हेमन्त विवश
समयचक्र घुमिरहन्छ। मान्छेको आउने र जाने क्रम पनि चलि नै रहन्छ। सृष्टिको सुरुवातदेखिकै नियम हो यो। तर यस क्रममा केही मान्छे जो समाज परिवर्तनका लागि लागिपरेका हुन्छन्, तिनको मृत्युले एउटा क्षेत्र एवम् समाज अझ भनौँ देशलाई नै छोएको हुन्छ। दुःखित तुल्याएको हुन्छ।
बडो अर्थपूर्ण हुन्छ तिनको जिन्दगी, जो आफ्नो लागि कम र समाजका लागि बढी बाँचेका हुन्छन्। ती बढीजसो समाजका लागि बाँचेर अर्थपूर्ण र सार्थक जिन्दगी व्यतीत गरेकामध्येमा एउटा नाम हो- अकबरबहादुर सिंह पनि।
केही समयअघिको दार्चुला भ्रमणका क्रममा मार्मा क्षेत्रका बूढापाकाहरूको मुखारविन्दबाट सुनेको थिएँ, उनको नाम। उसो त २०४८ को चुनावको नतिजा आएपछि व्यापक रूपले सुनिएको थियो, उनको नाम। सुदूरपश्चिममा १९ सिटमध्ये १८ सिट काङ्ग्रेसले जित्दा १९औँ सिट जित्नेमा राप्रपाबाट अकबरबहादुर थिए।
मार्मालीहरुले वर्णन गरिरहन्थे, उनले गरेका सामाजिक कार्यहरूको। भेटका क्रममा दुर्गा आधारभूत विद्यालय, चिउरानी, मार्माका व्यवस्थापन समिति अध्यक्ष केशव धामीले बताएका थिए, ‘मार्मालीहरू जेजति पढ्न–लेख्न सक्ने भए, अझ भनौँ आँखा खोल्न सक्ने भए, त्यो सबै अकबरबहादुरकै योगदान हो।’
त्यस्तै मार्मा गाउँपालिकाका पूर्ववडा सचिव दुर्गादत्त पन्तका अनुसार मार्मा क्षेत्रका मान्छेको सुरक्षा गर्नुका साथै बाटाघाटा निर्माणदेखि विद्यालय स्थापना गर्नमा अकबरबहादुर सिंहको महत्वपूर्ण योगदान रहेको छ। यसै क्रममा उद्योग वाणिज्य तथा अपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु बताउँछन्, ‘पञ्चायतकै बेला पनि उहाँ निर्विरोध भइरहने, जितिरहने। आफ्ना स्थानीय जनताका लागि रातदिन खटेर धेरै नै काम गर्ने। व्यवस्था अर्को कुरा हो। एउटा व्यक्तिले कति सेवा गर्छ। जनतासित कति जोडिन्छ भन्ने कुरामा उहाँ एउटा उदाहरण नै हुनुहुन्थ्यो।’
समस्या आउनेबित्तिकै आफ्ना जनताको सुरक्षाका लागि मार्माबाट घोडाचढेर दार्चुला सदरमुकाम पुगिरहने, आफ्ना स्थानीय जनताको हितमा बोलिरहने, जनता माझ लोकप्रिय नेता थिए- अकबरबहादुर सिंह।
२०४८ सालमा संसदीय गतिविधिलाई अगाडि बढाउन अकबहादुरले गरेको सहयोगको स्मरण गर्दै पूर्वमन्त्री तारणी दत्त चटौत भन्छन्, ‘उनी प्रजातान्त्रिक सोच भएका माइल्ड मान्छे थिए। उनको परिवार नै डिटरमिनेसन भएको परिवार थियो। बोलेपछि फरक नपर्ने। कन्भेन्स भएपछि अडिक भएर बस्ने। स्वर्गीय सिंहको गरिमा, प्रतिपक्षमा बसेर सरकार पक्षलाई सहयोग गरेको त्यो बेलाको उनको भूमिका मैले मात्रै हैन, इतिहासले सम्झिनेछ। संसद्ले सम्झिनेछ।’
