नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य तथा अर्घाखाँचीकाे प्रतिनिधि सभा समानुपातिक सदस्यकी उम्मेदवार सुशीला सिर्पाली ठकुरीले जिल्लामा पार्टीले उम्मेदवारी फिर्ता लिनुपरेका कारण मुटुमाथि ढुङ्गा राखी हास्नु पर्ने अवस्थामा आएकाे बताएकी छन्। नेत्री सिर्पालीले शनिबार काठमाडाैँमा आयाेजित एक कार्यक्रमकाे सम्बाेधन गर्दै साे अभिव्यक्ति दिएकी हुन्।
‘हामीले गठबन्धनमा समस्या हुने भएपछि उम्मेदवारी फिर्ता लियाैँ, त्यसैले पीडा छन्, हामीमा,’ नेत्री सिर्पालीले भनिन्,‘मुटुमाथि ढुङ्गा राखी हास्नु परेकाे छ भन्ने गीत नारायण गाेपालले त्यतिकै गाएनन् हाेला आज त्यसकाे फिलिङस् व्यवहारिक रूपमा हामीमा छ।’
उनले बाध्यात्मक अवस्थामा पुगेर आफूहरूले त्याे निर्णय गरेपनि गठबन्धनलाई धाेका नदिने बताइन्। ‘हामी इमान्दर छाैँ, हाम्रा मतदाताकाे भाेट तपाईंहरू आफैं लगेर हानिदिनुहाेस् ठप्पा, हामी निर्वाचन आयाेगसँग सहमति गर्छाैँ। तर, चुनावपछिकाे परिणाममा हामी सबै कुरामा भागिदार हुनेवाला छाैँ,’ उनले भनिन्।
अर्घाखाँचीमा गठबन्धनमा तालमेल नमिल्दा प्रत्यक्षतर्फ माओवादीका नेताहरूले उम्मदेवारी दिएका छैनन्। सिट बाँडफाँडका क्रममा गठबन्धनबाट प्रदेश सभा (क)मा ठाकुर कुमार विकले टिकट पाए पनि जनमाेर्चाले बागी उम्मेदवारी दिन लागेपछि विकले उम्मेदवारी फिर्ता लिएका थिए।