गगनको दाबीः कांग्रेस-एमाले सरकारमा अबको तीन वर्ष एउटा पनि काण्ड आउँदैन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको गति बढाउन आवश्यक रहेको बताएका छन्।

पर्वतको हुवासमा आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेस-एमाले गठबन्धन सरकारले अबको तीन वर्षमा एउटा पनि भ्रष्टाचारको काण्ड नआउने गरी काम गर्ने दाबी गरे।

उनले भने, ‘अबको तीन वर्ष कांग्रेस सम्मिलित भएको सरकारले एउटा पनि काण्डको बारेमा सुन्न नपर्ने अवस्था हामीले बनाउनुपर्नेछ। अहिले थुप्रै काण्डहरू सुन्ने गरेका छौं। वाइडबडीदेखि गिरीबन्धुसम्म, क्यान्टोनमेन्टदेखि ललिता निवाससम्म कहिले कुन नेता कहिले कुन नेताले चर्चा गरिरहेका हुन्छ्न्। यो तीन वर्षमा एउटा पनि काण्ड जनताले सुन्न नपर्ने बनाउनुपर्छ।’

उनले वर्तमान सत्ता गठबन्धनले अबको तीन वर्षमा जुनसुकै पार्टीको भएपनि दोषीले सजाय दोषीले सजाय पाउँछ भन्ने स्थापित गर्ने पनि दाबी गरे।

‘कानूनको शासनभन्दा ठूलो कोही छैन। कोही एउटा व्यक्ति आएर सहकारी ठग्छ, कोहीले मान्छेलाई नक्कली बनाएर बाहिर लान्छ, कसैले सार्वजनिक सम्पत्तिको अपचलन गर्छ,’ उनले भने, ‘त्यो मान्छे कांग्रेसको शक्तिशाली पदमा बसेको होस् कि एमालेको। नयाँ होस् कि पुरानो गल्ती गर्ने मान्छेले दण्ड पाउँछ।’

उनले भ्रष्टाचारविरुद्धको अभियान चलाउँदा कांग्रेस पार्टीकै पनि कयौं मान्छे पर्न सक्ने बताए।

प्रकाशित मिति: : 2025-02-04 19:26:00

प्रतिकृया दिनुहोस्