‘दिल्लीले होइन, जनताले सरकार बनाउनुपर्छ’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जनताले सरकार बनाउनुपर्ने बताएका छन्। हालसम्म दिल्लीबाट सरकार परिवर्तन हुँदै आएको उनको भनाइ छ।

पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले अहिलेसम्म दिल्लीले सरकार बनाउँदै आएको दाबी गर्दै बताउँदै उनले जनताले सरकार बनाउनुपर्ने बताएका हुन्।

‘दिल्ली गएर भन्ने होइन। जनताको अदालतमा आएर भन्ने हो, मास मिटिङ गरेर जनतासँग भोट माग्ने हो। जनताले सरकार बनाउने हो,’ उनले भने, ‘दिल्लीले बनाउने होइन।’

बिजुक्छेले सरकारमा सामेल हुनकै लागि बामपन्थी र दक्षिणपन्थी गठबन्धन गर्नै नहुने बताएका छन्। बामपन्थी र दक्षिणपन्थी सरकारमा सामेल भए पनि घोषणापत्र नै तयार नगरी सरकारमा जानु खेदजनका रहेको बताए।

सरकारले मंसिर ४ गतेलाई प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तोकिसकेको अवस्था छ। बामपन्थी र दक्षिणपन्थी चुनावी गठबन्धन गरेर जाने सहमति गरेर गलत गरेको उनले बताए। ‘मिल्नु गलत हो। तर, घोषणापत्र नै जारी नगरि कसरी जाने हो थाहै नभई जान हुन्न,’ उनले भने।

नेता बिजुक्छेले जनता एकजुट भएर राजनीतिक पार्टीहरुलाई अनुशासनमा राख्नुपर्ने बताए। राजनीतिक पार्टी अनुशासित नभएसम्म देश सही बाटोमा नआउने उनको भनाइ छ। अहिलेसम्मका राजनीतिक दलका मनपरी रोक्न पनि जनता एकजुट हुनुपर्ने उनको धारणा छ।

प्रकाशित मिति: : 2022-08-05 19:05:00

प्रतिकृया दिनुहोस्