मलको अभाव खेपेका कृषकले पानी पनि पाएनन्, खेत बाँझै  

धानको बिउ राख्ने समयमा कृषकलाई रासायनिक मलको अभाव भयो। प्रचुर मात्रमा मल पाउन नसक्दा असार १५ अर्थात धान दिवसका दिनमा समेत कृषक मल पाउनका लागि हानथाप गर्दै सडकमा उत्रिए।

धानको बिउ राख्ने समयमा नै मल अभाव खेपेका दाङका कृषक अहिले पानीको अभाव खेप्न बाध्य भएका छन्। असार सकियो। राखेको बिउ महिना दिन बढी भयो। बाँझो मारेको खेत पुनः उस्तै भएको छ।

साउन लाग्दासमेत पानीको अभाव भएपछि यतिबेला दाङका कृषक चिन्तित भएका छन्। ‘धानको बिउ बुढो भयो। २०–२५ दिनमा बिउ रोपिसक्नु पर्ने हुन्छ। तर बिउ राखेको ३० दिन पुग्न लागिसक्यो,’ दाङ शान्तिनगर गाउँपालिका–१ का कृषक हरिबहादुर घर्तीले भने, ‘कुलोमा पानी छैन। खेत पुनः बाँझो भएको छ।’

खेतमा पानीको कुलो भएपनि खोलामा नै पानी नहुँदा धान रोप्न नसकिएको घर्तीले बताए। ‘खेतमा कुलो छ, तर पानी नपर्दा खोलामा पानी छैन।’ उनले भने। कुलोको पानीको भर परेका कृषकले समेत धान रोप्न सकेका छैनन् भने आकाशे पानीको भरमा धान रोप्ने कृषक अझ समस्यामा परेका छन्।

‘धान रोप्ने समय जान लागिसक्यो। पानी पर्दैन। परेपनि ठूलो पानी परेको छैन’, तुलसीपुर–७ की कृषक रत्ना कुमारी परियारले भनिन्, ‘यस्तै हो भने यस वर्ष धान रोप्ने हुँदैन होला।’

अझै ४५ प्रतिशत खेत बाँझै

दाङमा दाङ उपत्यका र देउखुरी उपत्यका गरी दुई वटा फाँट रहेका छन्। जसमध्ये दाङ उपत्यकाका कृषकले पानीको अभाव खेप्नु परेको छ।

देउखुरी उपत्यकामा लमही नगरपालिकासहित राप्ती, गढवा, राजपुर गाउँपालिका रहेका छन्। यी पालिकामा करिब–करिब धान रोपाइँ सकिन लागेको कषि ज्ञान केन्द्र दाङका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले बताए।

तर दाङ उपत्यकमा भने अझै ४५ प्रतिशत खेतमा धान रोपाइँ हुन नसकेको उनको भनाइ छ। रोप्नका लागि धानको बिउ तयार भएपनि पानीको अभावले यस वर्ष दाङमा कम क्षेत्रफलमा मात्र धान रोपाइँ भएको हो।

घोराही र तुलसीपुर उपहानगरपालिकासहित बबई, शान्तिनगर, दंगीशरण र बंगलाचुली गाउँपालिकाका खेतहरुमा अझै बाँझै रहेका छन्। असारको अन्तिमसम्म करिब दाङ उपत्यकामा ५५ प्रतिशत धान रोपाइँ सकिएको कृषि अर्थ विज्ञ लामिछानेले जानकारी दिए।

यो गत वर्षको भन्दा ३० प्रतिशत कमी हो। गत आर्थिक वर्ष ०७८/७९ मा असारसम्म दाङमा ८५ प्रतिशत रोपाइँ सकिएको थियो। यस वर्ष धान पानी धेरै पर्ने मौसम विज्ञहरुले बताएको भए पनि अझै खोलामा पानी रहेको छैन।

यसरी असार सकिँदासमेत कृषकहरुले धान रोप्न नपाउँदा उत्पादनमा पनि कमी आउने लामिछानेको भनाइ छ। उनले विन्देश्वरीलगायत पहिलेदेखि नै रोप्दै आएको धानको बिउ ढिलो रोपे पनि उत्पादनमा खासै फरक नपर्ने बताए।

लामिछानेका अनुसार आजभोलि हाइब्रेड बिउ रोप्नेहरुले भने बिउ राखेको ढिलोमा एक महिना भित्रमा रोपिसक्नु पर्ने हुन्छ। एक महिना बढीमा रोपेमा उत्पादनमा कमी आउने गर्छ।

यदि हाइब्रेड बिउ एक महिना बढी भएको भए रोप्ने समयमा दुई तीन वटा बिउ रोप्नु पर्ने उनी सुझाउँछन्। ‘एक महिना बढीको धानको बिउमा गाँज हाल्ने क्षमता घट्छ,’ उनले भने, ‘त्यसकारणले रोप्ने समयमा एक–एक वटा मात्र होइन। दुई–तीन वटा रोप्नु पर्छ।’

पानी माग्दै भगवानलाई बिन्ती पत्र!

शान्तिनगर–१ का कृषले धान रोप्न समयमा पानीको अभाव भएपनि पूजापाठसमेत गरेका छन्। सिद्ध देवताको पूजा गरेपछि पानी पर्छ भन्ने धार्मिक विश्वास गर्दै कृषकहरुले पूजापाठ गरेका हुन्।

पूजापाठ गरेर पनि पानी नपरेपछि शान्तिनगर–१ का कृषक दामु श्रेष्ठले ब्यङ्ग्य गर्दै भगवान ईन्द्रलाई बिन्ती पत्र लेखेका छन्। उनले विषय, झररर पानीको वर्षा झारी दिनेबारे भनेर व्यङ्ग्य गरेका छन्।

उनले लेखेका छन्, ‘उपरोक्त, सम्बन्धमा हालका मितिसम्म सधैँ वर्षा सुरु भैसकेको तर यस वर्ष असाढ बितिसक्दासम्म पनि पानी नपरेको कारण बर्खेबाली लगाउन नपाएको हुँदा अब के खाएर बाँच्ने भन्दै लुम्बिनी प्रदेश दाङ जिल्लामा कोलाहल मच्चेको हुँदा तुरुन्त पानी पारी हामी जस्ता आटे र भातेहरुलाई बचाई दिन हुन जोडदारका साथ यो बिन्ती पत्र चढाएको छु।’

प्रकाशित मिति: : 2022-07-16 10:57:00

प्रतिकृया दिनुहोस्