अकबरबहादुर गजबका नेता समाजसेवी थिए, जसले सँगसँगै डर र आश देखाउने पोलिसी अपनाएर समाज परिवर्तनको मार्ग तयार पारे। गणेश विनायक मावि सिप्टीमा अनिवार्य शिक्षा मात्र लागु गरेनन्, जो आफ्ना बच्चा विद्यालय पठाउँदैनन् तिनले ५ रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम बनाएर कार्यान्वयनसमेत गर्न थालेपछि सबैले बच्चा विद्यालय पठाउन थाले।
२०२३ सालमा आफ्नो १६ रोपनी जमिन दिएर दुर्गा आधारभूत विद्यालय निर्माण गर्न लगाए। मार्मा क्षेत्रमा एकै चोटी ७ वटा विद्यालय स्वीकृत गर्न लगाउने निकै प्रभावशाली व्यक्तिका रुपमा चिनिने अकबरबहादुर त्यसताका विकासवादी नेताका साथसाथै जनताका पिरमर्का बुझ्ने असल अभिभावक नै मानिन्थे।
बिहानीका किरणसँगै मुस्कुराउन सिकेका गाउँबस्तीमा अझै छँदैछन्, सिंहले बनाइदिएका बाटाघाटाहरू। तिनै बाटालाई चौडा बनाएपछि हिजोआज गुडिरहेका छन् गाडीहरू। तर हुन सकेको छैन तिनको स्तरोन्नती। यसरी जनताका हितमा सामाजिक कार्य गरेर नै सिंह त्यो क्षेत्रको अब्बल नेता र समाजसेवीमा दर्ज भएका थिए।
उसो त पछिल्लो समयमा राजनीतिमा प्रवेश गर्नेबित्तिकै सामाजिक मान्छे बनेको घोषणा गर्नेहरूको पनि कमी छैन यो मुलुकमा। कुनै संघसंस्थामा काम गर्नेबित्तिकै सामाजिक अगुवाको पगरी पाउनेहरू पनि उत्तिकै छन्। तर प्रश्न उब्जिन्छ, तिनले जनताको सेवा कति गरे र आफ्नो भुँडी कति भरे भन्नेमा।
कुनै पद, पार्टी वा संघसंस्थाको खोल ओढेर आफू र आफ्ना अरौटेभरौटे, झोलेहरूको उद्धारमा जुट्ने उद्योगमा तल्लीन रहनेहरू कहिल्यै पनि समाजको अगुवा बन्न सक्दैनन्। अगुवा बन्न धेरै कुरा चाहिन्छ। कहिलेकाहीँ काकताली परेर चुनाव जित्नु, मन्त्री बन्नु र पदविहीन भएर पनि जनताको मनमा बस्न सफल हुनु नितान्त भिन्न पाटा हुन्। त्यस्तै भिन्न पाटो हो, शक्ति र सम्पत्तिको दुरुपयोग गरेर रबैया देखाउनु। कुनै व्यक्ति माथिल्लो पोस्टमा नपुगेरै पनि निकै माथिल्लो स्तरका देखिन्छन्। जनताको नजरमा, समाजको दृष्टिमा सम्माननीय भइदिन्छन्। यो सबै कर्मले गर्दा नै हो।
त्यस्ता व्यक्तिलाई कतै माटोको सुभाषले तान्छ। अनि तान्छ, समाजको अविकसित पाटो, अशिक्षा र गरिबीले। अनि मोडिन्छन्, तिनका पाइला अर्थपूर्ण कार्यका लागि। त्यो अर्थपूर्ण कार्य भन्नु नै समाज रूपान्तरणका निम्ति लागिपर्नु हो। जुन कार्यमा लागिपरे, अकबरबहादुर सिंह पनि। उनका कतिपय कार्यबाट प्रभावित भएका मनहरूले बिर्सिन सकेनन् ती दिनहरू। र त, देश प्रजातन्त्रमय भएका बेला पनि राप्रपाबाट उठेका सिंहलाई जिताइ सांसद बनाएर सिंहदरबार पठाइदिए, मार्मावासीले। सुनाइमा आउँछ- समाजमा अकबरबहादुर सिंहको भूमिका सदैव परिवर्तनकारीको, समाज सुधारकको रूपमा रह्यो। भ्रष्टाचारको कट्टर विरोधी, स्वाभिमानी र परिवर्तनकारी भएकै कारण धेरै मान्छे उनीतिर तानिए। जो स्वाभिमानका प्रतीक थिए भने भ्रष्टाचारका कट्टर विरोधी।
