निजी विमानहरु डरलकाे लाेभमा पूर्वतिर उडेपछि कर्णालीकाे हवाई यात्रा प्रभावित भएकाे छ। दशैँकाे मुखमा घर फर्किनेहरुकाे भिड भएपनि हवाई जहाज नहुँदा यात्रुहरु मर्कामा परेका छन्।
कर्णाली प्रदेशको माथिल्लो कर्णाली हुम्ला, जुम्ला, डोल्पा र मुगुमा विमानस्थल भए पनि जहाज आउँदैनन्। निजी कम्पनीका बिमानहरू डलर कमाउन भन्दै पूर्वतिर उडान गरेपछि कर्णालीका यात्रु प्रभावित भएका हुन्।
टिकट काटेर कर्णालीमा उडान गर्न तयार भएका निजी विमानले उडान रद्द गर्दै पूर्वतिर जान थालेपछि नेपालगन्जमा धेरै यात्रु अलपत्र परेको गुठीचौर गाउँपालिका– ३ का ईश्वर बुढाले बताए।
'कर्णालीका लागि न भरपर्दो हवाई सेवा छ, न त सुरक्षित सडक यात्रा नै,' उनले भने, 'दसैँतिहारजस्ता चाडमा पनि ज्यानको बाजी लगाएरै भए पनि सडक यात्रा गर्नुपर्ने बाध्यता छ।'
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबासी नै हुन्। तर, हुम्लामा न त नियमित हवाई उडान नै हुन्छ, न त राष्ट्रिय सडक सञ्जालसँग जोएिको छ।
हुम्लाका लागि यातायातको निर्विकल्प साधन हवाईजहाज मात्रै हाे। सहरबाट हुम्ला फर्किन र हुम्लाबाट सहर झर्न हुम्लीलाई सधैँ जहाजकै पिरलो हुँदै आएको उनले बताए।
वर्षको ६ महिना हुम्ला जिल्लाले धानेका निजी कम्पनीहरूले आवश्यकताको समयमा हुम्लीलाई पीडा दिँदै आएको खार्पुनाथ गाउँपालिका– ५ का सागर साहीले दुखेसो गरे। हुम्ली जनतालाई अप्ठ्यारो भएका बेला निजी कम्पनीका एयरले झनै पीडा दिने गरेको उनको भनाइ छ।
कर्णालीमा उडान गरिरहेका निजी कम्पनीले पर्यटक ओसार्न भन्दै जहाज पूर्वतिर पठाएपछि कर्णालीका हजारौँ हवाई यात्रु अलपत्र परेका छन्। हुम्ला, मुगु, जुम्ला र डोल्पामा केही समययता जहाजले उडान भर्ने गरेका छैनन्।
कर्णालीमा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान भर्छन्। तर, यसरी चाडबाडका वेला जहाज नै उपलब्ध नहुँदा यात्रुहरूलाई सास्ती हुने गरेको छ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले संस्कृति पर्यटन तथा यातायात मन्त्रीलाई कर्णालीमा नियमित उडान गर्नका लागि पहल गर्न माग गरिएको बताए।
'कम्पनीहरूले सबै जहाज पूर्व पठाएर यात्रु बिचल्लीमा पार्ने काम जुम्ली जनतालाई सेवा नदिने नियत हो,' उनले भने, 'यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।'
निजी हवाई सेवा प्रदायक कम्पनीहरूलाई प्रत्येक दिन कम्तीमा एउटा फ्लाइट र नेपाल एयरलाइन्सले समेत नियमित सेड्युल फ्लाइट राख्न आवश्यक निर्देशनका लागि पत्र पठाइसकिएको प्रमुख आचार्यले बताए।