उदयपुर–१ मा कांग्रेस ढुक्क, २ मा गठबन्धनलाई सकस

फाइल तस्विर
फाइल तस्विर

सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेपछि उदयपुरमा राजनीतिक जोडघटाउ सुरु भइसकेको छ।

उम्मेदवार बन्ने आकांक्षीहरुको दौडधुप बढेको छ। टिकटको ‘लबिङ’ सुरु हुन थालेको छ। टिकट हत्याउन नेताहरु रस्साकस्सीमा छन्।

उदयपुरमा वहालवाला मन्त्रीदेखि स्थानीय नेतासम्मले टिकटका लागि दौडधुप सुरु गरेका छन्। २ निर्वाचन क्षेत्र रहेको उदयपुरमा अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादीले एक/एक क्षेत्र जितेको थियो। ०७४ मा कांग्रेसविरुद्ध एमाले–माओवादीको वाम गठबन्धन थियो।

अहिले देशमा पाँचदलीय गठबन्धन छ। सरकारमा सहभागी दलहरुले आगामी निर्वाचनमा गठबन्धन कायम गरी एमालेका विरुद्ध मोर्चाबन्दी गरेर जाने निर्णय गरिसकेका छन्।

गठबन्धन भएको खण्डमा उदयपुरमा एमालेलाई चुनाव जित्न सहज छैन। गएको स्थानीय तहको निर्वाचनको मत परिणामअनुसार एमालेलाई गठबन्धन भारी हुने देखिन्छ।

अघिल्लो निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १ मा कांग्रेसका डा. नारायण खड्का विजय हुँदा २ बाट वाम गठबन्धनका माओवादी उम्मेदवार सुरेश राई विजय भएका थिए।

क्षेत्र नम्बर १ मा कांग्रेसका खड्का, एमालेमा धेरै आकांक्षी

२०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ मा कांग्रेसका डा. नारायण खड्का विजयी भएका थिए। उनले वाम गठबन्धनकी एमाले उम्मेदवार मञ्जु चौधरीलाई झिनो मतान्तरले पराजित गरेका थिए।

खड्काले ३३ हजार १४२ मत ल्याउँदा उनका प्रतिस्पर्धी चौधरीले ३२ हजार ५९४ मत ल्याएकी थिइन्। खड्का २०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा साविकको उदयपुर-१ बाट निर्वाचित भएका थिए भने चौधरी ०७० सालको निर्वाचनमा उदयपुर २ बाट विजयी भएकी थिइन्।

यसपटक पनि गठबन्धनबाट खड्काको उम्मेदवारी सुनिश्चित जस्तै छ। खड्का हाल परराष्ट्रमन्त्री छन्। उनका अलावा कांग्रेसका जिल्ला सभापतिसमेत रहेका प्रदेश १ का सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीको पनि नाम चर्चामा रहेको छ। उनलाई फेरि प्रदेशमै दोहोर्याउने पनि चर्चा छ।

त्यस्तै गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका बलदेव चौधरी पनि आकांक्षी रहेका छन्।

एमालेले भने यस पटक पनि चौधरीलाई नै दोहोर्याउने सम्भावना रहेको एक जिल्ला नेताले बताए। उनले मञ्जुको विकल्प खोजे एमालेले जित्न नसक्ने दावी पनि गरे।

१ नम्बर क्षेत्रमा एमालेका जिल्ला अध्यक्ष परमेश्वर घिमिरे, प्रदेशसभा सदस्य विमल कार्की, डा. कल्याण रोक्का र ईश्वरमणी राउतले पनि आकांक्षा व्यक्त गरेका छन्। एमालेका एकथरी नेताले भने उम्मेदवार परिवर्तन गर्नुपर्ने बताएका छन्।

८ पालिका रहेको उदयपुरको क्षेत्र नम्बर १ मा ३ पालिका पर्दछ। बेलका, त्रियुगा र चौदण्डीगढी नगरपालिका पर्छ। स्थानीय तहको मत परिणामअनुसार यस क्षेत्रमा गठबन्धनको बर्चश्व छ।

