दाङको घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा सातौ पटक देवीबहादुर डिसी निर्वाचित भएका छन्। २०६० सालदेखि घोराही खानेपानीको नेतृत्व डिसिसँगै रहदै आएको छ। यो पटक उनीलाई कांग्रेस र माअोवादीको समर्थन रहेको थियो।
संस्था २०५३ सालमा स्थापना भएको हो। संस्थाको संस्थापक अध्यक्ष यज्ञबहादुर बुढाथोकी थिए। नव निर्वाचित डिसी २०५३ सालमा सदस्य पदमा रही काम गरेका थिए। २०५७ सालमा मधुसुदन पौडेल अध्यक्ष भएका थिए भने डिसी दोस्रो कार्यकालमा पनि सदस्य रही काम गरेका थिए।
२०६० सालदेखि डिसीले निरन्तर रूपमा संस्थाको नेतृत्व गर्दै आएका छन। डिसी आम उपभोक्ताका माझ ‘पानी बा’ का नामले परिचित छन्। संस्थामा नयाँ नेतृत्वका लागि मतदान भएको थियो। कुल ७ हजार १ सय २३ मतदाता रहेकोमा ३ हजार ५ सय ६५ मत खसेको थियो।
डिसीले गठबन्धन प्यानलको नेतृत्व गरेका थिए। डिसीले २२९४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका नारायण भुसालले १०८५ मत प्राप्त गरे।