त्यसैले भन्न सकिन्छ, अकबरबहादुर सिंह अन्याय र अत्याचारका विरुद्ध औँला ठड्याउने, समाजसेवी मन भएका कर्मठ, स्वाभिमानी र ऊर्जावान जुँगाधारी एक सज्जन व्यक्तिको नाम हो। जुन कुरा त्यो समयमा मार्मा क्षेत्रमा खुलेका कतिपय विद्यालयहरू, बाटोघाटो, पुलपुलेसा र त्यतिखेर समाजमा दादागिरी देखाएर जनतालाई दुःख दिइरहेको वनपालेलाई सजायस्वरूप ढुङ्गा बोकाउन लगाएको कार्यले पनि प्रमाणित गर्छन्।
आफ्ना बालबालिका पढाउनका लगि घरमा शिक्षक राखेतापनि वरपरका अन्य समुदायका केटाकेटीहरूलाई समेत पढ्ने अवसर दिलाउने सिंहले त्यसको एक/दुई वर्षमै आफैँले १६ रोपनी जग्गा दान दिएर विद्यालय भवन बनाउन स्थानीयलाई हौस्याउनु प्रशंसनीय कार्य थियो। श्रमदानबाटै दुर्गा आधारभूत विद्यालयको भवन तयार भयो। उक्त विद्यालयलगायत सात वटा अन्य विद्यालयको समेत स्वीकृति लगेको कुरा सुनाउँछन्, स्थानीय बूढापाकाहरू। यसबाट सजिलै थाहा पाउन सकिन्छ, सिंह कति शिक्षाप्रेमी थिए भन्ने कुरा।
कहिल्यै चाकडी, चाप्लुसी नगर्ने, हक्की स्वभावका सिंहले सत्य बोल्न नहिचकिचाएकै कारण राप्रपाले दोस्रो पल्ट टिकट दिएन। २०२७ सालमा आफ्नो जन्मथलो दार्चुला, मार्मा छोडेर हेटौँडा बसाइँ सारेका सिंह देश प्रजातन्त्रमय बनेको बेला अर्थात् २०४८ को चुनावमा सुदूरपश्चिमबाट मात्र नभई देशभरमै राप्रपाको एक्लो सांसद बन्न सफल भए। यो चानचुने कुरा पक्कै थिएन। इतिहासमै नाम राख्ने काम थियो।
विगतमा समाज सुधारक बनेर विकास निर्माणका काम गरी मार्माली जनतालाई गुन लगाएको परिणाम थियो त्यो चुनाव। राप्रपाको सांसद भएर पनि सदनमा सत्तापक्षलाई गुन लगाएका कुराहरू सुनिन्छन्। एमालेले संसद् बहिष्कार गरेर ४९ दिनसम्म सदन चल्न नसकेपछि उनले सजिलैसँग प्रतिपक्षीको भूमिका निर्वाह गरेका थिए।
उनले थुप्रै नीतिनियम र विधेयक पास गर्न खेलेको भूमिकाको अहिले पनि मुक्तकण्ठले प्रशंसा गरिरहेका हुन्छन्, काङ्ग्रेसका कतिपय नेताहरू। प्रतिपक्ष भएर पनि सत्तापक्षजस्तै बनेर सत्तापक्षलाई विभिन्न कठिनाइमा साथ, सहयोग दिएका सिंह आफैँमा एउटा अपवाद बने। एक उदाहरण बने। २०५७ सालमा काङ्ग्रेसमा प्रवेश गरेका सिंह प्रायः सबैका प्रिय बने।
