अध्यक्ष कमरेड प्रचण्ड क्रान्तिकारी अभिवादन!
आराम छु, त्यहाँ हजुरलाई पनि निका–आरामै होला भन्ने कामना गर्दछु।
२०६४ सालको संविधानसभा निर्वाचनमा रोल्पा 'ख'बाट विजयी हुनुभएको १५ वर्ष भएछ। जितको प्रमाणपत्र लिएर कमरेड दिपेन्द्रकुमार पुन 'सिजल' (बुवा) र मैले कोटेश्वर कि कता हो, हजुरकै हातमा सुम्पेर हात मिलाएको पनि १५ वर्ष भएछ।
१५ वर्षमा यो चिट्ठी लेख्दासम्म हजुरसँग एकपटक पनि हात मिलाएर बोलेको छैन। नेकपा (माओवादी)ले रोल्पालाई आफ्नो चुनावी ब्याटल ग्राउन्ड बनाएर हजुरसहित तीनपटक चुनावी लडाइँ जितेछ।
२०७९ मंसिर ४ को चुनाव पनि माओवादीले नै जित्छ। जित्नैपर्छ। संयाेग– हजुरले जितेको निर्वाचन क्षेत्र अहिले व्यवस्था परिवर्तनसँगै सानो भयो। रोल्पा जिल्ला सिंगाे एक संघीय निर्वाचन क्षेत्रमा परिणत भयो। प्रदेशको दुईवटा क्षेत्र बन्यो। 'ख' क्षेत्र जुन हजुरले जित्नु भएको थियो, यो क्षेत्रमा २०७४ सालको चुनावमा कमरेड सिजल (बुवा)ले लुम्बिनी प्रदेशको प्रदेशसभा सदस्यको लागि जनताले अमुल्य भोट गरे। विजयी बनाए 'क' बाट कमरेड सोनाम अर्थात् कुलप्रसाद केसी र संघमा कमरेड अनन्त अर्थात् वर्षमान पुन।
म अहिले तपाईंले के गर्नुभयो वा 'रोल्पाबाट जितेका संसद–मन्त्रीले के गरे वा गरेनन्' भन्ने चर्चा गर्दिनँ। बरू म चुनावकै चर्चा गर्छू। २०६४ सालको चुनावमा मेरो नाम भोट लिस्टमा थिएन। तर निर्वाचन आयोगले कारवाही गर्छ या गर्दैन– मैले तीनपटक भोट गरे, अरू साथीहरूले सात गुणासम्म भाेट गरे। हजुर अर्थात् कमरेड 'प्रचण्ड' अत्याधिक मतसहित विजयी हुनुभयो। अनि माओवादी पनि देशकै ठूलो पार्टी बन्यो क्यारे!
२०७० सम्म के–के गर्नु भो! मेरो खासै ध्यान गएन किनकि हजुरप्रति विश्वास राख्ने हजुरको परिवारपछि पार्टी सदस्यको रूपमा ठोकुवा साथ भन्छु म नै हुँ। म जन्मजात माओवादी हुँ। तर म पार्टी सदस्य बाहेक केही छैन किनकि मलाई विश्वास छ, कम्युनिष्ट पार्टीमा सदस्य मात्रै शक्तिशाली हो। तर आजभोलि म देख्छु म्याराथन छ, पद र सत्ताको।
२०७० को चुनावमा पनि २–३ पटक भाेट हालियो। यो निर्वाचन प्रक्रियानै यस्तै रहेछ...! अब चाहिँ होस् आउन थाल्यो आमा–बाबाले वा पछि आएर हामीले बहिष्कार गरेको चुनावको श्रृङ्खलाको...! अझै पनि लाग्दै थियो कि धाँधली गर्ने हो, चुनाव जित्ने हो र सत्ता कब्जा गर्ने हाे। गलत स्कुलिङ थियो या यही। तर सिकाउनुभएकाे थियाे, कमरेड प्रचण्ड? हामीले त त्यै गर्याैँ। हजुर प्रधानमन्त्री हुनुभयो। लगतै राजनीतिक संकट आइलाग्दा राजीनामा पनि दिनुभयो। सत्ताको अभ्यास गर्दै हुनुहुन्छ (काचो,पाको सिकाई, भोगाई, राष्ट्रिय– अन्तर्राष्ट्रिय) भन्दै आत्मसन्तुष्टि गर्याैँ। अरूले गरेनन्, मैले चाहिँ गरे। २०७० मा राेल्पाबाटै कमरेड उषा अर्थात् ओनसरी घर्तीले जित्नुभयो जस्तो लाग्छ। उहाँ प्रथम महिला सभामुख हुँदा गौरवको विषय पनि बन्याे।
