बुढीगंगाकाे मेयर र उपमेयरसहित सात वडामा एमाले विजयी

बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना सकिएको छ। प्राप्त मतपरिणमअनुसार बुढीगंगाको मेयर र उप मेयरसहित सात वडाकाे अध्यक्षामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

मेयरमा एमालेका रामबहादुर बानियाँ र नगर उपमेयरमा मायाकुमारी खड्का (कुँवर) विजयी भएका छन्। मेयरमा विजयी बानियाँले चार हजार सात सय ७७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्धी रङ्गबहादुर खाती तीन हजार सात सय ७४ मत ल्याएर पराजित भएका छन्।

यसैगरी, उपमेयरमा विजयी एमाले उम्मेदवार कुँवरले चार हजार सात सय २७ मत ल्याउदा प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी रिता शाही ( शाह) तीन हजार सात सय ५५ मत ल्याएर पराजित भएकी छन्।

१० वडा रहेको बुढीगंगा नगरपालिकामा सात वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसले तीन वडा जितेको छ।  वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवार  विजयी हुँदा वडा नम्बर ४, ७ र ८ मा  कांग्रेस विजयी भएको छ।

बुढीगंगा नगरपालिका-१ मा नेकपा एमालेका उम्मेदवार रणबहादुर थापा, २ मा पदमबहादुर भण्डारी, ३ मा खडकबहादुर अधिकारी, ५ मा चक्रबहादुर थापा, ६ मा हेमराज जैशी,  ९ मा मीनबहादुर सिंह र  १० दलबहादुर साउद विजयी भएका छन्।

नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर–४ मा मीनबहादुर शाह, ७ मा भुवन सिहं केसी र ८ मा रमेशबहादुर रावल विजयी भएका छन्। ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बुथ कब्जा भएको भन्दै निर्वाचन आयोगले बुढीगंगामा दोस्राे पटक निर्वाचन गरेको हो।

दोस्रो पटक भएको निर्वाचनमा नाै हजार एक सय २८ मत ६६ दशमलव ८३ प्रतिशत मत खेसेको थियो। बुढीगंगामा नगरपालिकामा १३ हजार ६ सय ५९ मतदाता रहेका छन्।

३० वैशाखमा सम्पन्न चुनावमा भने ७५ दशमलव ५८ प्रतिशत मत खसेको थियो। ३० वैशाखमा भएको चुनावमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो। वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको निर्वाचन आयोगको ठम्याइ छ।

निर्वाचन आयोगका अनुसार वडा नमबर २, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने वडा ४ र ७ मा कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएर आफू अनुकूल मतदान गरेका थिए।

प्रकाशित मिति: : 2022-07-10 13:41:00

प्रतिकृया दिनुहोस्