सयौँ बेसाहराका लागि साहरा बनेकी श्रीनेहा (भिडियोसहित)

फिल्मी क्षेत्रमा करिअर बनाउने सपना बुनेकी श्रीनेहा पोखरेलको जीवन कुनै फिल्मभन्दा कम छैन। 

सानैदेखि अभिनय गर्नमा रुची राख्ने उनलाई परिस्थितीले नेपाल स्नेही काखकी ‘आमा’ बनाइदियो। त्यहीँ पनि अविवाहित आमा। 

कुरा आजभन्दा १४ वर्षअघिको हो, जब सानी श्रीनेहा स्कुलबाट घर फर्किदै थिइन्। त्यहीँ उनले देखिन्–बाक्लो–मैलो जिङ्रिङ्ग कपाल, च्यात्तिएको सर्ट, काँधमा मैलो पाइन्ट बोकेर कट्टु मात्र लगाएका एक व्यक्ति। जो हिलो पानी पिइरहेका थिए। 

त्यो देखेकी श्रीनेहाले एक बोतल पानी किनेर ती व्यक्तिलाई दिइन्। त्यसरी फोहोर पानी पिइरहेका ती व्यक्ति उनको मस्तिकमा बस्न थाले। अनि दिनदिनै उनलाई खानेकुरा चाउचाउ, बिस्कृट त कहिले चकलेट दिन थालिन्। 

दिनदिनै भेटेर खानेकुरा दिइरहेकी श्रीनेहाले एकदिन ती व्यक्तिलाई सोधिन्, ‘तपाई के खानु हुन्छ? जवाफमा उनले ‘भात’ भने। 

भात खाने इच्छा गरेका ती व्यक्तिका लागि उनले खाना पकाएर ल्याइन्। आफ्नो अगाडि खाना देखेर रमाएका उनले हात नधोई खाना खान थाले। 

फोहोर हातले खाना खान लागेपछि श्रीनेहाले नै उनको हात समातेर धोइदिन थालिन्।  श्रीनेहाले त्यसो गरिरहँदा ती व्यक्ति उनलाई हेर्दै रुन थाले। 

अपरिचित व्यक्तिको आँखाबाट एक्कासी आँसु बगेको देखेर श्रीनेहाको अन्तरआत्माले भन्न थाल्यो, ‘यो व्यक्तिको लागि तिमीले केही गर्नुपर्छ श्रीनेहा।’ 

कलिलै उमेरकी श्रीनेहाले उनलाई ‘हेयर सैलुन’ लगिन्। तर ‘हजम’ ले उनको कपाल काट्नै मानेनन्। ‘उहाँको कपाल धेरै फोहोर थियो, त्यसैले सैलुनका मान्छेले कपाल काट्नै मानेन’ उनले भनिन्। 

उनकाे फोहोर कपाललाई काट्न नमानेपछि श्रीनेहाले उनलाई नुहाई दिइन्। अनि आफैँले कपाल काटिदिइन्। अपरिचित व्यक्तिसँग एक प्रेमील सम्बन्ध बनाइसकेकी श्रीनेहाले उसलाई एक होस्टलमा राखिन्। जसको पैसा उनले मार्सिक तिर्ने थालिन्। 

‘मैले उहाँलाई बाटोमा भौतारिएर हिडेको देख्न सकिनँ, त्यसैले होस्टेलमा राखिदिएँ’ विगतका कुरा स्मरण गर्दै उनले भनिन्, ‘उहाँसँग मेरो छुट्टै नाता बनिसकेको थियो।’ 

‘समाजसेवा गर्ने प्रेरणा आमाबाट पाएँ’

सानी श्रीनेहा एकदिन आमासँग भद्रकाली मन्दिर गएकी थिइन्। उनलाई थाहा छैन, त्यो समय उनी कत्ति वर्षकी थिइन्। तर उनको मस्तिकमा धमिलिएर बसेको छ, त्याे दिन। जुन दिन उनकी आमाले अपरिचित महिलाको सहयोग गरेकी थिइन्। 

उनलाई यतिमात्र याद छ कि, उनी आमाको पछाडी लुक्ने गर्थिन्। आमासँग मन्दिर  जाँदा उनले एउटी महिला देखिन्, जो सुत्केरी थिइन्। 

ती महिलालाई देखेर उनकी आमाले आफ्नो साडी फुकाल्न थालिन्। र त्यहीँ साडी ती महिलालाई ओडाई दिइन्।

