नागरिकको विवरण सङ्कलन कार्य प्रभावकारी बनाऔँः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले कानुनी अधिकार स्थापित गर्न प्रत्येक नागरिकको विवरण सङ्कलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा रुपन्देहीको तिलोत्तमामा आज आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रममा उहाँले व्यक्तिगत घटना सङ्कलन, भण्डारण र वितरणको काम प्रभावकारी ढङ्गले अघि बढाउन निर्देशन दिए।

गृहमन्त्री खाँणले नागरिकको सामाजिक सुरक्षा पूरा गर्ने दायित्व सरकारको भएको र विवरण सही नहुँदा सामाजिक सुरक्षाबाट नागरिक बञ्चित हुनसक्ने भएकाले सचेत हुन सम्बद्ध पक्षलाई आग्रह गरे।

उनले भने, 'ज्येष्ठ नागरिक, दलित, अपाङ्ग, लोपोन्मुख, एकल महिला र दलित तथा पिछडिएका क्षेत्रका बालबालिकालगायत उच्च जोखिममा रहनसक्ने समूहलाई लक्ष गरी सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ। यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहबाटै  सही नागरिकको विवरण सङ्कलनमा ध्यान दिनुपर्छ।'

विभागले व्यक्तिगत घटना दर्ताका साथै  सामाजिक सुरक्षाअन्तर्गत ‘नगद प्रवाह’ र व्यक्तिको डिजिटल पहिचान स्थापना गर्ने बहुउपयोगी ‘राष्ट्रिय परिचयपत्र’ वितरण कार्यको जिम्मेवारी सम्हाल्दै आएको छ।

प्रकाशित मिति: : 2022-07-02 15:39:00

प्रतिकृया दिनुहोस्