एसपीपीमा सहभागी नहुने विषयमा अमेरिकालाई पत्राचार गरियाेस् : माधव नेपाल

File Photo
File Photo

सत्ता साझेदार दल एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाल सहभागी नहुने भन्दै तत्काल अमेरिकालाई पत्राचार गर्न आग्रह गरेका छन्।

एक महिनाअघि सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरेको भए पनि हालसम्म यसबारे औपचारिक रुपमा अमेरिकालाई जानकारी नगराएपछि सदनदेखि सडकसम्मबाट सरकारको आलोचना भइरहेका बेला अध्यक्ष नेपालको उक्त अभिव्यक्ति सार्वजनिक भएको हो।

काठमाडौंमा आइतबार पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपीमा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरे।

यसबारे केही दिनअघि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले प्रधानमन्त्री देउवालाई तत्काल अमेरिकालाई पत्राचार गर्न आग्रह गरेको उनको भनाइ छ।

गत ६ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरेको थियो। तर, परराष्ट्र मन्त्रालयले एसपीपीमा नेपाल सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाएको छैन। पत्राचार गर्ने विषयमा छलफल भइरहेको मन्त्रालयले बताउँदै आएको छ। 

प्रकाशित मिति: : 2022-07-24 16:54:00

प्रतिकृया दिनुहोस्