दार्चुला बाढी-पहिरो पीडितको तत्कार उद्धार गर्न कांग्रेस नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले दार्चुला जिल्लामा बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै दु:ख व्यक्त गरेका छन्।

शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले दार्चुलामा ठूलो धनजनको गरेको छ। महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्।

प्रभावित क्षेत्रका जनताको उद्धार तथा राहतका लागि सरकारले तदारुकता देखाउनु पर्ने महरले बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

'अविरल वर्षा र बाढी-पहिरोले गर्दा दार्चुला जिल्लाको महाकाली नगरपालिकास्थित लास्कु खोला, श्रीबगर निजाडगाड साथै नौगाड र महाकाली नदी किनारमा ठूलै जनधनको क्षति भएको खबरले दुखित भएको छु। राहत र उद्धारका लागि यथाशिघ्र पहल सुरु गर्न  सरकारसँग अनुरोध गर्दछु,' उनले भनेका छन्।

बाढी पहिरोले दुई वटै स्थानीय तहका ६० घरपरिवार विस्थापित भएका प्रहरीले जनाएको छ। अहिलेसम्मको प्राप्त विवरण अनुसार ९१ घरमा क्षति पुगेको र ४२ घर पूर्ण रुपले क्षतिग्रस्त भएको प्रहरीको भनाइ छ।

महालकाली नगरपालिकाको लास्कु खोलामा आएको बाढीले दुई वटा झोलुङ्गे र एउटा मोटररेवल पुल बगाएको छ। एउटा विद्यालय, विद्युत पावर हाउसमा पूर्ण रुपले क्षति गरेको छ।

बाढीपहिरोमा परेर २६३ पशुचौपाया मरेका छन् भने ७ वटा जीप तथा कार, एउटा ट्रयाक्टर र एउटा डोजर हराएका छन्।

प्रकाशित मिति: : 2022-09-10 22:04:00

प्रतिकृया दिनुहोस्