१ वर्षीया बालिकालाई भारतमा लुकाएर १५ लाख फिरौती माग्ने योजना विफल

दुई जना पक्राउ

एक वर्षीया बालिकालाई विराटनगरबाट अपहरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुढीगंगा–१ बस्ने दिपेन यादवकी १ वर्षकी छोरीलाई अपहरण गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा विराटनगर–५ की अनु साह र विराटनगर ६ रामपुर बस्ने २७ वर्षका रविन्द्रकुमार साह रहेका छन्।

उनीहरुले बालिकालाई भारतमा लुकाएर १५ लाख फिरौती माग्ने योजना बनाउँदै गर्दा उनीहरुलाई प्रहरीले पक्राउ गरेर उनीहरुको योजना विफल बनाएको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले बताए। 

बालिकालाई उनीहरुले विराटनगर १२ रोड शेष चोक छेउबाट गत साउन २ गते बिहान ९ बजे अपहरण गरेका थिए।

खोजी गर्ने क्रममा बुधबार बिहान ८ बजे नेपाल भारतको बोर्डर एरियाबाट अपहरित बालिकाको सकुशल उद्धार गरिएको डीएसपी कार्कीले जानकारी दिए।

रविन्द्रको योजनामा अनुले दीपेन्द्रलाई छोरीसहित भेट्न बोलाएर विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट नाबालिकालाई लिएर हिँडेकी थिइन्। लगत्तै उनले प्रहरी कहाँ छोरी अपहरित भएको भन्दै उजुरी दिएका थिए।

अनुसन्धानका क्रममा उनले राजविराजमा बालिकालाई हस्तान्तरण गरेका व्यक्तिले उनलाई भारत, बिहारको दरभंगामा लगेको पाइएको थियो।

बालिकाको अपहरणमा संलग्न भएकी अनुको दीपेन्द्रसँग पुरानै चिनजान रहेको प्रहरीको जनाएको छ।

घटनाका योजनाकार रविन्द्र साहले  बुढीगंगा १ मा श्रीराम टेडर्स संचालन गर्दै आएका छन्। उनलाई ट्रेडर्सबाटै प्रहरीले पक्राउ गरेको थियो।

उनीहरु दुवैजनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ। फौजदारी संहिता २०७४ अनुसार निज प्रतिवादीहरुलाई ७ देखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाखसम्म जरिमाना हुने व्यवस्था छ।

प्रहरीले उनीहरुको साथबाट ५ थान मोबाइल, बेबी फिडिङको खाली प्याकेट १ थान, मोटरसाइकल १ थानलगायत बरामद गरेको छ।

प्रकाशित मिति: : 2022-07-20 16:27:00

प्रतिकृया दिनुहोस्