कमजोरीलाई सच्चाउँदै चुनावमा होमिनु होस्: उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कमजोरीलाई सच्चाउँदै चुनावमा होमिन नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

एमाले लुम्बिनी प्रदेशको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भने, ‘अब सबैको ध्यान मंसिरको चुनाव केन्द्रित हुनुपर्छ। स्थानीय तहको निर्वाचनमा भएका कमजोरीलाई सच्चाउँदै सम्पूर्ण पार्टीपंक्ति चुनावमा होमिनुहोस्।’

अधिकांश समय निर्वाचनको समीक्षामा खर्चिएका पौडेलले भने, ‘अब हाम्रो ध्यान चुनाव केन्द्रित हुनुपर्दछ। यो प्रशिक्षणको केन्द्रीय कार्यभार हो। आजकल पार्टीका सिपाहीहरू कर्तव्यबाट विमुख बन्न थालेका छौँ। सबैले आत्म समीक्षा गरेर जिम्मेवारी बहन गरौँ।’

राष्ट्रिय आकाङ्क्षाको प्रतिनिधित्व गर्न, संविधान र राष्ट्रिय हितको रक्षासहित सामाजिक न्याय सहितको गरी समृद्ध नेपाल र सुखी नेपालको नारा अगाडि लैजाने गरी जनतासमक्ष पुग्न नेता पौडेलले आग्रह गरेका छन्।

उनले पार्टी सरकारमा रहँदा यिनै विषयलाई कार्यक्रम बनाएर अगाडि बढेको र प्रतिपक्षमा रहँदा यसका लागि दबाबसहितका कार्यक्रम गरेर बलियो राष्ट्रिय शक्ति बनेको विषयलाई मतदातासमक्ष पुराउनुपर्ने तयारी गर्न अपील गरेका छन्।

उपाध्यक्ष पौडेलले भने, ‘काँग्रेस बुर्जुवा सुधारवादी शक्ति हो, यो परिवर्तनको संवाहक बन्न सक्दैन, दलाल पूँजीपति, अस्ताउँदो सामन्तवाद, उग्र कम्युनिस्ट विरोधी, साम्राज्यवाद, प्रभुत्ववादको रक्षा गरेर नै एसपीपी सम्झौताको ड्राफ्ट गरेको हो, एमालेले विरोध नगरेको भए हामी युक्रेन बन्ने थियौँ।’

प्रकाशित मिति: : 2022-08-06 20:02:00

प्रतिकृया दिनुहोस्