बिएल संवाददाता
म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा विदेशबाट फर्केका तीन जना युवाले गरेको रेन्बो ट्राउट माछापालन यस क्षेत्रकै नमूना माछापालन व्यवसाय बनेको छ।
कलकल बगिरहने सङ्लो सफा अनि चिसो पानीलाई सदुपयोग गर्दै विदेशबाट फर्किएका यी युवाले खहरेखोलामा रेन्बो ट्राउट जातको माछापालन गरेका हुन्।
दश वर्ष कतार र मलेसियामा बिताएका पूर्णबहादुर रोका, बहराइनबाट फर्किएका तेजेन्द्र बुढा र कतारबाट दुई वर्ष पसिना बगाएर गाउँ फर्केका हरिबहादुर रोकाले संयुक्त लगानीमा गरेको माछापालन यस क्षेत्रकै नमूना माछापालन बनेको हो।
टिमुरेखोला नजिकै बनाइएको पोखरीमा पाँच हजार माछाका भुरा हुर्किएपछि उत्साहित युवाहरू थप पोखरी निर्माणमा जुटेका छन्। विदेशमा बगाएको पसिनाबाट सन्तुष्ट हुन नसकेपछि गाउँघरमै खेर गएको जमिनको सदुपयोग गर्ने गरी फर्किएर माछापालन सुरू गरेको हरिबहादुरले बताए।
'माछाका अण्डा ल्याएर व्यवसाय सुरु गरेका थियौँ, अहिले निकै राम्रो भएपछि थप संरचना थप्दैछौँ' उनले भने। उनले दूधजस्तै सङ्लो र सफा अनि चिसो पानी भएकाले उत्पादन राम्रो भएको जानकारी दिए। खाडीमा बगाएको पसिनाभन्दा गाउँघरकै हावापानीमा व्यवसाय गर्ने पहिलो प्रयास सफल भएपछि तीनैजना युवा उत्साहित छन्।
अहिले पोखरीमा दुई सय ग्रामदेखि आधा केजीसम्मको माछा छ । सामान्य तालिम लिएर सुरु गरेको माछापालनलाई थप व्यवस्थित बनाउन युट्युब, विभिन्न जानकारीमूलक पुस्तकबाट समेत सिक्ने गरेको अर्का युवा पूर्णबहादुरले बताए।
'माछापालन सोचेजस्तो वा देखेजस्तो सजिलो भने छैन, दिनरात खट्नुपर्छ, उत्पादन गरेका माछाको बजार राम्रो छ' उनले भने।
हावापानी पनि उपयुक्त भएको र उत्पादन भएको माछालाई पनि बिक्री वितरणमा समस्या नभएपछि दुई वर्षभित्र १० वटा पोखरी, खोलाको छेउमै बसेर माछाको विशेष परिकार खुवाउने गरी रेष्टुरेन्ट सञ्चालनको योजनासमेत बनाएको व्यवसायी पूर्णबहादुरले जानकारी दिए।
उनले माछापालन, रेष्टुरेन्टसहित अन्य कृषिजन्य उत्पादनको सोचसमेत बनाएका छन्। हालसम्म रु सात लाख लगानी भएको छ भने थप रु २० लाख लगानी थप्ने योजना रहेको उनले बताए।
ट्राउट माछा लोकप्रिय र सबैको रोजाइ रहने माछा हो। खानमा स्वादिलो, बीचबाहेक काँडा नहुने र प्रोटिनयुक्त पोषिलो माछाका रूपमा ट्राउटलाई लिने गरिएकाले गाउँघरका साथै दरबाङ र बेनीबजारमा समेत उच्च माग छ।
यस क्षेत्रमा पहिलो पटक गरिएको परीक्षणमा रेन्बो ट्राउट जातका माछापालन सफल भएपछि अन्य युवाहरुलाई समेत व्यवसायमा लाग्न सहज भएको छिमेकी बेली गाउँका युवा सङ्गम पुनमगरले बताए।
यता भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने रेन्बो ट्राउट माछालाई पालनका लागि सबैभन्दा राम्रो माछाको रूपमा लिने गरिएको बताए।
उनले चिसो पानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको हुनुका साथै आम्दानी पनि राम्रै हुने भएकाले सम्भावना भएका क्षेत्रका युवाहरुलाई तालिम दिने गरिएको बताए।
रेन्बो ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ। यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ।
उक्त हावापानी खहरेखोला र बाह्रै महिना चिसो भएको क्षेत्रमा रहेको उनले बताए। रेन्बो ट्राउट माछा प्रतिकेजी रु एक हजार दुई सयमा पोखरीबाटै बिक्री हुन्छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया