भूमिको विषयलाई लिए दुई समुदायबीच झडप हुँदा ३० जनाको मृत्यु

Photo : MARCO LONGARI/AFP or licensors
Photo : MARCO LONGARI/AFP or licensors

क्यामरुनको दक्षिण पश्चिम क्षेत्रमा भूमिको विषयलाई लिएर दुई समुदायबीच भएको झडपमा महिला र बालबालिकासहित कम्तीमा ३० जनाको मृत्यु भएको छ।

अक्वाया क्षेत्रमा ओलिती र मेसागा इकोल समूहहरूबीचको झगडा हिंसात्मक झडपमा रुपान्तरण भएको क्यामरुनको प्रेस्बिटेरियन चर्चका प्रवक्ताले बताए। चर्चले सार्वजनिक गरेको तस्बीरमा शव यत्रतत्र फैलिएको अवस्थामा देख्न सकिन्छ।

अक्वाया जिल्लाका सञ्चार अधिकारी ओकुमो आङ्वाकाअनुसार शनिबार बाकिनजाव गाउँमा अन्त्येष्टि समारोहमा विवादपछि सुरु भएको हिंसा आइतबार पनि जारी रहेको थियो।

आक्रमणकारीले मानिसलाई जिउँदै जलाउनेदेखि शिर छेदन गरेको उनले जानकारी दिए। आक्रमणकारीले पुनः दुई दिनपछि फर्किएर नरसंहार मच्चाउने चेतावनी दिएका सो क्षेत्रको प्रतिनिधित्व गर्ने एक सांसदले बताएका छन्।  दुर्गम क्षेत्रमा भएको सो घटनाको अनुसन्धान गर्न केही समय लाग्ने प्राप्त विवरणहरूमा जनाइएको छ।

एजेन्सी

प्रकाशित मिति: : 2022-06-28 13:34:00

प्रतिकृया दिनुहोस्