त्रियुगा र बेलका नगरपालिकाको प्रमुखमा कांग्रेसले जितेको थियाे। यी दुवै पालिकाको उपप्रमुखमा भने एमालेले जितेकाे थियाे। उदयपुरमा एमाले एउटा पालिकामा मात्र विजयी भएको थियाे। चौदण्डीगढीको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको थियाे।

२ नम्बरमा गठबन्धनको फाइदा उठाउने दाउमा एमाले

क्षेत्र नम्बर २ बाट २०७४ को निर्वाचनमा वाम गठबन्धनका सुरेश राई विजयी भएका थिए। माओवादीबाट उम्मेदवार बनेका राईले प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्व सांसद नारायणबहादुर कार्कीलाई सात हजार ९६ मतले पराजित गरेका थिए। विजयी राईले २२ हजार ५५१ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी कार्कीले १५ हजार ४५५ मत मात्र ल्याएका थिए।

पाँचदलीय गठबन्धन भएको खण्डमा यो क्षेत्रमा कांग्रेसले दावी नगर्ने देखिन्छ। गठबन्धन हुँदा यो क्षेत्र माओवादी र एकीकृत समाजवादीको भागमा पर्ने देखिन्छ। माओवादीबाट हालका सांसद राईले नै टिकट पाउने सम्भावना छ। तर, उनलाई एकीकृत समाजवादीका केन्द्रीय सचिव जगनाथ खतिवडाको चुनौती छ।

खतिवडा २०७० सालको संविधानसभाको चुनावमा नारायण कार्कीसँग पराजित भएका थिए। खतिवडा गठबन्धनको फाइदा लिएर यस पटक उम्मेदवार बन्ने दौडधुपमा छन्। उनी प्रायः आफ्नो निर्वाचन क्षेत्रमा संगठन विस्तारको कामलाई तिव्र पार्दै आएका छन्।

कांग्रेसका नारायण कार्की र रामकुमार खत्रीले पनि उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरिरहेका छन्। यो क्षेत्रमा गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस पर्ने देखिन्छ।

गठबन्धनमा उम्मेदवार छनोट गर्न समस्या पर्दा त्यसको फाइदा लिने दाउमा छ, एमाले। एमालेले यो पटक प्रदेशसभा सदस्य कला घले, नेता अमर रायमाझी र शैलेस लामामध्ये एक जनालाई अघि सार्ने चर्चा चलेको छ।

घले प्रदेशको पूर्वभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत हुन् भने लामा विद्यार्थी राजनीतिबाट पार्टी नेतृत्वमा आएका हुन्। उनी हाल एमालेको प्रदेश कमिटी उपमहासचिव छन्। अर्का आकांक्षी अमर रायमाझीले आकांक्षा देखाएका छन्।

उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ मा पाँच पालिका पर्छ। यस क्षेत्रमा कटारी नगरपालिकासहित रौतामाई, ताप्ती, उदयपुरगढी र लिङचुङबुङ गाउँपालिका पर्छ।

गएको स्थानीय निर्वाचनमा पाँच पालिकामध्ये कुनै पनि पालिकामा एमालेले प्रमुख जितेको छैन। यो क्षेत्रमा गठबन्धनको बर्चश्व छ। रौतामाई, ताप्ती र लिङचुङबुङ गाउँपालिकाको प्रमुखमा माओवादीका उम्मेदवार विजय भएका छन् भने उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए।

कटारी नगरपालिकाको प्रमुख र उदयपुरगढीको उपप्रमुखमा पनि कांग्रेसले जितेको थियाे। उदयपुरगढीको प्रमुखमा भने नेकपा एकीकृत समाजवादीले जितेको थियाे।

२०७४ को स्थानीय निर्वाचनमा यस निर्वाचन क्षेत्रका ५ पालिकामध्ये चार पालिका प्रमुख जितेको एमालेले यस पटक भने कटारीमा उपप्रमुखमात्र जितेको छ।

प्रकाशित मिति: : 2022-08-12 19:35:00

प्रतिकृया दिनुहोस्