पोखरालाई पर्यटकीय राजधानी बनाउन पहल गर्छु: पर्यटनमन्त्री श्रेष्ठ

file photo
file photo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने विश्वास व्यक्त गरेका छन्।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा पोखरामा निर्मित पर्यटकीय बसपार्क पोखरा महानगरपालिकालाई हस्तान्तरण गर्दै उनले पोखरालाई पर्यटकीय राजधानी बनाउन पहल गर्ने बताएका हुन्।

यसअघि नै पोखरा महानगरपालिकाले पोखरालाई पर्यटकीय राजधानी बनाउने घोषणा गरेको थियो। 

मन्त्री श्रेष्ठले व्यवस्थित बसपार्क निर्माणले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताए। 

उनले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे।

मन्त्री श्रेष्ठले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पर्यटकीय बसपार्क हस्तान्तरण गरेका हुन्। 

पर्यटकीय सहर पोखरास्थित राष्ट्र बैंक चोकनजिक पर्यटन विभागले रु आठ करोड ४५ लाख लागतमा पर्यटकीय बसपार्क निर्माण गरेको हो।

सात हजार ९०० वर्गमिटरमा निर्मित पर्यटकीय बसपार्कमा ४० वटा बस, १० वटा माइक्रोबस र २० वटा ट्याक्सी पार्किङ गर्न सकिने जनाइएको छ।
 

प्रकाशित मिति: : 2022-07-06 20:27:00

प्रतिकृया दिनुहोस्