त्यसो गर्दा आमाकी साथीहरुले भनेका थिए– ‘किन आफ्नो साडी दिएको?’ तर उनकी आमाले केही बोलिनन्। 

आमाले आफ्नो शरीर ढाकेँकाे साडी उतारेर अरुलाई दिएको कुरा त्यो बेला नबुझेकी श्रीनेहा अहिले भन्छिन्, ‘त्यतिखेर धेरै सानी थिएँ, सोच्ने शक्ति मसँग थिएनँ। अहिले थाहा भयो उहाँले किन आफ्नो साडी फुकाएर ती महिलालाई दिनुभएको रहिछ। त्यसैले मैले अरूको सेवा गर्नुपर्छ भन्ने भावना मेरी आमाबाटै सिकेकी हुँ।’

कसरी सुरु भयो नेपाल स्नेही काख?

आफ्नो अस्तित्व गुमाएका व्यक्तिलाई होस्टेलमा राखेकी श्रीनेहाले धेरै बेसाहरा मनोरोगीहरुको उद्धार गर्न थालिन्। र विस्तारै उनीहरुका लागि जस्ताका टहरा बनाइदिइन्। 

‘धेरै मानिसलाई कोठा भाडामा बस्न दिदैँन त्यसैले टहरा बनाएर राखेकी हुँ’ उनले भनिन्, ‘उहाँहरु नै मेरो परिवार हो।’ 

आफूले धेरै जनालाई माया गरेर राखेको कारण नेपाल स्नेही काख’ नाम राखिएको बताउँदै उनले भनिन्, ‘याे नामकाे मतलब न्यानो काख हो।’ 

अहिले उनीसँग ५०–६० जना मानसिक राेगी र बालबालिका छन्। जसको स्याहारका लागि उनी स्वंयम नै खटिरहेकी छिन्। 

उनीसँग भएका सबै बालबालिकालाई  मानसिक राेगीले जन्म दिएका हुन्। जसलाई श्रीनेहाले बाटोबाट उद्धार गरेकी हुन्। 

‘उनीहरुलाई मैले मेरो पेटबाट जन्माएकी होइन’ उनले बिएल नेपाली सेवासँग कुराकानी गर्दै भनिन्, ‘तर उनीहरुलाई मैले मेरो मुटुबाट जन्माएकी हुँ। जसको लागि म दुख गर्दैछु र गरिरहनेछु।’ 

आफूलाई सबैले आमा भन्ने गरेको बताउँदै उनी भन्छिन्, ‘म कत्ति धेरै भाग्यमानी रहेछु, त्यसैले आमा जस्तो पवित्र शब्दले सम्बोधन हुन पाएँ। म धेरै खुसी छु।’ 

‘पहिलोपटक आमा भनेर बाेलाउँदा लाज लाग्यो’

उनले बाटोमा निर्वस्त्र हिडेकी महिलादेखि आफ्नै शरीरको मैलो खाने पुरुषलाई साहरा दिएकी छन्। 

उसले मानसिक सन्तुलन गुमाएका मानिसलाई निको बनाएर ‘आमा’ भन्ने बनाएकी छिन्। आफूले उद्धार गरेर ल्याएका व्यक्तिले पहिलोपटक ‘आमा’ भनेर बाेलाउँदा लाज लागेकाे उनी सम्झिन्छिन्।

‘मात्र १६ वर्षकी थिएँ, मलाई आमा भनेर बाेलाउँदा धेरै लाज र अप्ठारो लाग्यो’ उनले भनिन्, ‘तर विस्तारै बानी हुन थाल्याे, त्यसैले आमा शब्द लाई स्वीकार्न थालेँ।’ 

आफूले बाटोमा भेटाएका वेवारिसे मानसिक रोगी निको बनाएर घर फर्कादिने गरेको उनी बताउँछिन। उनले ६८ जना मानसिक रोगीलाई त घर नै पठाइसकेकी छिन्। 

‘उहाँहरु निको हुनुभएपछि मेरो घर त्यो ठाउँमा छ भनेर जानुहुन्छ। तर मलाई उहाँहरुको धेरै माया लाग्छ’ विवाह गरेकी छोरीलाई घर पठाउँदाको जस्तो पीडा आफूलाई हुने भन्दै उनले भनिन्, ‘आफैँलाई नै नचिन्ने व्यक्तिलाई आमा भन्ने बनाउँछु। उहाँहरुलाई घर पठाउँदा धेरै दुख लाग्छ। तर उहाँहरुको भविष्य सोचेर हाँसी दिन्छु।’ 

