दसैंमा दाङ घुम्ने योजनामा हुनुहुन्छ ? यी ठाउँ तपाईंको रोजाइमा पर्न सक्छ (तस्बिरहरू)

दसैंकाे अवसर पारेर तपाईंले घुम्ने योजना बनाउनुभएको छ ? यात कहाँ घुम्ने भनेर दोधारे मन बनाएर बस्नु भएको छ ? यदि दोधारमा हुनुहुन्छ भने दाङ तपाईंको रोजाइ हुन सक्छ। दाङ घुम्ने योजना त छ तर जानकारी छैन भने पनि हामीले दाङको बारेमा दिएको जानकारीले तपाईंलाई सहज बनाउन सक्छ।

दाङ जिल्ला यसै एसियाकै ठुलो उपत्यका भएको जिल्ला हो। यहाँ एकै दिनमा पनि धेरै पर्यटकीयस्थलहरु घुम्न सकिन्छ। साथै हप्तौँ दिनसम्म दाङमा रमाउन सकिने पर्यटकीय क्षेत्रहरु पनि छन्।

दाङमा दुई वटा उपत्यका छन्। एउटा देउखुरी उपत्यका जुन पूर्व–पश्चिम राजमार्गसँग जोडिएको उपत्यका हो। र, अर्को दाङ उपत्यका दाङ हो। जुन पूर्व– पश्चिम राजमार्ग छाडेर लमहीदेखि उत्तरतर्फ करिब २३ किलोमिटरको दुरी पार गरेमा भेटिन्छ। दुई उपत्यका रहेको दाङमा तपाईंले घुम्ने योजना बनाउनुभएको छ भने यहाँको पर्यटकीयस्थलहरुले हजुरको यात्रा फलदायी बन्न सक्छ।

काठमाडौंदेखि करिब ४ सय २५ किलो मिटर पश्चिममा रहेको दाङमा विश्वकै अग्लो त्रिशुलदेखि दंगीशरण राजाले राज गरेको चखौरामा थारु समुदायको संस्कृतिको बारेमा बुझ्न सकिन्छ।

यी हुन् दाङका घुम्न सकिने महत्वपूर्ण ठाउँ

देउखुरी उपत्यकामा कसरी घुम्ने ?

देउखुरी उपत्यका लुम्बिनी प्रदेशको स्थायी राजधानी भएको क्षेत्र पनि हो। राप्ती गाउँपालिकाको लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयमा हाल प्रदेशसभाको भवन रहेको छ। राप्ती उपत्यका थारु बस्तीको बाहुल्यता रहेको क्षेत्र हो।

यस उपत्यकामा घुम्ने योजना बनाउनुभएको छ भने यहाँ महत्वपूर्ण क्षेत्र जखेरा ताल हो। लमही बजारदेखि ५ किलो मिटर पूर्व (पूर्व–पश्चिम राजमार्ग हुँदै) र त्यसपछि १ किलो मिटर उत्तरतर्फ यो ताल अवस्थित छ।

जखेरा ताल एक धार्मिकस्थल पनि हो। तालभित्र र बाहिर गरेर यहाँ चार वटा मन्दिर रहेका छन्। तालभित्र नै दुई वटा मन्दिर छ। तालको उत्तरतर्फ गणेश र पूर्वमा सिद्धेश्वर महादेवको मन्दिर रहेको छ। तालभित्रको मन्दिरमा जानका लागि डुङ्गा चढ्नुपर्छ।

तपाईं जखेरा ताल पुग्नु भयो भने मासु पारखीहरुका लागि यहाँको विशेष खानाका रुपमा लोकल कुखुरा रहेको छ। यहाँ घुम्नु भयो भने तालको सुन्दरता र यस वरपर रहेको शान्त जंगलले तपाईंको थकान मेटाउन सक्छ।

जखेरा तालबाट नजिकै लमही बजारबाट पश्चिमतर्फ ९ किलो मिटरको दुरी पार गरे रिहारको मन्दिर रहेको छ। रिहार पनि घुम्नका लागि तपाईंलाई उपयुक्त लाग्ने धार्मिक पर्यटकीयस्थल हुन सक्छ।

द्वापर युगमा ऋषिमुनिहरुले बिहार गरेको स्थलको रुपमा रिहार परिचित छ। पूर्व-पश्चिम राजमार्गको दायाँ बाँयामा फैलिएको रिहार धाम एक सय हेक्टर क्षेत्रफलमा रहेको छ।

