आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पाल्पा र गुल्मीमा रोचक हुुने देखिएको छ।
यस अघि एउटै पार्टीमा रहेर संघर्ष गर्दै आएका नेताहरुबीच अहिले फरक–फरक पार्टीबाट उम्मेदवार बनेपछि यहाँको निर्वाचन विगतका भन्दा फरक र रोचक बन्ने देखिएको हो।
पाल्पामा प्रतिनिधिसभाको निर्वाचनमा क्षेत्र नं. २ मा एउटै पार्टीमा रहेर संघर्ष गर्दै आएका सहयोद्वाहरुबीच प्रतिस्पर्धा हुुन लागेको छ। यहाँ प्रतिनिधिसभाका लागि एमाले र एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।
संघीय निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका तर्फबाट ठाकुर गैर र गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयले उम्मेदवारी दर्ता गरेका छन्।
गैरे नेकपा एमालेका पोलिटब्युरो सदस्य हुन् भने पाण्डेय एमाले छाडेर नेकपा एकीकृत समाजवादीतर्फ लागेका हुन्। उनी एसका लुम्बिनी प्रदेश कमिटिका संयोजक तथा निवर्तमान सांसद समेत हुन्।
पाण्डेयले निरन्तर टिकट पाएकै कारण गैरेको संसद् यात्रा अवरुद्ध भइरहेका बेला अहिले भने यी दुुई नेताहरू दुुई फरक दलबाट चुनावी मैदानमा उत्रिएका छन्।
अघिल्लो निर्वाचनमा पाण्डेयलाई जिताउने चुनावी कमाण्डर गैरे यसपटक आफू जित्ने गरी चुनावमा होमिएका छन्। उनी संसदीय राजनीतिमा पहिलोपटक आएका हुुन्। पाण्डेय योसहित छैटौँ पटक उम्मेदवार बनेका हुन् हो। उनी २०५१, २०५६, २०६४, २०७० र २०७४ मा उम्मेदवार भएका थिए।
पाण्डेयले २०७४ मा भने दुई क्षेत्र बनेपछि क्षेत्र नम्बर-२ बाट टिकट ल्याएका थिए। यसपटक पनि उनले सत्ता गठबन्धनका तर्फबाट टिकट ल्याएका छन्।
०७४ अघि तीनवटा क्षेत्र भएका बेला गैरे भने पाण्डेयकै क्षेत्रका भएकाले संसदीय टिकट पाउन उनलाई मुस्किल परेको थियो। स्थानीय तहमा कमजोर देखिएका एकीकृत समाजवादीका पाण्डेयलाई निर्वाचन जित्न काँग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाको साथ छ।
एकीकृत समाजवादीका पाण्डेय र एमालेबाट अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष समेत रहेका गैरेबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।
उता गुल्मी क्षेत्र नम्बर २ मा पनि पूर्व–सहकर्मीबीच प्रतिस्पर्धा हुँदै छ। नेकपा एमालेका गोकर्ण विष्ट र नेकपा एसकी रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुन लागेको हो। विष्ट र झाँक्री अघिल्लो निर्वाचनमा सँगसँगै सूर्य चिन्हमा मत माग्दै गाउँ पुगेका थिए।
यसपटक यी दुई सहयोद्वाबीच नै प्रतिस्पर्धा हुन लागेको हो। विष्ट नेकपा एमालेका सचिव हुन भने झाँक्री एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा गएकी हुन्। विष्ट २०५६ देखि लगातार उम्मेदवार बन्दै आएका छन्। उनी २०५६, २०७० र २०७४ को निर्वाचनमा विजयी भएका थिए।
यस्तै गुल्मीकै प्रदेशसभा २ (ख) मा पनि माओवादी केन्द्र र माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका सहयोद्वाहरु बिच प्रतिस्पर्धा हुने भएको छ।
यहाँ नेकपा माओवादी केन्द्रका तर्फबाट बुद्धि जिसी र माओवादी छाडेर नेकपा एमालेमा प्रवेश गरेका दिनेश पन्थीले उम्मेदवारी दिएका छन्।
पन्थी २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य पदमा विजयी भएका थिए। तर नेकपा विभाजनपछि उनी एमालेतर्फ लागेपछि उनको पद खोसिएको थियो।
चुनावको मिति नजिकिएसँगै नेताहरु आफ्नो क्षेत्रमा माहोल बनाउन सक्रिय भएर लागेका छन्। २०७४ सालको निर्वाचनमा वाम गठबन्धनविरुद्ध चुनावी मैदानमा होमिएको काँग्रेसले यसपटक गठबन्धनको साथ पाएको छ भने नेकपा एमाले एक्लै चुनावमा होमिने तयारीमा छ।