नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्ने घोषणा गरेका र गठबन्धनका तर्फबाट सर्वसम्मत जस्तै भएका नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रञ्जित तामाङले अन्ततः टिकट पाएनन्।
झापामा माओवादीले क्षेत्र नम्बर २ र ५ लिने भन्ने लगभग टुङ्गो लागेको थियो। तामाङले पनि झापा क्षेत्र नम्बर ५ बाट ओलीसँग प्रतिस्पर्धा गर्ने केही समयअघि नै घोषणा गरेका थिए।
तामाङको उम्मेदवारी घोषणाले राजनीतिक चर्चा पाएको थियो। युवा राजनीतिमा आउनु पर्ने कुरा उठिरहेको बेला तामाङको उम्मेदवारले ओलीमा भय उत्पन्न गरेको थियो। मुलत: दुई कारणले तामाङले टिकट पाएनन्।
ओली-विश्वप्रकाशको सेटिङ
एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच भएको समझदारीअनुसार क्षेत्र नम्बर १ मा एमालेले रविन कोइरालाबाहेक उम्मेदवार बनाउने र क्षेत्र ५ मा कांग्रेसले कमजोर उम्मेदवार उठाउने। एमालेबाट रविन कोइराला उम्मेदवार हुँदा शर्मा पराजित हुने भएकाले कोइरालाले टिकट पाएनन्।
कोइराला दशबुँधेमा लागेका कारण टिकट नपाएका होइनन्। ओली र शर्माको सेटिङका कारण टिकट नपाएका हुन्। कांग्रेस महामन्त्री शर्मालाई जित्न सहज बनाउने उद्देश्यले ओलीले कोइरालालाई टिकट नदिएकाे माओवादीका केही नेताहरू बताउँछन्।
ओलीले आफू सुरक्षित हुन राप्रपासँग समेत तालमेल गरेका छन्। झापा क्षेत्र नम्बर ३ राप्रपालाई छाडेका छन्। त्यहाँ अध्यक्ष राजेन्द्र लिङ्देन कांग्रेस नेता कृष्ण सिटौलाबीच प्रतिस्पर्धा हुने भएको छ।
राप्रपाको दमकमा पनि राम्रो प्रभाव भएको क्षेत्र हो। गठबन्धनको समर्थनमा दमकमा मेयर राप्रपाले जितेको छ। राप्रपाको समर्थन र कांग्रेसको कमजोर उम्मेदवार बनाउँदा ओलीका लागि सहज हुने भएकाले माओवादी नेता तामाङले अन्तिममा आएर टिकट नपाएकाे बताइन्छ।
माओवादीको आन्तरिक किचलो
माओवादी झापा मात्र होइन, प्रदेश १ को मौजुदा नेतृत्व नै तामाङ पार्टीको केन्द्रीय सदस्य भएदेखि नै त्रसित थियो। त्यसमा ओलीसँग प्रतिस्पर्धा गर्ने कुराले झन् भयभित थियो। तामाङले निर्वाचन जिते वा हारे झापामा मात्र होइन, देशभर चर्चा चुलिने थियो। युवा नेता भएकाले युवाको आकर्षण हुन्थ्यो। जनतामा तामाङ स्थापित हुने थिए।
अर्काेतर्फ तामाङले टिकट पाउँदा दमकका गगन पुरीले प्रदेशमा टिकट नपाउने भए। आफ्नो स्वार्थ अनुकूलका पुरीका लागि भएपनि माओवादी प्रदेशका नेताले तामाङलाई सिफारिस नगरेकाे बुझिन्छ।
जिल्ला र प्रदेशका केही नेताले तामाङले जित्दैनन् भन्ने लविङ प्रचण्डसम्म गरे। जसले तामाङ टिकट पाउने कुराबाट बन्चित भए। प्रचण्डले संकेत गरेकाले तामाङ टिकट पाउने कुरामा ढुक्क थिए। तर, पार्टीभित्रैबाट हुने खुरापातको पत्तै पाएनन्। सेटिङ र पार्टीभित्रको खुरापात पत्तो नपाउँदा तामाङले टिकट नपाएकाे केही व्यक्तिहरूकाे बुझमाइ छ।