धर्मेन्द्र बास्तोलाले भने– फेरि प्रचण्ड र माधवलाई जिताइदिन सक्छौँ 

नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला (कञ्चन)ले फेरि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई आउने निर्वाचनमा आफूहरुले जिताउन सक्ने बताएका छन्। दाङको घोराहीमा पार्टीले गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘२०७४ को निर्वाचनमा एमाले र माओवादी मिलेर बनेको नेकपालाई हामीले चुनाव बहिस्कार गरेर जिताइदिएका हुँ। फेरि आउने निर्वाचनमा प्रचण्ड र माधवलाई जिताउन सक्छौँ,’ उनले भने। तर प्रचण्ड-माधवलाई जिताउनका लागि उनीहरुले आफ्नो कुरा मान्नु पर्ने बास्तोलाको माग छ।

उनले अहिलेको संसदीय व्यवस्थाको अन्त्य गर्ने गरी सहमति गरेमा उनीहरुलाई निर्वाचनमा जिताउन सक्ने बताए।

संसदीय व्यवस्था अन्त्य गर्न पश्चिमा साम्राज्यवादले गर्दा त्यति सहज नभएको भन्दै उनले त्यसको विकल्पमा स्वाधिन संयुक्त सरकार गठन गरेर कार्यान्वयनमा जान सकिने बताए।

राजनीतिक सहमति र जनदवाव सृजना गरेर यो व्यवस्थाको अन्य हुने उनको भनाइ छ। यही राजनीतिक सहमति गर्न र जनदवाव सृजना गर्नका लागि पनि फेरि प्रचण्ड माधवलाई संसदमा पठाउन आफूहरुले निर्वाचन बहिस्कार गरिदिने र उनीहरुलाई जिताइदिने बास्तोलाले जिकिर गरे।

स्वाधिन सरकार आवश्यक

बास्तोलाले अब स्वाधिन सरकार गठन हुनुपर्ने बताए। स्वाधिन हुन सबैले चाहेको भएपनि अहिलेका पार्टीका नेताहरु स्वाधिन हुन नसकेको उनको भनाइ छ।

‘स्वाधिन हुन सबैलाई मन छ, तर अहिलेका नेताहरु शेरबादुर देउवादेखि प्रचण्ड, माधव, केपी ओली सबै स्वाधिन हुन सक्नुभएको छैन,’ उनले भने, ‘किनकी कसैबाट दमिद, परिचालित हुनपरेको छ।’

त्यसैका कारणले अहिले अमेरिकी सहयोग एमसीसी पास गर्ने मन नहुँदा नहुँदैपनि एमसीसी संसदबाट पास भएको बास्तोलाले बताए।

कसैबाट दमित नहुनका लागि अबको आवश्यक्ता स्वाधिन सरकार गठन हुनुपर्ने उनले बताए। जसका लागि संसदीय व्यवस्थाको अन्त्य हुन नसकेपनि प्रणालीको अन्त्य गर्नुपर्ने, राजनीतिक स्थिरताको ग्यारेण्टी हुनुपर्ने, सामाजिक रुपान्तरण हुनुपर्ने, शान्ति स्थापना हुनुपर्ने, समृद्धिको सुनिश्चिता, स्वाधिनता स्थापित हुनुपर्ने उनले माग राखे। यी कुराहरु स्थापित भएमा आफूहरु पनि सरकारमा जाने उनले बताए।

प्रकाशित मिति: : 2022-08-01 14:12:00

प्रतिकृया दिनुहोस्