आफूले बाटोबाट ल्याएर निको बनाएकी एक महिला प्रतिष्ठित परिवारको रहेको बताउँदै उनले भनिन्, ‘उहाँ त सरकारी वकिलको श्रीमती हुनु हुँदो रहिछ। उहाँकै श्रीमान आएर उहाँलाई लैजानुभयाे। तर आफ्नो अस्तित्व लुकाउन आग्रह गर्नुभयो।’ 

‘म तपाईलाई धेरै माया गर्ने मान्छे हुँ’ 

सुरुवाती दिनहरुमा बाटोबाट ल्याएका मानसिक सन्तुलन गुमाएका मानिसले उनलाई नोक्सान नगरेको पनि होइन्। तर उनी चुपचाप सहने गर्थिन्। 

 ‘मलाई उहाँहरुले कुट्नुहुन्थ्यो, चिथार्नु हुन्थ्यो’ आफ्नो शरीरमा चिथोरेर बनाएको दाग देखाउँदै उनले भनिन्, ‘मलाई टोक्नु भयो मेरो बाक्लो कपाल पातलो बनाइदिनुभयो तर मैले कहिले नराम्रो भनिनँ।’

मानसिक सन्तुलन गुमेकाहरुले आफूलाई कुटिरहँदा श्रीनेहाले उनीहरुको हात समातेर भन्ने गर्थिन्, ‘म तपाईलाई धेरै माया गर्ने मान्छे हुँ।’ त्यसो भनिरहँदा उनलाई कुट्ने मानिसले पनि उनलाई टोलाएर हेर्ने गथे। 

अहिले उसलाई कुट्ने मानिस निको भएर मानसिक सन्तुलन गुमाएकाहरुलाई भन्ने गर्छन्, ‘म तिमीलाई धेरै माया गर्ने मान्छु हुँ।’ 

आफूले निको बनाएका बिरामीहरुले त्यसो भन्दा आफू स्वर्ग पुगेको अनुभव हुने उनी बताउँछिन्। ‘मेरो लागि त्यो भन्दा खुसी कुरा अरु के पो हुन सक्छ र’ उनले भनिन्, ‘उहाँहरुले त्यस्तो कुरा गर्दा जत्ति मैले दुख भोगेको थिएँ, सबै बगेर जान्छ।’ 

 ‘विगत सम्झिदा रुन मन लाग्छ’

सानै उमेरमा श्रीनेहाले धेरै दुख भोगिसकेकी छिन्। त्यसैले उनी सबैकी प्यारी आमा हुन्। उनीसँग बसेका सबै मानिस आफ्नो बच्चा भएको उनी बताउँछिन्। 

‘म उहाँहरुको आम हुँ र उहाँहरु मेरो बच्चा हुनुहुन्छ’ उनले भनिन्, ‘त्यसैले मेरो बच्चाहरुको खुसी नै मेरो खुसी हो।’

आफ्ना बच्चाहरु रमाएर नाचेको देख्दा रुन मन लाग्ने उनी भन्छिन्, ‘उहाँहरु हाँसेर रमाएको देख्दा रुन मन लाग्छ र उहाँहरुसँग विगतमा घटेका घटना नदोहोरियोस् जस्तो लाग्छ।’

आफ्ना बच्चाहरुलाई दयनीय अवस्थाबाट भेटाएर ल्याएको उनले सुनाइन्। 

‘एक दिन साँझ पाटन अस्पतालको नजिकै बाटोमा एक आमा हुनुन्थ्यो, जसको शरीरमा कुटेको डाम थियो’ उनले भनिन्, ‘उहाँलाई अस्पताल लगेपछि थाहा भयो। उहाँ त गर्भवती हुनु हुँदो रहिछ।’ 

आमा जस्तीलाई बलात्कार गरेकोमा उनी दुख व्यक्त गर्छिन्। ‘आमा शब्द आफैँमा कत्ति मिठो छ तर तीनै आमालाई बतात्कार गरे’ उनी भन्छिन्, ‘कत्ति निर्दयी रहिछन् मानिस!’ 

