झापा ३ : सिटौलालाई गठबन्धनको भर, लिङ्देनलाई एमालेको 

‘हाइ प्रोफाइल’ का नेताहरुको गृह जिल्ला झापामा चुनावी सरगर्मी बढेको छ। झापा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेसका शिर्ष नेता कृष्णप्रसाद सिटौला, माओवादीका लोकप्रिय नेता राम कार्कीले चुनाव लड्दै आएको जिल्ला हो।

२०७४ को निर्वाचनमा झापामा कुनै क्षेत्र नजितेको कांग्रेस यसपालि गठबन्धनको सहायताले एमालेलाई परास्त गर्ने दाउमा छ। सत्ता गठबन्धनकाे सिट बाँडफाँडका संयोजकसमेत रहेका कृष्णप्रसाद सिटौला झापा-३ मा चुनाव लड्दै आएका छन्।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनसँग चुनावी तालमेल गरेका राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनसँग पराजित भएका सिटौलालाई यसपालि गठबन्धनको भर छ।

एमाले-माओवादीको वाम गठबन्धनसँग तालमेल गरेर कांग्रेसका प्रभावशाली नेता सिटौलालाई पराजित गरेर २०७४ सालमा झापा-३ बाट राजेन्द्र लिङ्देन उदाएका थिए। प्रतिनिधिसभामा राप्रपाको बिउ जोगाएका लिङ्देन गत मंसिरमा सम्पन्न महाधिवेशनबाट राप्रपाको अध्यक्ष बनेका हुन्।

२०७४ सालमा ४४ हजार ६ सय १६ मत पाएर लिङ्देन विजयी भएका थिए भने कांग्रेसका सिटौलाले ३१ हजार १ सय ७१ मत पाएका थिए।

प्रदेशसभामा पनि क्षेत्र नम्बर ३ (क) मा तीन दलीय गठबन्धन एमाले, माओवादी र राप्रपाको तर्फबाट उम्मेदवार बनेका एमालेका बसन्तकुमार बानिया २२ हजार ५३५ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशीले १७ हजार ५ मत ल्याएका थिए।

यस्तै प्रदेशसभाको क्षेत्र नम्बर ३ (ख) मा भने तीन दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादीका पूर्णप्रसाद राजवंशीले २२ हजार ६५ मत ल्याएर विजयी बनेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भागिरथ कुमार पोद्धारले १४ हजार ७३५ मत ल्याएका थिए।

३१ वर्षदेखि निरन्तर चुनाव लड्दै आइरहेका सिटौलालाई चुनाव जित्न त्यति सहज देखिँदैन। गठबन्धनको सिट बाडँफाँटको जिम्मेवारी पाएका सिटौलाका लागि आफ्नो क्षेत्रमा पनि सोहीअनुसार लेखाजोखा गर्ने र गठबन्धनका तर्फबाट कसले उम्मेदवारी दिने भन्ने टुङ्गो लगाउन ठुलो चुनौती देखिन्छ।

झापा-३ मा सिटौलालाई सहगोग गर्ने पक्षमा माओवादी छ। गठबन्धनमा भागबन्डा नमिलेको खण्डमा माओवादीले आफ्नो उम्मेदवारी दिने बताएको छ।

यता, एमालेले पनि यस पटक दुर्गा प्रसाईंलाई अघि सार्ने बताएको छ। नेकपा हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वास पात्र मानिएका प्रसाईं नेकपा विभाजनपछि एमाले अध्यक्ष ओलीका विश्वास पात्र हुन्। प्रसाईं विर्तामोडको बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक हुन्।

एमाले-राप्रपाबीच गठबन्धनको सम्भावना

झापा–५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। ओली अहिले पनि सोही क्षेत्रबाट चुनाव लड्ने पक्का छ।

सत्ता गठबन्धनका दलहरु एकजुट भएर लागेमा ओलीलाई चुनाव जित्न कठिन छ। अघिल्लो निर्वाचनमा आफू सुरक्षित हुन झापा-३ मा राप्रपाका लिङ्देनलाई सहयोग गरेका ओलीले यसपालि पनि राप्रपासँग गठबन्धन गर्ने सम्भावना छ।

एमालेका एक स्थायी समिति सदस्यले एमालेको अहिले कुनै दलसँग तालमेल गर्ने योजना नभए पनि आवश्यकताअनुसार हुन सक्ने बताए। ती नेताले झापामा एमाले र राप्रपाबीच गठबन्धन गर्ने कुरा चलिरहेको संकेत गरे।

राप्रपाले भने कुनै एक सिटका लागि मात्र गठबन्धन नहुने बताएको छ। ‘२०७४ को निर्वाचनमा पनि हामीले एमालेकै अनुरोधमा गठबन्धन गरेर निर्वाचन सहभगी भयौँ। त्यसैले यस पटक पनि एमालेसँग गठबन्धन नहोला भन्न सकिँदैन,’ राप्रपाका एक नेताले भने, ‘तर कुनै एक सिटका लागि मात्र हामी यसपालि गठबन्धन गर्दैनौँ, जिल्लाभर गर्नुपर्छ।’

यस्तो छ स्थानीय तहको मत

एमालेविरुद्ध सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको मोर्चाबन्दी छ।

१५ पालिका रहेको झापामा गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम हेर्दा पाँच दलीय गठबन्धनविरुद्ध एक्लै बलियो देखिएको एमाले झापा-३ मा भने केही कमजोर बनेको छ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षको मत परिणामअनुसार झापा-३ मा कांग्रेस बलियो देखिन्छ। कांग्रेसलले २५ हजार ९४९ मत ल्याएको छ। राप्रपाले २१ हजार १५९, एमालेले २१ हजार ०८५, माओवादी ६ हजार ६८८, जसपा ५ सय ३७ र लोसपाले २०८ मत ल्याएका छन्।

२८ वडा रहेको झापा-३ मा कांग्रेस एक्लै १६ वडा जितेको छ। यस्तै राप्रपाले ५, एमालेले ४, माओवादीले २ र १ वडा स्वतन्त्रले जितेका छन्।

झापा ३ मा कचनकवल गाउँपालिका, हल्दीबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका, भद्रपुर नगरपालिका (१–८ वडा) र विर्तामोड नगरपालिकाको १० नं वडा पर्छ।

प्रकाशित मिति: : 2022-08-23 14:43:00

प्रतिकृया दिनुहोस्