गठबन्धनबाट झापा- १ मा कसले पाउँदैछ टिकट : विश्वप्रकाश शर्मा कि राम कार्की ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आफ्नो निर्वाचन क्षेत्रमा मसिनो गरी घुमिरहेका छन्। पार्टीको महामन्त्री पदमा निर्वाचित भएपछि पनि आफ्नो निर्वाचन क्षेत्रमा समय दिइरहेका शर्मा निर्वाचन केन्द्रीत घुमफिरमा रहेको सहजै आँकलन गरिएको छ।

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चार दिने झापा बसाई सकेर फर्किएपछि गृह जिल्ला हान्निएका शर्मा चार दिनदेखि जिल्लामा कार्यकर्ता भेटघाटमा व्यस्त छन्। लामो बसाई जिल्लाबाहिर नै हुने भएकाले आउँदा सबै विरामी, मरिमराउ भएको परिवारमा पुग्ने गरेको उनका निकट कांग्रेसी बताउँछन्।

जिल्लामा कृष्ण सिटौलाको गुटबाट राजनीतिक पीडित बनेका शर्मा समूह आउँदो निर्वाचनमा झापा १ सुरक्षित गर्न चाहन्छ। माओवादीसहितको गठबन्धनमा रहेको कांग्रेसलाई उम्मेद्वार छनौटमा सकस भए पनि १ नम्बर क्षेत्र गुमाउने पक्षमा छैन। झापा १ मा अघिल्लो निर्वाचनबाट निर्वाचित माओवादी नेता राम कार्की ‘पार्थ’ र कांग्रेस महामन्त्री शर्मामध्ये गठबन्धनको उम्मेद्वार को हो ? भन्ने अन्यौल पनि बढ्दै गएको छ।

एमालेसँगको तालमेलबाट शर्मालाई पराजित गरेका कार्की यो निर्वाचनमा शर्मासँगै मिलेर अघि बढ्नपर्ने बाध्यता आइपरेको छ। गठबन्धन भए पनि जितेका ठाउँहरु पाइने भएपछि माओवादी ढुक्क देखिएको छ। कार्कीका स्वकीय सचिव शिव बुढाथोकीले गठबन्धनबाट स्वभाविक रुपमा जितेकै माननीयले तत्तत् निर्वाचन क्षेत्रमा उम्मेद्वारी पाउने व्यवस्था हुनेछ। त्यसमा कुनै द्विविधा छैन। बुढाथोकी भन्छन्,– यसअघि जितेका कारण आउँदो निर्वाचनमा पनि सहज देखिएको छ।

यता, तीनअघि मात्रै क्षेत्रीय भेला गरेका शर्मालाई प्रतिनिधिसभाको उम्मेद्वार बन्न कार्यकर्ताले तीब्र दवाव छ। उनले झापा १ नै आफ्नो पहिलो रोजाइ हुने कार्यकर्तालाई विश्वस्त बनाएका छन्। आम कार्यकर्ताले आउँदो निर्वाचनमा गठबन्धनबाट शर्माकै उम्मेद्वारी हुनुपर्ने दवाव बढाइरहेका छन्।

झापा १ मा लगातार पराजित भइरहेका शर्माकै कारण स्थानीय चुनावको मेचीनगरमा अपेक्षाकृत परिणाम नआएको आरोप लाग्यो। यसबारे कार्यकर्ताहरुको भेलामा स्पष्ट पनि पार्दै आएका छन्। क्षेत्रीय भेलाको अवसरमा शर्माले भनेका थिए,– मेचीनगर मेरो कारण हारियो भने क्षमा चहान्छु। तर, बिर्तामोड, अर्जुनधारा, कनकाई, गौरादह चै कसरी हारियो ? प्रतिप्रश्न गरेका छन्।

संसदीय निर्वाचनमा पटक–पटक परिाजित शर्माले आफुलाई झापा १ बाट उम्मेद्वार हुन छुट भएको बताएका छन्। उनले थपे– उम्मेद्वार हुन छुट छ, हार्न छुट छैन। महिनामा १ साताभन्दा बढी समय आफ्नो जिल्लालाई दिने बताएका शर्माले कार्कीलाई उछिनेर टिकट पाउने संभावना कम छ। गठबन्धन भएमा विगतमा निर्वाचित भएका प्रतिनिधिसभा सदस्य नै त्यहाँको पहिलो हकदार हुने गठबन्धनभित्रको भद्र सहमति छ।

मतदाता र कार्यकर्ताका दृष्टिले माओवादीभन्दा नेपाली कांग्रेस बलियो छ। कांग्रेस स्रोत भन्छ, झापा १ मा कांग्रेस खड्कुला हो भने माओवादी कचौरा मात्रै हो।

यसअघिका निर्वाचनले पनि माओवादी मतका हिसावले झापा १ मा कमजोर नै देखिन्छ। भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसका मेयरका उम्मेद्वारले २१ हजार ३ सय ११ मत प्राप्त गरेका थिए। गठबन्धनबाट उम्मेद्वार बनेको माओवादीले उपप्रमुखमा १२ हजार ८ सय १८ मत ल्याएको निर्वाचन आयोगको तथ्याङकमा उल्लेख छ।

यस्तै, बुद्धशान्तिमा कांग्रेसले अध्यक्ष पद जित्यो। उपाध्यक्षमा माओवादी त्यहाँ पनि पराजित भयो। अध्यक्ष ११ हजार ४ सय ३ मत प्राप्त गर्दा माओवादीबाट उम्मेद्वार बनेका व्यक्तिले ५ हजार २ सय १६ मत प्राप्त गरेका थिए। गठबन्धनका कारण ती मतहरुमा नेपाली कांग्रेसको मत पनि परेको स्वीकार गर्नैपर्छ।

०७४ को संघीय निर्वाचनमा राम कार्कीले कांग्रेस नेता विश्वप्रकाश शर्मालाई पराजित गरेका थिए। कार्की एमाले, माओवादी र राप्रपाको साझा उम्मेद्वार थिए। एकै ठाउँमा खस्दा कार्कीले ३६ हजार १ सय ७३ मत प्राप्त गरेका थिए भने कांग्रेसका उम्मेद्वार शर्माले ३३ हजार ३ सय १० मत प्राप्त गरे। प्रतिशतका आधारमा हेर्दा शर्माभन्दा कार्कीको मत ३ दशमलव ९१ प्रतिशत बढि ल्याएर निर्वाचित भएका थिए।

निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रका जनतामा गरेको प्रतिवद्धता पुरा गर्न नसकेकोले कार्कीको आलोचना व्यापक छ। यता, उनको सचिवालले कोभिडका कारण प्रतिवद्धता पूरा गर्ने सवालमा कमजोरी भएको स्वीकारेको छ।

प्रकाशित मिति: : 2022-08-03 19:20:00

प्रतिकृया दिनुहोस्