अर्थमन्त्रालयमा जनार्दन शर्माकाे ‘कमब्याक’

नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएकाे छ।

आर्थिक वर्ष २०७९/८० काे बजेट निर्माणका क्रममा मन्त्रालयमा अनाधिकृत व्यक्तिहरू छिराएर करकाे दर हेरफेर गरेकाे भन्दै चाैतर्फी आलाेचना भएपछि शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए। साेही दिन सभामुख अग्नी सापकाेटाले ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनाएर छानबिन गर्न निर्देशन दिएका थिए। १७ दिन लगाएर विशेष समितिले तयार गरेर प्रतिवेदनमा अर्थमन्त्री शर्मा निर्दाेष ठहरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पुन: नियुक्ति गरेका हुन्।

शर्मालाई अर्थमन्त्रीमा नियुक्ति गर्न भन्दै आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए। प्रधानमन्त्रीकाे आग्रहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्।

शर्माले आइतबार नै राष्ट्रपति भण्डारीबाट शपथ लिने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2022-07-31 16:16:00

प्रतिकृया दिनुहोस्