लुम्बिनी प्रदेश : एक वर्षमा के गर्‍यो कुलप्रसाद केसी नेतृत्वकाे सरकार ?

File Photo
File Photo

लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) का नेता कुलप्रसाद केसी नेतृत्वमा बनेको सरकारले एक वर्ष पार गरेको छ।

वि.स. २०७८ साउन २८ गते तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि केसीको नेतृत्वमा गठबन्धन दलहरुको सरकार गठन भएको थियो।

केसी नेतृत्व सरकारको एक वर्ष पुरा भएको अवसरमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले सरकारको प्रगति विवरण सर्वाजनिक गरेका छन्।

उनले सरकारको एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै केसी नेतृत्वको सरकार निकै सफल भएको दाबी गरे।

शर्माले केसी नेतृत्वको सरकारले आर्थिक वृद्धिदर बढाउनुका साथै प्रदेश कार्यान्वय, भौतिक निर्माणलगायतको क्षेत्रमा उपलब्धिमूलक काम गरेको दाबी गर्दै ५२ वटा उपलब्धिमूलक कामको सूची सार्वजनिक गरे।

सरकारका प्रवक्ता शर्माले आर्थिक वर्ष २०७८/०७९ मा आर्थिक वृद्धिदर ५.३६ प्रतिशतले प्रतिव्यक्ति आय र ११०३ यूयस डलर राष्ट्रिय कुल ग्राहर्स्थमा १४.१ प्रतिशत योगदान रहेको बताए।

बजेट कार्यान्वयको सन्दर्भमा पुँजीगत ७७.४७ प्रतिशत र चालुमा ७०.२२ प्रतिशत कुल खर्च ७४.२० प्रतिशत रहेकोमा खुशी व्यक्त गरे।

शर्माले लुम्बिनी प्रदेश सरकारले प्रदेशबासीहरुको जीवनलाई समृद्ध बनाउने गरी कार्य थालीन गरेको बताउँदै थुप्रै योजनाको सुरु गरेको बताए।

जसअनुसार मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम, प्रदेश राजधानी निर्माणका लागि गुरु योजना तयार, सिँचाइतर्फ थप २ हजार ६५८ हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार, ३७० हेक्टर जमिनमा तटबन्ध, विपद् व्यवस्थापनतर्फ ७५३ घरपरिवारलाई राहत प्रदान, १५३ क्षतिग्रस्त घरको पुनर्निर्माणमा सहायता उपलब्ध गराएको लगायत रहेका छन्।

यस्तै केसी नेतृत्वको सरकारले एक वर्षमा गरेका कार्यहरुमा पाँचौं प्रदेश समन्वय परिषद्को बैठक सम्पन्न भइ निर्णयहरूको कार्यान्वयन गरिएको, नवनिर्वाचित १०९ स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख/उपाध्यक्षसँग प्रदेश सरकार र स्थानीय तहबीचको समन्वय र अन्तरसम्बन्धका सम्बन्धमा विज्ञहरुसहित छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको पनि समेटिएका छन्।

यसैगरी प्रदेश प्रहरी ऐन, प्रदेश वन ऐन, सञ्चारमाध्यम ऐन जारी भइ कार्यान्वयनमा लगिएको, पीडितसँग प्रदेश सरकार कार्यक्रममार्फत् बर्दियामा ४९३ मिटरको हात्ती छेकबार आरसीसी पर्खाल निर्माण तथा रुपन्देही र बर्दियामा ११०० मिटर तारजाली व्यवस्थापन गरिएको र वन्यजन्तुको आक्रमणबाट पीडितलाई राहत प्रदान गरिएको, २२३ किमि सडक कालोपत्रे, २६५ किमि ग्राभेल र १२१ किमी नयाँ ट्रयाक खोलिएको, प्रदेश स्थापना पश्चात् हालसम्म ७२ ओटा सडक पुल निर्माण भएकोमा ४० ओटा यसै वर्ष सम्पन्न भएको र २३ ओटा झोलुङ्गे पुलमध्ये ११ ओटा यस वर्ष सम्पन्न भएको जनाइएको छ।

प्रकाशित मिति: : 2022-08-14 17:50:00

प्रतिकृया दिनुहोस्