बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको विजेता बनेको छ। काठमाडौंमा जारी प्रतियोगिताको फाइनल खेलमा नेपाललाई ३–१ गोलले हराउँदै पहिलो पटक बंगलादेशले उपाधि हात पारेको हो।
काठमाडौंस्थित दशरथ रंगशालामा भएको फाइनल खेलको पहिलो हाफमा बंगलादेशसँग नेपाल २–० गोलले पछि परेको थियो।
खेलको १३ औँ मिनेटमा शाम सुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफको ४१ औँ मिनेटमा श्रीमोती सरकारको गोलसँगै बंगलादेशले पहिलो हाफमा २–० को अग्रता लिएको थियो।
दोस्रो हाफको ६९ औँ मिनेटमा नेपालले एक गोल फर्काएको थियो। नेपालका लागि अनिता बस्नेतले गोल गर्दै खेल २–१ को अवस्थामा फर्काएकी थिइन्।
खेलको ७५ औँ मिनेटमा बंगलदेशका लागि पुनः श्रीमोती सरकारले गोल गरिन्। उनको गोलसँगै बंगलदेशले ३–१ को जित निकालेको हो। जितसँगै बंगलादेशले साफमा पहिलो पटक उपाधि जित्दै इतिहास रचेको छ।
लगातार पाचौँ पटक विजेता बनेको भारत सेमिफाइनलबाटै पराजित भएपछि साफले नयाँ विजेता टिम पाएको हो। सेमिफाइनलमा नेपालसँग १–० ले पराजित हुँदै भारत सेमिफाइनलबाटै घर फर्किएको थियो।