२०७४ सम्म फेरि हजुरले के–के गर्नुभयो ख्याल नराख्नु पार्टी सदस्यको हैसियतले मेरो पनि कमजोरी होला। तर अब यहाँ मेरो चलेन। म पार्टी सदस्य बनू या नबनू महत्व छैन, जो जहाँ जाक्कियोस्– यस्तो प्रवृत्ति हाबी भयो। जनताको त के कुरा अब हामी सामान्य पार्टी सदस्यको कुरा नसुन्ने वा त्यहाँसम्म हाम्रो पहुँच नपुग्ने भयो, पिए वा सचिवालयबाट रोकियो। सायद अध्यक्ष कमरेड प्रचण्डलगायत शीर्ष नेताहरूले हाम्रो कुरा सुन्न बनाएको घेरा यस्तो एउटा सर्कल क्रीयट भयो कि जनताले त्यो पार गर्न कथाको लक्ष्मण रेखा भन्दा पनि गारो भयो। तर दानवहरूको लागि लक्ष्मण रेखा सधै फिक्का–फिक्का भयो। रेखा बनाउनेहरू तीनका पछि दगुर्न थाले। (किनकि चुनवमा पैसा चाहिन्छ रेन्त हुनपनि हो हामी त्यही बहिष्कार वाला चुनावी संरचनामा आइपुग्यौँ। हजुरले कता–कता भाषण गरेको नी सुन्छु) तर हामी त्यसलाई प्रोटोकल भन्यौँ। मान्यौँ। र जनतालाई पनि मान्न लगायौँ।
२०७४ को चुनावमा जम्मा एकपटक मात्र भोट हाल्न पाइयो। अब गारो भो? कमरेड प्रचण्ड सारै बाँठो! पार्टी टुट्यो–फुट्यो कुनै प्रबाह छैन। विचार मिलोस्–नमिलोस् कार्यकर्ता मिलून् वा नमिलून् एमालेसँग पार्टी एकता ठोकिदिनू भो। चुनाव क्या सजिलो भो। रोल्पामा एमालेका कमरेडसँग क्या प्यार बसाइदिनु भो।
तत्कालीन नेकपाकाे पार्टी सदस्य नै हुन नपाई प्यार ब्रेकअप गरिदिनु भो– कमरेड प्रचण्ड। फेरि के जादू चलाउनु भो, ढुङ्गा हानाहान। तर मेरो बुवा कमरेड सिजल आजभोलि गम्भीर हुनुहुन्छ– सप्पै एमालेले नभनेपनि धेरै एमालेजनले सिजललाई भोट हाल्नुभयो। अभिभावक मान्नु भयो। तर अहिले कमरेड अध्यक्ष गारो भयो। उहाँले जुन उदेश्यले निर्वाचनको समयमा भोट माग्नु भयो, त्यो केही बाहेक पूरा भएनन्। मुख्यत: जुन एमालेबाट आएको भोटले अपमान नै पायो त भन्दिनँ, सायद चाहेजति सम्मान पाएन। किनकि फेरि पार्टी टुक्रियाे।
यो २०७४ मा अलिक लामो व्याख्या हुन्छ– कमरेड प्रचण्ड चुनाव जितेपछि खासखास जनताको प्रतिनिधि हुने रहेछ। म चुनाव नलडेपनि परिवारको सदस्य हुनु या कार्यकर्ता हुनुको नाताले चुनाव जिताउन मद्दत गरे। बुवाको समिपमा रहेर सत्ता देखेँ। कमरेड सिजललाई जनताले कति रूचाउँछन् मलाई अझै ज्ञान छैन। किनकि जनता विकास चहान्छन्। सहज चुलो बलोस् चहान्छ्न्। शिक्षा, स्वास्थ र रोजगार चहान्छ्न्, त्यो पूरा नभएर बाग्माका मनोज दाजुका बुवा टाईफाईट वा पेट दुख्ने औषधि नपाई कसरी बित्नु भो? पल्लाघरे मामा गाउँको शिक्षामा विश्वास नभएर किन सहरतिरै बसाइँ सरे र तिनकाे पालन–पोषण शिक्षा–दीक्षाको लागि तुल्सी दाजै रोजगारीको लागि किन मुग्लान गए?