देउखुरी क्षेत्रकै अर्को महत्वपूर्ण क्षेत्र हो, कुलपानी हरितपार्क। यो गढवा गाउँपालिका– १ मा पर्छ। पार्कमा घोडामा चढ्ने, गैडा र बाघ, जरायो, मयुरसँगै फोटो खिच्ने काठको भ्युटावरमा चढेर वरिपरिको वातावरण नियाल्न सकिन्छ। जंगल क्षेत्रमा पर्ने धार्मिक एवं सिमसार क्षेत्र भएकाले यहाँ घुम्दा तपाईंले समयको सदुपयोग गरेको महसुर गर्नु हुनेछ। यससँगै देउखुरी क्षेत्रमा राप्ती नदी, राप्ती नदीको पुल, गढवामा रहेको देउखुरी सामुदायीक पुस्ताकालयको अवलोकन गर्न सक्नुहुन्छ।

तपाईंसँग घुम्ने समय छ भने गढवादेखि दक्षिणतर्फ दाङको एक मात्र नाका कोइलाबास नाकासम्म पुग्न सक्नुहुन्छ। कोइलाबास पुग्न पक्की सडक भएर जान सकिन्छ। नुनदेखि सुनसम्म पाइने कोइलावास बजार अहिले खण्डहर बन्दै गइरहेको छ। यहाँ पुगिसकेपछि जानकी मन्दिरको अवलोकन गर्न सकिन्छ।

दाङ उपत्यका

दाङ उपत्यका देउखुरी क्षेत्रभन्दा ठुलो रहेको छ। दाङको कुल १० स्थानीय तहमध्ये ६ स्थानीय तह दाङ उपत्यकामा नै पर्छ। यस उपत्यकामा विश्वकै अग्लो त्रिशुलदेखि बाह्रकुने दह, पश्चिममा रहेका पुरन्धारा झराना आदि पर्यटकीय क्षेत्रहरु रहेका छन्।

धारापानीमा पाण्डवेश्वर महावदेव मन्दिर

यस मन्दिर दाङ उपत्यकामा घुम्दा छुटाउन नहुने पर्यटकीय क्षेत्र हो। घोराही उपमहानगरपालिका– ५ मा यो मन्दिर अवस्थित छ। यहि मन्दिर परिसरमा विश्वकै अग्ला त्रिशुल रहेको छ।

त्रिशुलको उचाइ ५५.५ फिट, गोलाइ ४४ इन्च रहेको छ। घोराही बजारबाट झण्डै आधा घण्टा दक्षिणतर्फ सवारी सधानको यात्रापछि यस मन्दिरमा पुगिन्छ। बबई नदीको पार गरेर चुरे पहाडको काखमा छ, यो मन्दिर।

मन्दिर परिसरमा अवलोकन गर्नका लागि निकै आकर्षक मूर्तिहरु रहेका छन्। पाण्डवेश्वर मन्दिरकोबीच भागमा दिव्य शिवलिंग रहेको छ। यहाँको मन्दिर, तालहरुले तपाईंको घुम्ने मनलाई थप उर्जाशील बनाउन सक्छ।

बाह्रकुने दह

दाङको बाह्रकुने दह जिल्लाका प्रमुख पर्यटकीयस्थल मध्येको एक हो। यो दह विशेष गरेर धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको छ। सिरानमा अग्लो पहाड। वरपर सुसाइरहने जंगल। जंगलको बीचमा शान्त ताल नै बाह्रकुने दह हो। तालको बीचमा एउटा मन्दिर छ। ताल बाहिर अन्य मन्दिर पनि छन्।

जहाँ पूजापठा गरे मागेको पुग्ने विश्वास गरिन्छ। यो दह घोराही उपमहानगरपालिक– १३ मा अवस्थित छ। घोराही बजारदेखि उत्तरतर्फ रोल्पा जानेबाटो हुँदै करिब १० मिनेटको मोटर यात्रा गरे दहमा पुग्न सकिन्छ।

बाह्रकुने दहको पश्चिमतर्फ ज्यामिरे दह छ। बाह्रकुने दहमा पुग्ने जोकोही पनि ज्यामिरे दहमा पुग्ने गरेका छन्। अझ यस दहमा पुग्न सिढी बनाइएको छ। यसले पैदल यात्रालाई थप उर्जामय बनाउने गर्छ। ज्यामिरे दह पनि जंगलको बीचमा शान्त ठुलो तालका रुपमा रहेको छ।

