सुत्केरी महिलालाई गोठमा राख्ने संस्कारको अन्त्य गर्नुपर्छ : थापा

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापाले गाईवस्तुको बच्चा अगेनोमा सुत्केरी महिलालाई गोठमा राख्ने संस्कारलाई अन्त्य गर्नुपर्ने बताएका छन्। 

शनिबार दैलेख सदरमुकाममा आयोजित सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको १५औं संस्थागत सामाजिक तथा लैङ्गिक परीक्षणमा कार्यकारी प्रमुख थापाले यस्तो बताए।

संस्थाका संस्थापक अध्यक्षसमेत रहेका थापाले भने, ‘भैँसीले पाडो जन्माउँछ, बाख्राले पाठो जन्माउँछ, गाईले बाच्छो जन्माउँछ, भर्खरै जन्मिने ती पाडो, पाठो बाच्छोलाई अगेनोमा राख्छौ, छुईछिटो गर्दैनौँ तर हाम्रै घरको बहिनी, भाउजू र आमाले बच्चा अर्थात् शिशु जन्माउँदा गोठमा राख्छौ, अब यस्तो खालका कुसंस्कार र प्रर्थालाई अन्त्य गर्नुपर्छ।’ 

मान्छेलाई गाई भैँसी र बाख्रा भन्दा पनि तल्लो दर्जामा राख्ने कुसंस्कारलाई अन्त्य नगरी समाजको विकास हुन नसक्ने कार्यकारी प्रमुख थापाको भनाई थियो ।

उनले सोसेक नेपालले लागु औषध दुर्व्यसनी, बाल विवाह अन्त्यका लागि आफूहरूले काम गरिरहेको बताए। 

‘हामीले ‘मर्यादित महिनावारी  हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारालाई शिरमा राखेर संस्थाका कार्यक्रम तथा क्रियाकलापहरू सञ्चालन गरिरहेका छौँ,’ उनले भने। 

कार्यकारी प्रमुख थापाले बिहेवारि २० वर्ष पारीको अभियानलाई सफल बनाउन आग्रह गरे। ‘बाल विवाह गर्दा महिलाहरू हिंसामा पर्ने गरेको देखिन्छ, अब बाल विवाहलाई अन्त्य गर्नुपर्छ,’ उनले भने।

कार्यकारी प्रमुख थापाले संस्थाले संस्थागत एवं समुदायस्तरमा सुधार गर्नुपर्ने सवालमा आफूहरू प्रतिबद्ध रहेको बताए। 

अब आधारभूत तहमा मात्र नभई माद्यामिक तहमा समेत छात्रवृत्ति स्वरूप शैक्षिक सामग्री उपलब्ध गराउन पहल गर्ने कार्यकारी प्रमुख थापाको भनाई छ।

सोसेक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना र गुराँस गाउँपालिकाले जोखिममा रहेका बालबालिकाहरूलाई समेत सहयोग गरिरहेको कार्यकारी प्रमुख थापाले बताए।

प्रकाशित मिति: : 2022-07-30 19:27:00

प्रतिकृया दिनुहोस्