ठेकेदारले पैसा नदिएर गाउँका मजदुर किन नेता र ठेकेदारको सम्बन्ध देखेर सुन्नै नसकिने सराप्नु सराप्छन्? त्यो सत्तामा बसेर पूरा गर्न सकिँदैन वा पूरा गर्ने रूचि हुँदैन। मैले अहिलेसम्म पत्ता लगाउन सकेको छैन, कमरेड प्रचण्ड। तरपनि केही आलोचक बाहेक रोल्पाका माओवादी कार्यकर्ताले सिजललाई बिछट्टै रूचाउँछन्, यो सत्ते हो। म यसमा ज्ञान राख्छु– किनकि म पनि नेकपा (माओवादी)को पार्टी सदस्य हुँ।
अब आउने चुनाव २०७९ मङ्सिर ४ काे चर्चा गराैँ– कमरेड प्रचण्ड सक्नुहुन्छ भने फेरि आफै रोल्पामा चुनाव लड्न आउनुहाेस्, अझै दुई पटकसम्म धाँधली गरेर हजुरलाई भोट हाल्ने हिम्मत राख्छु। हजुर न आउने हो भने कमरेड प्रचण्ड पैसा वालालाई टिकट दिनुहोस्।
चुनाव सारै महँगो हुँदोरहेछ, हजुरलाई जिताउँदा थाहा भएन। तर २०७० सम्म पनि खासै थाहा थिएन। अब त स्थानीय चुनावसम्म आउँदा सप्पै आँखैले देखेँ। आफै भोगेँ। कमरेड अध्यक्ष, अब गारो भो। जितेपछि पनि सरै गारो हुने र'छ है। कमरेड प्रचण्ड हजुरले कसरी धान्नु भाछ? मन्त्री हुन पैसा। मुख्यमन्त्री पनि किनबेच, सिद्धान्त नै भुल्दा रचन्। त्यो पद पाइन भने जान्छु, फोड्छु–छोड्छु अरे वा! घुर्की–धम्की वालाले नै पाउँदा र'छन्, त्यो नि नजिकबाट देखेँ।
चुनाव जित्न दलाल, ठेकेदार, कर्मचारी सरूवा–बढुवा, अवैध धन्दाकै संरक्षण गर्नुपर्ने भएकै हो भने कृपया मेरो बाबालाई चुनावी टिकट नदिनुहाेला, कमरेड प्रचण्ड। मैले हजुरको समस्या पनि बुझेँ किन हजुर बस्ने घर ठेकेदारकै पर्यो भनेर, भलै भाँडा दिनुहुन्छ होला। रोल्पामा पनि धेरै आकांक्षी कमरेडहरू हुनुहुन्छ, उहाँहरूलाई नै दिनुस् किनकि मेरो बुवाले मलाई नैतिकता सिकाएर हुर्काउनु भएको हो। उहाँबाट अनैतिक काम देख्न सकिँदैन। यदि चुनाव जित्न अमुख मान्छे, संस्था वा ठेकेदारले पैसा दिएबापट घर आगाडिको पुल, सडक, अस्पताल, विद्यालय वा राष्ट्रिय गौरवका आयोजना लथालिङ्ग हुने हो भने भो त्यो चुनाव लड्न पर्दैन, आदरणीय बुवा दिपेन्द्रकुमार पुन अर्थात् 'कमरेड सिजल'।
यो लेखिरहँदा हजुर लेखेका चिट्ठी पनि सँगै रखेको छु, डायरीमा यत्तिमात्रै भेटिए। धेरै थिए, संग्रह गर्न सकिनँ माफ गरिदिनूहोला बुवा। जति भेटियो पढेँ नैतिकता सिकायो। यहाँ म जस्ता हजारौं–हजार छोराछोरीले हजुरजस्तो असल बुवा गुमाएका छन्, ती बुवाहरू यो चुनाव पाउनलाई शहीद भएका होइनन। पाउनु अर्कै थियो, हजुरहरूले सिकाए अनुसार यहाँ अर्कै भइरहेछ हजुरलाई पनि लागिराछ होला यो बाटोबाट त पुग्दै पुगिँदैन त?
अन्त्यमा कमरेड प्रचण्ड व्यवस्था के हो, अझैसम्म बुझ्नै सकेको छैन– मैले। हजुरको भाषण अचेल मलाई झिजो लाग्छ। किनकि परिकल्पना मीठा हुन्छ्न्, भोगाइ फरक परिसक्यो। सक्या गर्नुभो अब सक्नुहुन्छ भने जोसुक्कै आउन बालेन वा हर्क। ढुक्क हुनाेस्, पुराना हजुर–हामीलाई झस्काइ राख्ने भुतप्रेत राजसंस्था आउँदैनन्।
यो निर्वाचन प्रणाली फालौँ। प्रत्येक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि लडौँ। बरू मरौँ आखिर पैसा वालाले मात्र चुनाव जित्ने भइसक्यो। हामी त्यसैपनि मरेजस्तै हो, कमरेड अध्यक्ष। सायद यो पढ्ने हजुरलाई फुर्सद छैन होला। सचिवालयका रमेश मल्ल दाजु, हजुर अखिल क्रान्तिकारिको जिम्मेवार हुँदा म पनि रोल्पा जिल्ला सदस्य थिएँ। केटोको चिट्ठी छ भनिदिनू होला धन्यवाद।
उनी प्रचण्डनिकट मानिने माओवादी नेता दीपेन्द्रकुमार पुन 'शिजल'का छाेरा तथा राेल्पाका पार्टी सदस्य हुन्।