लुम्बिनीमा मन्त्री परिवर्तनको तयारी, कांग्रेसको पत्र कुर्दै मुख्यमन्त्री

लुम्बिनी प्रदेशमा मन्त्री परिवर्तन गर्ने तयारी थालिएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत अन्य दलहरुले पनि मन्त्री परिवर्तनका विषयमा छलफल गरिरहेका छन्।

तर मन्त्री कहिले परिवर्तन गर्ने भन्ने विषयको भने टुंगो लाग्न सकेको छैन। दलहरुले छलफल भइरहेको बताएका छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्धिन खाँनले मन्त्री परिवर्तनका विषयमा कुरा भइरहेको बताए पनि टुंगो नलागेको जानकारी दिए।

‘मन्त्री परिवर्तन गर्ने विषयमा कुरा भइरहेको छ, तर कहिले हुन्छ भन्ने विषयको कुनै टुंगो छैन’, उनले बिएल नेपाली सेवासँग भने। मन्त्री परिवर्तन गर्ने विषयमा लुम्बिनी कांग्रेसले केन्द्रीय नेताहरूको सहमति खोजिरहेको छ।

गठबन्धन गरेर सरकार गठन गर्दा कांग्रेस र माओवादीले आठ/आठ महिना सरकार सञ्चालन गर्ने र यहि साउन महिनामा परिवर्तन गर्ने सहमति गरेका थिए। तर अहिले माओवादी केन्द्र सरकार परिवर्तनका विषयमा सहमत नभएपछि मन्त्री परिवर्तन गर्ने तयारी थालिएको हाे।

मन्त्री परिवर्तन गर्नका लागि कांग्रेस संसदीय दलको असार १३ गते बसेको बैठकले सहमतिसमेत गरिसकेको छ। नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका कुलप्रसाद केसी (सोनाम)ले मन्त्री परिवर्तनका लागि कांग्रेसलाई पर्किरहेका छन्।

‘मन्त्री परिवर्तनका विषयमा कुरा भइरहेको छ, जसका लागि कांग्रेसको पत्रको पर्खाइमा मुख्यमन्त्री हुनुहुन्छ,’ माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले भने। उनले कांग्रेसले नयाँ मन्त्रीको नाम पठाएमा माओवादी केन्द्र लगायत अन्य दलहरुले पनि मन्त्री परिवर्तन गर्ने बताए।

‘सरकार परिवर्तन हुँदैन, तर मन्त्री परिवर्तनको तयारी छ,’ उनले भने, ‘कांग्रेस र माओवादीले मात्र मन्त्री परिवर्तन गर्ने पनि होइन गठबन्धनका सबै दलले परिवर्तन गर्छौँ।’ उनले मन्त्री परिवर्तन कहिले हुन्छ भन्ने विषयमा अनविज्ञता प्रकट गरे। मुख्यमन्त्रीले आवश्यकताअनुसार मन्त्री परिवर्तन गर्ने प्रमुख सचेत घर्तीको भनाई छ।

के भन्छन् मन्त्रीहरु?

लुम्बिनीमा मन्त्री परिवर्तनको तयारी थालिए पनि अहिले मन्त्री रहेकाहरु आफूहरुलाई नहटाउन पार्टीलाई दबाब दिइरहेका छन्। छोटो समयमा नै मन्त्री परिवर्तन गर्नुले राम्रो सन्देश नजाने भन्दै हालका मन्त्रीहरु परिवर्तनको पक्षमा छैनन्।

कांग्रेसबाट मन्त्री भएका वन तथा वातावरण मन्त्री सुरेन्द्र बहादुर हमालले अब मन्त्रिपरिषद् परिवर्तन नहुने बताए। उनले पार्टीमा मन्त्री परिवर्तनको तयारी थालिएको बताउँदै अब ढिला भइसकेको बताए।

‘साउन महिनामा सरकार नै परिवर्तनको तयारी थियो, त्यहि अनुसार पार्टीमा तयारी भयो र निर्णय पनि भएको थियो,’ उनले भने, ‘अब ढिला भइसकेको छ। सायद मन्त्री परिवर्तन हुँदैन।’

यस्तै माओवादी केन्द्रबाट मन्त्री भएका स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले अब मन्त्री परिवर्तन नहुने दाबी नै गरे। उनले मन्त्री परिवर्तनको कुरा बाहिर आएको जस्तो नभएको भन्दै परिवर्तनको सम्भावना नरहेको बताए।

प्रकाशित मिति: : 2022-08-03 13:52:00

प्रतिकृया दिनुहोस्