आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सडक मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न स्थानीय सरकारलाई आग्रह गरेको छ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समयमा कर्मचारी आवतजावत गर्न, मतदानका सामग्री, मतपेटिका ढुवानी गर्न तथा सुरक्षा संवेदनशीलताको दृष्टिले यातायात व्यवस्था प्रणाली सहज बनाउनका लागि नगरपालिका र गाउँपालिकालाई आग्रह गरेको हो।
प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले पत्राचार गर्दै निर्वाचनलाई सरल, सहज र सुरक्षित रुपमा सम्पन्न गर्नका लागि आफ्नो क्षेत्रभित्र पर्ने सडक निर्वाचनको बेला सहज रुपमा सञ्चालन हुनेगरी मर्मत सम्भार गर्न आह्वान गरेका छन्।
‘निर्वाचनलाई सरल, सहज, मर्यादित र सुरक्षित रुपले सम्पन्न गर्न सबैको कर्तव्य तथा दायित्व हुन जान्छ। आसन्न निर्वाचनलाई सरल, सहज र सुरक्षित रुपमा सम्पन्न गर्न जिल्लाभित्रको यातायात व्यवस्था प्रणालीलाई सहज रुपमा सञ्चालन गर्नुपर्ने हुन्छ,’ प्रशासनले पत्रमार भनेको छ, ‘त्यसैले सदरमुकामबाट हरेक पालिकाको केन्द्र र मतदान केन्द्रसम्म यातायातको सहज पहुँच पुर्याउन प्रत्येक पालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सडक निर्वाचनको बेला सहज रुपमा सञ्चालन हुनेगरी मर्मत सम्भार गर्नुपर्ने भए सो गरी तयारी अवस्थामा राख्ने व्यवस्था गर्न अनुरोध छ।’