अकबरबहादुर सिंहले यो धर्ती छोडेको पनि वर्ष दिन पुगिसकेछ। ती खोलानाला, पहाड, पर्वत आदिले अझै सम्झिरहेका होलान् जस्तो लाग्छ। यो धर्तीमा कति मान्छे आए अनि कति सदाका लागि बिदा भएर गए, कुनै गन्ती छैन र हुँदैन पनि। गन्ती तिनको हुन्छ, जसले प्रशंसनीय काम गरेर गए।
ढिलोचाँडो मात्र न हो, एक दिन छोड्नै पर्छ यो धर्ती। एक दिन गुमाउनु नै पर्छ आफ्ना–बिराना सबैलाई।
मृत्यु एक शाश्वत सत्य हो। कैयौँपल्ट हामीले हेर्दाहेर्दै गए कतिपय मान्छेहरू क्षितिजपारीको यात्रामा। कोही जिन्दगीको घाम अस्ताउन थाल्दा गए, कोही घाम छँदै गए अनि कोही त दोफर नहुँदै पनि गए कहिल्यै नफर्किने यात्रामा। जिन्दगीको दोफर नहुँदै जानेहरूको बिदाइले नराम्ररी हल्लाउँछ, बाँच्नेका जिन्दगीका पाटाहरू।
घरमा भएका स-साना केटाकेटीहरू हुन् वा अन्य सदस्यहरू सबैको मनमा आउन थाल्छ एक प्रकारको निर्धोपन। जिन्दगीको घाम नअस्ताइकन छोडेर जाने माइलो छोराको यादले निर्धो नतुल्याएको होइन उनलाई। त्यो पीडाले दुखाउनसम्म दुखायो होला। तथापि सुन्नमा आउँछ, उनले आफूलाई कमजोर रूपमा कहिल्यै प्रस्तुत गरेनन्। दैवको लीला ठानेर चित्त बुझाए। जन्मथलो छोड्दाको दुःख त छँदै थियो, त्यति बेलाको हेटौँडालाई कर्मभूमि बनाउन गरिएको संघर्षको हिसाब नै छैन। जीवनमा आएका यी सारा उतारचढावहरूसँग सामना गर्दै एक कुशल अभिभावक, समाजसेवी, राजनीतिकर्मीका रूपमा आफूलाई उभ्याउन सक्षम बने।
मृत्युले पठाउँदैन कसैसँग रैबार, म आउँदै छु भनेर। न त आउँछ ऊ कुनै तामझामका साथ। साँझको पाहुनाजस्तो, मध्यरातमा चोरी गर्न आउने कुनै चोरजस्तो, घाटो हेरिरहेको सिंहजस्तो आइपुग्छ एकाएक र लगेर जान्छ। तर मान्छेलाई हरेक कुराको कारण चाहिन्छ। सदियौँदेखि कारणका पछाडि दौडिन अभ्यस्त मान्छे अरूलाई सोध्ने गर्छ, के भएर गएछन्? उत्तर जेसुकै आए पनि लाग्छ, त्यो त एउटा बहाना मात्रै न हो। केवल मन बुझाउने उपाय न हो। यो धर्तीमा जति दिन भोग गर्न लेखिएको थियो त्यो पूरा गरेर गए अकबरबहादुर सिंह पनि। सायद बाँकी नै थिए होलान् त्यो समाज, त्यो जन्मस्थलको विकासका निम्ति तय गरेका योजनाका केही पाटाहरू र आफ्नो व्यक्तिगत जीवनमा गर्न भनेर छुट्ट्याइएका तमाम कामहरू, जुन अधुरै रहे। ती सबै छोडेर बिदा हुनुपर्यो धर्तीबाट।
मृत्यु वास्तविकता हो। एक दिन त सबैले जानु नै छ। ढिलोचाँडो मात्र न हो। आउन त सबै खाली हात आए र खाली हात नै जाने हुन्। प्रश्न हो, लोकले कसको मृत्युमा कति अफसोस प्रकट गर्यो भन्ने मात्र। त्यसैले बेलाबखत गुनगुनाउन मन लाग्छ महमूद रामपुरीका यी शब्दहरू :
मौत उसकी है करे जिसका जमाना अफसोस
यूँ तो दनिया मे सभी आये है मरने के लिए
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया