माओवादीकाे हँसिया हथाैडा चुनाव चिन्हबाट अर्घाखाँचीमा ‘ह्याट्रिक’ गरेका नेता टाेपबहादुर रायमाझी यसपटककाे निर्वाचनमा सूर्य चिन्हबाट प्रतिस्पर्धा गर्दै छन्। तत्कालीन नेकपा विभाजनपछि एमालेमा बसेका टाेपबहादुरकाे लागि याे चुनावकाे जित जति गाैरवपूर्ण बन्ने छ, हार त्याे भन्दा बढी लज्जापद हुने निश्चित छ।
माओवादी जनयुद्धदेखि राज्यका विभिन्न तहमा रहेर नेतृत्व गरिरहँदा एक ‘ब्राण्डेट’ नेताका रूपमा स्थापित उनीमाथि एमाले प्रवेश गरे लगत्तै अवसरवादी नेताकाे आराेप लाग्याे। उनले जुन व्यवस्था ल्याउनकाे लागि ज्यानकाे बाजी राखेर माओवादी जनयुद्धमा हाेमिएका थिए, त्यही व्यवस्था एमाले अध्यक्ष केपी शर्मा ओलीले हत्याउन खाेज्दा उनले समर्थन गरे, त्याे पनि मन्त्री बन्ने आशमा। त्यसपछि पदकाे लागि मरिहत्ते गर्ने नेताका रूपमा उनलाई जनताले अवसरवादी नेता भन्न थाले। त्यहीँबाट उनकाे राजनीतिक यात्रा पनि ओरालाे लाग्याे।
यसअघिका निर्वाचनमा मन्त्रीकाे हैसियतमा तामझामसहित मतदाताकाे घरदैलाेमा पुग्ने रायमाझी यसपटक भने राजनीतिक क्षतिकाे आलाे घाउ बाेकेर बिलाैना गरिरहेका छन्। अहिले न उनसँग पहिलाजस्ताे जाेस छ न त जनतामा उनीप्रति विश्वास। त्यसैले उनी अहिले माओवादीकालीन उपलब्धी भजाउन बाध्य छन्।
माओवादी जनयुद्धपछि देशमा व्यवस्था फेरियाे, आंशिक रूपमै भएपनि देशकाे अवस्था फेरियाे। त्यसकाे लहर अर्घाखाँचीमा नपर्ने कुरा भएन। माओवादी जनयुद्धमा अर्घाखाँचीकाे नेतृत्व गर्दै राज्यकाे नेतृत्वमा पुगेका रायमाझी विभिन्न शक्तिशाली पदमा पुग्दा अर्घाखाँचीले धेरै अवसर पायाे। तर, जनताले विश्वास गरेर संसदमा पुर्याएका रायमाझीमा व्यक्तिवादी प्रवृत्ती हावी भयाे। त्यसपछि जनताप्रति बैमानी गरे, आफू जन्मिएकाे माटाेलाई बिर्सिए। त्यसपछि जिल्लामा उनीबाट सिन्काे पनि भाँचिन छाड्याे।
माओवादीमा हुँदा जाेबाट पद हासिल गर्न सकिन्छ त्यसकै पछि लाग्ने उनी नेकपा विभाजनपछि मन्त्री भन्ने सर्तमा एमालेमा लागे। त्यसपछि उनकाे प्रभाव र पहुँच कम हुँदा उनले काम गर्न सकेनन्, उपलब्धी गर्न सकेनन्। त्यसकारण रायमाझीले अहिले माओवादीकालीन उपलब्धी देखाएर भाेट माग्न बाध्य भएका छन्।
‘नेपालमा गणतन्त्र ल्याउँछु भन्नु बयलगाढा चढेर अमेरिकी जान्छु भन्नु जस्तै हाे’भन्ने ओलीकाे काखमा बसेर अहिले टाेपबहादुर त्यही गणतन्त्रकाे बखान गरेर भाेट मागिरहेका छन्। अहिले पनि रायमाझी जहाँ पुग्छन्, त्यहाँ जनयुद्धका प्रगति विवरण प्रस्तुत गरिरहेका हुन्छन्।
स्थानीयका अनुसार नेता रायमाझीले अहिले भाेट माग्दा आफूले माओवादीमा हुँदा गरेका काम बताउने र अब एमालेबाट जितेपछि पनि निरन्तरता दिने बताउँछन्।