लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्।
उनले बुधबार मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष एवम् सांसद सुदर्शन बरालले जानकारी दिए।
‘उहाँले आज मात्रै राजीनामा दिनुभएको हो। राजीनामाको पत्र मुख्यमन्त्री कार्यालय पुगिसकेको छ,’ बरालले भने।
केही समयअघि प्रेमी भनिएका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटपिट गरेको भन्दै विवादमा तानिएकी थिइन्। उनीविरुद्ध उजुरीसमेत परेको छ।
अभद्र व्यवहारको आरोपमा उजुरी परेपछि छानबिन गर्न सरकारले समितिसमेत गठन गरेको छ। उक्त समितिलाई छानबिनमा सघाउन भन्दै उनले राजीनामा दिएकाे वलीले बताएकी छन्।