फबिन्द्र आचार्य 'क्षितिज' रोल्पाका स्थानीय माओवादी युवा नेता हुन्। रोल्पा नगरपालिका माओवादी अध्यक्षसमेत रहेका उनी समूह फेर्न नामुद छन् भने अवसरमा हात चाट्न उत्तिकै दखल राख्छन्।
पूर्व लडाकुसमेत रहेका क्षितिज पार्टी फुटका समयमा माेहन वैद्यको कित्तामा थिए। उनी बादलसँगै हाल लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको फेरो समाउँदै प्रचण्ड कित्तामा आएका हुन्। आवश्यकताअनुसार कृष्णबहादुर महरा र वर्षमान पुनकाे कित्तामा खेलिरहन्छन्।
दोस्रो कार्यकाल अस्पताल विकास समिति राेल्पाका अध्यक्ष बनेका क्षितिज कमिसनको खेलमा बढी डुब्दा रोल्पा अस्पतालको व्यवस्थापन गञ्जागोल बनेको छ। आवश्यकता पहिचान नगरेर कमिसनका लोभमा आवश्यक औषधि खरिद गरेकाले केही दिन अगाडि लाखौँ मूल्यका औषधि म्याद सकिएको भन्दै सुटुक्क जलाइएको छ।
हरेक वर्ष सुटुक्क जल्ने औषधि यो वर्ष ठुलो परिमाणमा जलेको एक स्वास्थ्यकर्मीले बताएका छन्। ‘कमिसन आउने औषधि खरिद गरेका कारण खपत भएन अनि म्याद सकिएका कारण जलाएर नष्ट गरियो,’ उनले भने।
अस्पताल सुदृढीकरणका नाममा आउने ठुला बजेट अपारदर्शी रुपमा खरिद गर्नु, स्वास्थ्य बीमा गरेकाहरूले सेवा नै नपाउने गरी अस्पतालको फार्मेसीमा औषधि नराख्नु नियति बनेको छ।
अस्पतालको अस्तव्यस्तता नजिकबाट बुझेका माओवादी नेतृत्वले पनि क्षितिज सदरमुकामको स्थानीय भएका कारण कडा रुपमा दबाब दिन सक्दैनन्। स्थानीय एक स्वास्थ्यकर्मी भन्छन्, ‘क्षितिज अस्पताल विकास समितिको अध्यक्ष हुँदासम्म अस्पताल कहिल्यै सुधार हुनै सक्दैन।’
क्षितिजले पदको दुरुपयोग गर्दै अस्पतालका डाक्टरसँगको मिलेमतोमा आफ्ना बुवा द्वन्द्वकालीन गम्भीर घाइते भएको कागजात तयार गरी उच्च श्रेणीको जीवन निर्वाह भत्तासमेत खाइरहेकाे रहेका छन्। अरुका सहारामा बाँच्नु पर्नेलाई राज्यले दिने उक्त सेवा सबै कामकाज र दैनिकी बिताउन सक्ने बुवा ईन्द्रकुमार आचार्यका नाममा उच्च श्रेणीको जीवन निर्वाह भत्ता लामो समयदेखि आइरहेको छ।
केही दिन अघि माओवादी कार्यकर्ताले बिदामा घर आएका प्रहरीलाई कुटपिट गरेको घटना पनि क्षितिजको पहलमा आर्थिक लेनदेन गर्दै मिलापत्र गर्न बाध्य बनाइएको छ। त्यसो त जिल्ला समन्वय समितिको घरबहाल सस्तोमा लिएर अरुलाई महँगाेमा भाडा दिएको पनि सबैले देखिरेहका छन् तर उनको विरोध हुने गरेका छैन।
पशु र कृषिको अनुदानमा समेत हिस्सा लिएका क्षितिज आफूलाई सामाजिक अभियन्ता बताउन भने छोड्दैनन्। यिनै क्षितिजले केही दिन अगाडि समाचारका विषयमा पत्रकारलाई सामाजिक सञ्जालमा गाली बेइज्जती गरेपछि पत्रकार महासंघले विरोध जनाउँदै विज्ञप्तिसमेत निकाल्नु परेको थियो।
व्यक्तिगत आरोप बढी भयो कि ? स्थानीय कर्मर्चारी डोन भएर बसेका छन् उनीहरुकै सहयोगमा कमिसनमा भाग लिएको को चाही निश्चित हो . बाहिर बाट आउने कर्मचारी लाई जानकारी न दिई आफुलाई सामाजिक कार्यकर्ता जस्तो देखउने स्थानीय कर्मचारी ले खासमा ब्रह्म लुट गरेका छन्
यस्तालाई किन कार्वाही हुँदैन त ?