गृहमन्त्री र गृहसचिवले शान्ति सुरक्षाको नाममा एक वर्षमा गरे एक करोड ३८ लाखभन्दा बढी रकम खर्च 

File photo
File photo

गृहमन्त्री र गृहसचिवले एक वर्षमा शान्ति सुरक्षाको नाममा १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ। 

उनीहरुले उक्त रकम आर्थिक वर्ष २०७७/७८ मा खर्च गरेको महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ। 

मन्त्रिपरिषद्को २०५० जेठ १३ गतेको निर्णयानुसार शान्ति सुरक्षा कायम राख्ने प्रयोजनको लागि एक पटकमा गृहमन्त्रीले ५० हजार रुपैयाँ र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था रहेको छ। 

सोही व्यवस्थाअनुसार आर्थिक वर्ष २०७७/७८ मा गृहमन्त्रीले ६२ लाख ५० हजार रुपैयाँ र गृहसचिवले ७५ लाख ५५ हजार रुपैयाँ खर्च गरेको महालेखाले जनाएको छ। अर्थमन्त्रीले भन्दा गृहसचिवले उक्त वर्ष शान्ति सुरक्षाको नामममा १३ लाख ५ हजार रुपैयाँ बढी खर्च गरेको देखिएको छ।

‘निर्णयमा एक पटकको खर्चको सीमा तोकिए तापनि साप्ताहिक, मासिक वा कुनै निश्चित अवधि किटान नगरेकोले स्पष्टतासहित अवधि किटान गरिनुपर्दछ,’ महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेकाे छ।

उक्त वर्ष गृहमन्त्रीमा रामबहादुर थापा ‘बादल’ र गृहसचिवमा महेश्वर न्यौपाने रहेका थिए। 

प्रकाशित मिति: : 2022-07-17 17:00:00

प्रतिकृया दिनुहोस्