बिहानैदेखि दर्केको छ, झरी। रोकिने छाँटकाँटै देखाएको छैन। बरु, वल्लोपल्लो डाँडा पनि तुँवालोले ढाकिए। पानी अझैं बढ्ने संकेत गर्यो।
साराको मन सुसाएको छ। यो झरीको स्वरभन्दा पनि बढी।
उनलाई एउटै पीर छ। पानीले दाउरा रुझे। रुझेका दाउरा बल्दैनन्। धुँवाको मुस्लो मडारिएर आकाससम्मै पुग्यो। तैं पनि आगो बलेन। ‘यत्ति आगो बले पनि हुन्थ्यो नि,’ ख्वाङ ख्वाङ खोक्दै उनले भनिन्।
बिहानदेखि एक घोगो मकै पनि उनले बेच्न पाएकी छैनन्। आएका एक, दुई ग्राहक पनि आगो नबलेको देखेर अघि बढे। हामी आगो बल्छ र पोलेको मकै खाउला भनेर पर्खी बसेका छौं।
उनलाई गाह्रो एकैछिन भए पनि कम गरौं भनेर आगो बाल्न सघायौं। निकैबेरको मेहेनतपछि आगो बल्यो।
०००
कुरा गर्दै जाँदा थाहा भयो, सारा क्षेत्री रहेछ, उनको नाम।
भोजपुरदेखि पोखरासम्म उनको दुखको कथाले सबैको हृदयलाई छुन्छ। अनि आँखाबाट आँशु बनि तप्किन्छ।
उनका कोही आफ्ना छैनन्। भएका आफ्ना आफ्ना रहेनन्। कसैको सहारा नपाएकी सारा प्राण धान्नकै लागि यो दुखजिलो गर्छिन्।
तपाईंले पनि याद गरेको हुनुपर्छ। सीताराम प्लटीङ भएर विरौटाचोक निस्किनेबाटोमा एउटा सानो झुप्रो छ। कपाल सेतै फुलेकी एउटी बुढी आमा मकै पोल्दै गरेकी भेटिन्छिन्।
हो, यो उनै साराको कथा हो।
उमेरले नब्बे लागिन् क्यार। उनलाई त्यति हेक्का रहेनछ।
घर नगएको कैयौं वर्ष भइसकेछ। हुन त घर भन्नु पनि के रहेछ र । धुरी खाँबो र गाह्रो भत्केर मात्र घर नभत्किँदो रहेछ। घर त आफ्नाहरु आफ्ना नभएपछि पनि भत्किन्छ। विश्वास गुमेपछि भत्किन्छ। सहारा नपाएपछि भत्किन्छ।
भोजपुरको सम्झना बेलाबेला आउँछ। आमा सानैमा बितिन्। बा रुखबाट लडेर बितेका रे!
टुहुरी सारा के गरुन् ? खानकै धौं–धौं भएपछि धनकुटातिरका एक जना महिलाले छोरी बनाएर पाल्छु, भनिछन्। उनैको पछि लागेर धरान, सुनसरी हुँदै कताकता लैजान्छिन्। उनकै पछि लागेर हिँडिन्।
उनैले घरजम पनि बसाइ दिइन्। सिन्धुपाल्चोक घर भएका एक जना केटासँग बिहे गराइ दिइन्।
साराका सहारा थपिएका थिए। खुसी थिइन्। बुढाबुढी मेहेनतले जेनतेन घर चलाएका थिए। दुई छोरा र दुई छोरीहरु जन्मिए। साराको रुग्ण जीवनमा खुसी थपिने क्रम जारी नै थियो।
सबथोक राम्रै चल्दै थियो।
अचानक श्रीमान थला परे।
के भएको हो ? केही पत्तो लाग्न सकेन्।
श्रीमान बिरामी भएपछि उनको चैन नै खोसियो। अलिअलि जोडेको सम्पति पनि उनकै उपचारमा सकियो। चार वर्षसम्म त उनी थला परे। भएका दुई चार पैसा पनि सकिए।