यससँगै घोराही क्षेत्रमा घुम्न सकिने धेरै पर्यटकीयस्थलहरु रहेका छन्। घोराही बजारदेखि पूर्वतर्फ मोटर यात्रमा करिब ५ मिनेटमा पुग्न सकिने चौघेर मन्दिर छ। जुन घोराही–लमही सडकखण्डको उत्तरतर्फ पर्छ।

यस्तै अम्बिकेश्वरी मन्दिरमा पनि घोराही बजारदेखि मोटर यात्रामा ५ मिनेटमा पुग्न सकिन्छ। यो मन्दिर घोराहीको ट्राफिक चोकदेखि प्युठान जाने सडक खण्डको उत्तरतर्फ रहेको छ। घोराही बजारको उत्तरतर्फ बौद्ध गुम्बा र भ्युटावर छ। जसले घोराही बजार अवलोकन गर्नका लागि आनन्ददायी प्रदान गर्छ।

यस्तै घोराहीमा बजेर घोराहीको उत्तरतर्फ रहेको मौलाकोट, सवारी कोटसँगै बंगलाचुली गाउँपालिकाको पर्यटकीयस्थलहरुमा पनि पुग्न सकिन्छ। बंगलाचुली गाउँपालिकामा पनि भ्युटावरसँगै पर्यटकीयस्थलहरु रहेका छन्।

तुलसीपुरमा घुम्नु पर्ने ठाउँ

दाङको तुलसीपुरमा घुम्नु पर्ने ठाउँहरु पनि धेरै रहेका छन्। एकै दिनमा घुमेर आनन्द लिन सकिने ठाउँसँगै धेरै दिन बिताएर घुम्नु पर्ने ठाउँ पनि यहाँ रहेका छन्। विशेष गरेर तुलसीपुर आउने पर्यटकहरुले राप्ती शान्ति उद्यान घुम्न छुटाउँदैनन्। बजारको नजिक र सुन्दर पर्यटकीयस्थल भएकाले पनि यहाँ पर्यटकहरु पुग्ने गरेका छन्।

तुलसीपुर उपमहानरपालिका– ७ गणेशपुरमा रहेको छ, राप्ती शान्ति उद्यान। यहाँ बुद्धको मूर्ति, पानीको फोहरा, कृतिम छहरासँगै बालउद्यानहरु छन्।

यहाँको अर्को आकर्षण भनेको चिडिया खाना पनि हो। जहाँ चितुवा, बाँदर, उल्लु, खरायो लगायतका जनावरहरु राखिएका छन्। आजभोलि टिकटक बनाउनका लागि पर्यटकको विशेष उपस्थिति हुने गर्छ।

चखौरा

चखौरा दंगिशरण गाउँपालिका वडा नम्बर– ३ मा पर्छ। यहाँ थारु जातिहरुको संस्कृतिको बारेमा अवलोकन गर्न सकिन्छ। दंगीशरण थारु राजाले राज गरेको ठाउँ भएकाले चखौरामा थारु संग्रहालय बनाइएको छ।

यहाँ थारु जातिको कला संस्कृति, रितिरीवाज, परम्परा, भाषाको ज्ञानसँगै थारु जातिको जीवनशैली झल्काउने उद्देश्यले बनाइएको संग्राहलय रहेको छ। यो तुलसीपुर बजारदेखि पश्चिमतर्फ मोटर यात्रामा करिब २० मिनेटमा पुग्न सकिन्छ।

पुरन्धारा छहरा

पुरन्धारा छहरा दाङका पश्चिममा रहेको बबई गाउँपालिका वडा नम्बर– ५ मा रहेको छ। तुलसीपुरदेखि करिब १ घण्टाको मोटर यात्रापछि यस छहरामा पुग्न सकिन्छ। वनको बीचमा रहेको यस सुन्दर छहरा हेर्न यहाँ आन्तरिक पर्यटकहरुको भीड नै लाग्ने गरेको छ। तपाई‌‌‌‍‌ पनि घुम्ने योजना बनाउनुभएको छ भने यसले तपाई‌लाई आनन्दित तुल्याउन सक्छ। यी केही दाङका पर्यटकीयस्थलहरुसँगै अन्य ठाउँहरु पनि यहाँ रहेका छन्।

बबई गाउँपालिकाकै धागे छहरा, तुलसीपुरको छिल्लीकोट, तुलसीपुरको दक्षिण बबई पारीको जन्ति ढुंगालगायतका ठाउँको अवलोकन गर्न सकिन्छ।

प्रकाशित मिति: : 2022-10-04 22:05:00

प्रतिकृया दिनुहोस्