राहत भागवण्डाकाे विषयमा एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट, १८ जना घाइते

राहत वितरणमा दलीय भागवण्डा गरिएपछि नवलपरासीमा दुई पक्षबीच झडप भएको छ। झडपका कारण १८ जना घाइते भएका छन्।

नवरपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ मा विपन्नहरुले पाउने राहतमा नवलपरासीका जनप्रतिनिधिहरुले दलीय आधारमा भागवण्डा गरेपछि विवाद उत्पन्न भएको हो।

दलीय भागवण्डामा कसरा नमिलेपछि उत्पन्न विवादका कारण एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो। जनप्रतिनिधिबीचको विवाद बाहिर आएपछि कांग्रेस र एमालेका कार्यकर्ताबीच कुटाकुट हुँदा १८ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कडेलका अनुसार घाइते १८ मध्ये ६ जनाको अहिले लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ।

घाइते हुनेमा कांग्रेसका ८ र एमालेका १० जना रहेको प्रहरीले जनाएको छ। दुई पक्षले इट्टा र ढुंगा प्रहार गर्दा उनीहरु घाइते भएका हुन्। टाउकोमा चोट लागेका उनीहरुको अवस्था भने सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।

कोरोनाबाट प्रभावित अतिविपन्नका लागि संघीय सरकारबाट गाउँपालिकाको वडा नंम्बर ५ मा आएको रकम वितरणका लागि आएको नाममा विवाद हुँदा भएको कुटाकुटमा उनीहरु घाइते भएका हुन्।

रकम वितरणमै विवाद हुँदा चार दिनदेखि बन्द भएको अर्को वडा (वडा नं२)को कार्यालय अहिलेसम्म खुल्न नसकेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए। कोटा लिएर रकम वितरण हुँदा वास्तविक विपन्नहरु रकम पाउनबाट बञ्चित हुने देखिएको छ।

प्रकाशित मिति: : 2022-07-16 11:39:00

प्रतिकृया दिनुहोस्