्रो देशमा सरकारले आरोहीलाई केही गरेको छैन।’
सन् २००६ देखि २०१९ को बिचमा सानुले विश्वको सबै ८ हजार मिटर अग्लो चुचुरो चढेका थिए। दुर्गम गाउँकाे गरीब परिवारमा जन्मेका सानु सन् २००५ मा जागिरको खोजीमा काठमाडौं आएका थिए।
पर्यटन क्षेत्रमा पहिलो पटक भरियाको जागिर पाए। उनले कोरियाली टोलीले चो ओयु पर्वतारोहणको पहिलो पटक हिमालतर्फ लागे। भरिया हुँदै पछि उनले हिमाल एक्सपिडिशनको नेतृत्व गर्न थाले र सन् २०१९ मा पहिलो पटक विश्वकाे १४ वटा ८ हजार माथिका अग्ला चुचुरो आरोहण गर्ने उनी तेस्रो नेपाली आरोही बनेका थिए।
सानुले नेपाल, चीन र पाकिस्तानमा रहेका ८ हजार मिटर (२६,००० फिट) भन्दा माथिका सबै १४ वटा चुचुरो आरोहण गर्ने नेपाल र दक्षिण एसियाका तेस्रो व्यक्ति हुन्।
आफ्नो वाल्यकाल संखुवासभाको दुर्गम गाउँको जङ्गलमा भेडा र चौँरी चराएर गोठालाको रुपमा जीवन बिताएका थिए, उनले।
यति धेरै पटक हिमाल चढ्न सकिन्छ होला भनेर जीवनमा कहिले नसोचेको उनी बताउँछन्। विश्वको १४ वटा ८ हजार माथिको अग्लो हिमाल दुई पटक चढेर उनले विश्व कीर्तिमान राखे।
सानु शेर्पाको शिखर आरोहणका विवरण :
सगरमाथा– २००७, २००८, २००९, २०१२, २०१३, २०१६ र २०१७
केटु– २०१९ र २०२१
धौलागिरी– २०१९, २०२१
चो ओयु– २००६ र २००८
मनास्लु– २०१०, २०११, २०१६ र २०२२ मा २ पटक
शिशापाङ्मा– २००६ र २०११
ल्होत्से– २००८, २०२१ र २०२२
गाशेरब्रम- १– २०१३ र २०१९
गाशेरब्रम-२ – २०१९ र २०२२
कञ्चनजङ्घा– २०१४ र २०२२
ब्रोड पिक– २०१४ र २०१७
अन्नपूर्ण– २०१६ र २०२१
नङ्गा पर्वत– २०१७, २०१८ र २०२२
मकालु– २०१९ र २०२२
०००
उनले एक प्रशंगमा बिबिसी नेपाली सेवालाई ८ हजार मिटरमा धेरै लासहरु भेटेको सुनाउँदै सपनासमेत ती लासहरुको देख्ने गरेको सुनाए। ती लासहरु देख्दा उनलाई निकै चिन्ता लागेको बताए। ‘ती लासहरु देख्दा धेरै दुख लाग्यो,’ लास देखेर टोलाउँदै उनले मनमा धेरै कुरा खेलेको बताउँदै उनले भने, ‘यो कहाँको मान्छे होला। विदेशी होला कि नेपाली होला। यसको परिवार बाल/बच्चा के गर्दै होलान्।’
सरकारले हिमालका लास र फोहोर शेर्पालाई जिम्मा दियो भने सफा गर्न सक्छु भन्ने उनको विश्वास छ।
निकै सरल स्वभावका सानु नम्र बोलीमा भन्छन, ‘यति धेरै पटक हिमाल चढ्छु भन्ने जीवनमा कहिलै सोचेको थिएनँ। २-२ चोटी चढ्यो, अब कति हिमाल चढ्ने, केही समय विदेशतिर पो घुम्न जाउ कि भन्ने मन छ। तर सधैं उतै बस्नलाई चाहिँ होइन, हप्ता- १० दिन जति घुमेर फर्किने हो।’
तस्बिर : सानु शेर्पाकाे फेसबुकबाट