महाभियोग सिफारिस समितिको दोस्रो बैठक मंगलबार बस्दै 

File Photo
File Photo

महाभियोग सिफारिस समितिको बैठक मंगलबार बस्ने भएको छ। यो समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो। दोस्रो बैठक ७ गते बस्न लागेको हो।

समितिका जेष्ठ सदस्य रामबहादुर विष्टका अनुसार मंगलबार दिउँसो २ बजे बैठक बस्ने तय भएको छ।

उक्त बैठकमा यसअघि वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबारामाथिको अध्ययन कार्यतालिका पेस गर्ने कार्यसूची छ।

‘महाभियोग उपर कुन दिन के गर्ने, कति दिनमा सकाउने भनेर कार्यतालिका पेस गर्ने र पास गर्ने हाम्रो प्रयास रहन्छ’, मंगलबारको बैठकको तयारीबारे जानकारी दिँदै जेष्ठ सदस्य विष्टले भने।

साथसाथै, समितिको सभापति चयनको विषय पनि उठ्न सक्ने उनले बताए। ‘पहिलो बैठकमा सभापतिको कुरा उठेको थियो। यसबीचमा सभापतिकै लागि खास तयारी त भएको छैन्। तर, पनि उठ्न सक्छ,’ विष्टले भनेका छन्।

प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाभियोगउपर अध्ययन गर्ने जिम्मेवारी महाभियोग सिफारिस समितिले २२ साउनमा पाएको थियो।

जिम्मेवारी पाएको नौ दिनपछि महाभियोग सिफारिस समितिको पहिलो बैठक बसेको थियो। पहिलो बैठक बसेको सात दिनपछि मंगलबार दोस्रो बैठक बस्न लागेको हो।

१ फागुन २०७८ मा ९८ जना प्रतिनिधिसभा सदस्यहरुले जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए। जबराविरुद्धको महाभियोग प्रस्ताव २९ फागुन २०७८ मा प्रतिनिधिसभा बैठकमा पेस भएको थियो। प्रतिनिधिसभाले २२ साउन २०७९ मा जबराविरुद्धको महाभियोग प्रस्ताव, महाभियोग सिफारिस समितिमा पठाएको थियो।

प्रतिनिधिसभा नियमावलीले महाभियोग दर्ता भएपछि दुई साताभित्रै छानविनका लागि महाभियोग सिफारिस समितिमा पुग्ने र समितिले जिम्मेवारी पाएको ३ महिनाभित्र अध्ययन सकाएर सिफारिस गर्नुपर्ने भनेको छ।

प्रकाशित मिति: : 2022-08-22 15:46:00

प्रतिकृया दिनुहोस्