‘कमाउन सकुञ्जेल त आइरहन्थे, अब कमाउन सक्दिनँ किन आउँथे र,’ उनी भावुक सुनिइन्,‘नाति नातिना, पनाति पनातिनाहरु पनि जन्मिसकेका छन्। घरै ढकमक्क हुँदो हो उता। तर, उनीहरुले कहिल्यै मलाई सभ्झेनन्/बोलाएनन्। म बुढीले कति पो खान्थे र ? दोष उनीहरुको हैन, मेरै हो। मै अभागी रहेछु।’ अहिले त सन्तान हुनु नहुनु एउटै जस्तो लाग्छ रे, सारालाई। सन्तान हुनुभन्दा नहुनु बेस ठान्छिन्। सन्तान नभई दिएको भए बरु यति धेरै पीर हुने थिएन जस्तो लाग्छ सारालाई।
०००
५ वर्षदेखि शरीरमा पत्थरी पालेर बाँचेकी छिन्, सारा।
शरीरको देब्रे पाखो बेस्सरी दुखेपछि डाक्टर कहाँ जचाँउन जाँदा पत्थरी भनेका थिए। अप्रेसन गर्न पैसा छैन। बेलाबेला बेस्सरी गाह्रो हुन्छ। तै पनि खपेर बस्नु शिवाय अरु विकल्प छैन।
०००
उनका खसम खसेका पनि १६ वर्ष लागि सकेछ। अब आउने जेठमा।
शरीर दिनदिनै कमजोर बन्दै छ। कोही मनकारी आए दुई, चार पैसा सहयोग गर्छन्। नत्र त मकै बेचेर के साध्य लाग्थ्यो।
उनका खसम उहिल्यै बितिसके। भएका एउटै सहारा थिए। उनी पनि गइहाले। उनको जीवनमा दु:ख विराट हिस्सा हो। सुखको क्षण धमिलो गरी याद आउँछ। के–के सम्म गरिनन् उनले, होटलमा साससब्जी केलाउनेदेखि सरसफाई गर्ने कामदेखि डोकाभरि साग बोकेर सहर पनि चहारिन्।
दुखले हुर्काएका छोराछोरीले दुखै बुझिदिएनन्। अहिले आमा सम्झेर पनि आउँदैनन्।
०००
सय, पचास रुपैँयाको मकै पनि बिक्दैन कहिले त।
‘दिनमा एक छाक खाएर भएपनि बाच्न सकिन्छ तर एकदिन औषधि छुटाएमा सासै जाला जस्तो हुन्छ। घरबेटीले डेराबाट निकालिदिए, म बुढी मान्छे अब कता जाऊ ?’ उनी भन्छिन्।
छोराछोरी भेट्न नआएको पनि ५ वर्ष बिति सकेछ। कहाँ के कसो गर्दै छन् कुन्नि ? उनलाई थाहै छैन। अहिले उनको छाप्रो अघि सडक बिस्तार हुँदै छ। उनको छाप्रो पनि केही दिनमै भत्किन्छ। त्यसपछि कहाँ जाने के गर्ने ? केही पत्तो छैन।
भएको यही एउटै मेलो पनि खोसिने भो ! उनी एक्लै बर्बराउछिन्।
बिहानदेखि कत्ति पनि व्यापार भएको छैन। कोही आइ दिए हुन्थ्यो।
बाटोतिर नजर फ्याँक्छिन्।
कति रुपैयाँ हो ?
कोही कोही आएर सोध्छन्।
४० रुपैयाँ।
सुन्नेबित्तिकै जिब्रो टोक्छन्।
‘महंगा महंगा होटलमा हजारौंको बिल तिर्न, टिप्स दिन यिनीहरुलाई केही हुन्न,’ सारा भन्छिन्,‘यहाँ ४० रुपैँयामा मकै बेच्दा उनीहरु जिब्रो टोक्छन्।’
दमको रोगी छिन्, सारा। नियमित औषधि खानुपर्छ। त्यसमाथि बिहानदेखि धुँवाको मुश्लोमा बस्नुपर्छ। उनलाई मकै किन्नै २५ रुपैँया लाग्छ। दाउरा पनि किन्नै पर्यो। कहिलेकाहीँ सय रुपैयाँको पनि व्यापार हुन्न।
भोको पेटले औषधि किन्ने कि छाँक टार्न जोहो गर्ने ?
कहिलेकाहीँ त बिखलबन्दमा पर्छिन्, सारा।