उनीसँग अर्को नमिठो अनुभव पनि छ, जसलाई उनी सम्झन चाहदिनन्। ४ वर्षअघि उनको बिरामी घरबाट भागे। उसैको खोजीका क्रममा उनी पशुपतिनाथ पुगिन्। जहाँ उनले आफ्नी बिरामीलाई पनि भेटिन्। 

आफ्नो मान्छे भेटेर खुसी थिइन्, श्रीनेहा। तर उतिनै बेला कसैले उनलाइै कोट्याउदै भन्न थाले, ‘दिदि त्यहाँ बच्चा छ’। त्यो सुनेकी उनी बच्चातर्फ लागिन्। 

‘मान्छेको मनमा बच्चा भन्ने बित्तिकै सुन्दर भन्ने बुझिन्छ तर म ती बालक देखेर दुखी भए’ चार वर्षअघिको कुरालाई स्मरण गरेर उनले भनिन्, ‘ती बालककाे अनुहार कालो र रुएर आँसु नै सक्किएजस्तो थियो।’

बालकलाई भेटेर अस्पताल लगेकी श्रीनेहालाई डाक्टरले भनेका थिए–‘बच्चा बच्ने सम्भावना धेरै कम छ।’ 

डाक्टरको कुरा सुनर उनले मनमनै सोच्न थालिन्, ‘बच्चालाई केही नहोस् भगवान।’ नभन्दै डाक्टरको कुरा गलत साबित भयो र ती बालकले नयाँ जीवन पायो। 

मृत्युको मुखमा पुगेर फर्किएका ती बालकलाई श्रीनेहा आफैँले राख्न थालिन्। र उनको नाम ‘भविष्य’ राखिदिइन्। ‘अहिले ऊ चार वर्षको भएको छ, उसको धेरै माया लाग्छ’ उनी भन्छिन्, ‘ऊ मेरो बच्चा हो।’

आफूले दुख गरेर बचाएका बच्चाहरुलाई अरुले माग्न आउँदा दुख लाग्ने गरेको उनी बताउँछिन्। 

‘जब कसैले आफ्नो सन्तानलाई आफूबाट टाढा लैजान खोज्छ तब एक आमा बाघिनी हुन्छिन् । मान्छेले कसरी भन्न सक्छन्, कि मलाई तिम्रो बच्चा देऊ भनेर?’ उनी भन्छिन्, ‘म अहिले पनि भन्न सक्दिनँ कि उनीहरुलाई मैले जन्म दिएकाे होइन। उनीहरुको आमा म नै हुँ।’

कसरी चलिरहेको छ, नेपाल स्नेही काख?

श्रीनेहाले आफ्नै बलबुतामा संस्थालाई खडा गरेकी हुन्। उनी टेली श्रृङखलामा सानोतिनो अभिनय गर्छिन् अनि त्यहीँबाट आएकाे पैसाले आफ्ना बच्चाहरुको पेट पालिरहेकी छिन्। 

‘मनकारी दाताहरुले सहयोग पनि गर्नुभएको छ’ उनले भनिन्, ‘तर सहयोग नगर्दा चाहिँ हामीलाई धेरै समस्या हुन्छ। हामीले आफ्नो खाना बाड्ँन सक्छौँ तर उहाँहरुलाई खुवाउने औषधि बाड्ँन सक्दैनौँ। त्यसैले हामीलाई आर्थिक समस्या छ।’ 

आफूलाई घरपरिवारको सर्पोट भएको भन्दै उनी भन्छिन्, ‘मेरो परिवारले मलाई यो कामको लागि साथ दिइरहनुभएको छ।’ 

‘विवाह गर्ने रहर छैन’

आफ्ना बच्चाहरुका लागि दिनरात खट्ने उनलाई एउटै कुराको डर छ। बच्चाहरुको पेट कहिले खाली नहोस्। त्यसैले त उनलाई विवाह गर्नमा कुनै चासाे छैन।

‘मेरो लागि धेरै केटाहरु आउनु भयो तर विवाह गर्ने मेरो सोच्नै छैन’ उनले भनिन्, ‘विवाह गरौँला नी विस्तारै।’ 

आफ्नो बच्चाका लागि बासस्थान होस भनेर सोच्ने उनको एक मात्र सपना छ, ‘कोही पनि मानसिक सन्तुलन गुमाएका मानिस बेवारिसे भएर बाटोमा भौतारिएर हिड्ँन नपराेस्। 

  

प्रकाशित मिति: : 2022-08-05 22:00:00

प्रतिकृया दिनुहोस्