कांग्रेसलाई तर्साउन वाम गठबन्धनको हल्ला फिँजाइयाे : प्रदिप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कांग्रेसलाई तर्साउनका लागि वाम गठबन्धन र वाम एकताको फन्दा चलाइएको बताएका छन्।

प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले कांग्रेसलाई तर्साउन र चुनावका लागि बार्गेनिङ गर्न वाम गठबन्धनको हल्ला फिँजाइएको दाबी गरे।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बन्नेगरी मात्र गठबन्धन गर्ने भनी गरेको निर्णयबाट सत्ता साझेदार अन्य दलले पसिना काढेको चर्चा गर्दै उपमहासचिव ज्ञवालीले भने, 'अलि पहिले प्रधानमन्त्रीको अफर आयो भन्ने फन्दा चलाइएको थियो, त्यो फेल खायो, अव वाम एकताको फन्दा चलाइएको छ।'

कांग्रेसले चुनाव जित्दा खुसी मनाउनेहरूलाई वामपन्थी मान्न नसकिने भन्दै उनले एमालेको नेतृत्व स्वीकार गरेर देश विकास र समृद्धिको एजेण्डा मिल्नेहरूसँग भने चुनावी एकता हुन सक्ने बताए।

गठबन्धन नगरी चुनाव जितिन्न भन्ने सोँचमा एमाले नरहेको दाबी गर्दै उपमहासचिव ज्ञवालीले एमाले सत्ता प्राप्त गर्नकै लागि जोसँग पनि लहसिनुपर्छ भन्ने मान्यताबाट टाढा रहेको बताए। 'सत्ता नै सबै कुरा हो भनेर जोसँग पनि लहसिने काम एमालेले गर्दैन,' ज्ञवालीले भने।

प्रकाशित मिति: : 2022-07-23 14:59:00

प्रतिकृया दिनुहोस्