सर्लाही-४ : गठबन्धनको सहमतिविना माओवादीको स्वतन्त्र उम्मेदवार, फिर्ता लिन दबाब

सत्तारुढ गठबन्धनको सहमतिविना माओवादी केन्द्रको स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता भएको छ। गठबन्धनको सहमतिअनुसार सो क्षेत्र कांग्रेसले पाएको थियो। जसअनुसार गठन्धनको साझा उम्मेदवारको रुपमा कांग्रेसका नागेन्द्रकुमार रायले प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयन दर्ता गरे।

तर, गठबन्धनको साझा उम्मेदवारले मनोनयन दर्ता गरे पनि माओवादीका शिवपुजन राय यादवले आफ्नी छोरी मधुमालालाई स्वतन्त्र उम्मेदवार बनाएका छन्।

जसले गठबन्धन आवद्ध दलमा आशंका उत्पन्न गराएको छ। गठबन्धनको साझा उम्मेदवार रायलाई सघाउने गरी मधुमालाको उम्मेदवारी फिर्ता नभए माओवादीको उम्मेदवारलाई कांग्रेसका नेता कार्यकर्ताले भोट नदिने गरी मधेश प्रदेशमा तयारी थालिएको एक नेताले जानकारी दिए।

सत्ता गठबन्धनका तर्फबाट सर्लाही–४ मा कांग्रेसका नागेन्द्रकुमार रायको उम्मेदवारी दर्ता भएको छ भने ४ ‘क’ मा कांग्रेसकै वीरेन्द्र सिंह र ४ ‘ख’ मा माओवादीका फकिरा महतोले प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन्।

तर, गठबन्धनका साझा उम्मेदवारको ‘बागी’को रुपमा शिवपुजनले छोरीलाई स्वतन्त्र उम्मेदवार बनाएको सर्लाहीका कांग्रेस नेता कार्यकर्ताको बुझाइ छ।

शिवपुजनकी श्रीमती मीना मधेसी महिला क्लस्टरबाट समानुपातिक उम्मेदवार छिन्। उनी कलस्टरको पहिलो नम्बरमा छिन्। 
 

प्रकाशित मिति: : 2022-10-11 17:23:00

प्रतिकृया दिनुहोस्